नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
जुम्ला – जुम्लाको तिला गाउँपालिका–४, कुडारी गाउँका ५२ वर्षीय राजबहादुर सिंह भारतको उत्तराखण्डको तेहरी जिल्लाको चम्बा भन्ने ठाउँमा ८ महिना अघिदेखि मजदुरी गर्दै आउनु भएको थियो ।
चम्बा बजारको दिमिल गल्लीमा ज्यालादारीमा काम गर्दै आएका सिंह घर फर्केने क्रममा बाटैमा लुटिनु भएको छ ।
जेठ १९ गते दिउँसो ३ बजे तेहरी जिल्लाको ऋषिकेश बसपार्कमा नेपाल आउने क्रममा अपरिचत दुई जना नेपालीसँग उहाँको भेट भयो । परदेशमा नेपाली साथी भेटिएपछि उहाँलाई समय काट्ने अवसर त मिल्यो । तीनै साथीले बेलुकी ७ बजेतिर चुरोट र कोक खुवाए । उनीहरुले कोक र चुरोट मात्रै खुवाएनन् नेपाली साथीलाई रसायन सुँघाएर बेहोसै बनाए । अनि ८ महिनासम्म हाडछाला घोटेर कमाएको झण्डै एक लाख ५० हजार रुपैयाँ लुटेर राजबहादुरलाई खोलामा फालिदिए ।
राजबहादुरका भाइ शुरबहादुर सिंहले घटनाका बारेमा जानकारी दिँदै भन्नुहुन्छ, ‘विषादी सुँघाएर दाइलाई लुटेका रहेछन् । अनि मर्यो भनेर खोलामा फालिदिएका रहेछन् ।’
बसपार्कमा चिनजान भएका नेपाली साथीले नै खोलामा मर्यो भनेर फालेको ५२ घण्टापछि राजबहादुर होसमा आउनुभयो । अनि बामे सर्दै बसपार्कसम्म पुग्नुभयो ।
जेठ २१ गते होसमा आएपछि बिरामी अवस्थाका सिंहलाई नेपाली चालकले चिया खुवाएर उहाँ काम गर्ने स्थानमा उद्धार गरी पुराएका थिए । यसरी दाजु राजबहादुरले पुनर्जीवन पाउनुभएको टेलिफोनमा भावुक हुदै भाइ शुरबहादुर सिंहले उज्यालोलाई जानकारी दिनुभयो ।
जेठ १९ गते घर फर्किने भन्दै तेहरी जिल्लाको ऋषिकेशमा गाडी कुरिरहेका अवस्थामा नास्ता खाने भन्दै गएका राजबहादुर सिंहसँगैका साथी नेपाल पुगिसकेपछि उहाँ हराएको थाहा भएको थियो ।
त्यसपछि दाजु हराएको खबर थाहा पाएर उहाँका ३ भाइ खोजीमा तेहरी पुगे । अहिले राजबहादुर र ३ भाइको भेट भएको छ । उहाँको अनुहारमा निलो घाउ रहेको छ । उहाँको कान च्यातिएको र शरीरभरि निलडाम रहेको अर्का भाइ जितबहादुर सिंहले बताउनुभयो । अहिले त्यहाँको प्रहरीमा रिर्पोट गरिएको छ । स्थानीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जितबहादुर सिंहले जानकारी दिनुभयो ।
‘खाना खाने क्रममा दुई जना नेपाली भेटिएका थिए । चुरोट र कोकाकोलामा पनि विष हालेका रहेछन्, मलाई थाहा नै भएन’, पीडित राजबहादुर सिंहले रुँदै टेलिफोनमा भन्नुभयो, ‘जेठ १९ गते बेलुकी ७ बजे मलाई खोलामा फालेका रहेछन् । जेठ २१ गते होसमा आएँ ।’
कालिकोटको शुभ गाउँपालिकाका एक जना व्यक्ति पनि ऋषिकेश क्षेत्रबाटै बेपत्ता भएका थिए । ऋषिकेश क्षेत्रमा धेरै नेपाली काम गर्छन् । तर दुःखसुखमा साथ दिने नेपाली धेरै भेटिए पनि केही भने दुःख दिने खालका रहेका छन् । परदेशमा कमाउन गएका नेपालीलाई नेपालीले नै ठग्ने घटना बढ्दै गएको छ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।