नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
पाल्पा – पाल्पामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको छ । दश पालिका रहेको पाल्पामा सबैभन्दा बढी रैनादेवी छहरा गाउँपालिकाका ३२० महिला तथा पुरुषले रोजगार पाएका छन् ।
तानसेन नगरपालिका र रामपुर नगरपालिकासँगै अन्य आठ गाउँपालिकामा रोजगारी सिर्जना गरिएको छ । विदेश गएर फर्केका, एकल महिला तथा अन्य नागरिकले पनि रोजगारी पाएका छन् ।
दिनभरि खाली बस्दै आउनु परेको र पैसा हातमा नभएका बेला सरकारले एक महीनाका लागि भए पनि जागिरको व्यवस्था मिलाइ दिएकामा खुशी लागेको तानसेनका यमकुमारी राना बताउनुुहन्छ ।
रामपुर नगरपालिकामा ७०, तानसेन नगरपालिकामा १८५, बगनासकाली गाउँपालिकामा ७२, र रम्भा गाउँपालिकामा १२९ महिला तथा विदेशबाट फर्केका युवालाई प्राथमिकता दिएर रोजगार दिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।
भ्रवनोट उकालो ओरालो डाँडा तथा समथर भूभाग रहेको रम्भामा बाटोको पहिरो हटाउने मोड काट्नेलगायत मर्मतका काम गरेको उहाँको भनाइ छ ।
यस्तै रिब्दीकोटमा ११०, पूर्वखोलामा १७५ तिनाउमा २५०, निस्दीमा ९८, माथागढीमा १७२ र रैनादेवी छहरा गाउँपालिकामा ३२० बेरोजगारले रोजगार पाएका छन् ।
बेरोजगार बसेका युवा रोजगार हुने र पाखा खाली जग्गामा टिमुर लगाउने योजना रहेको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण जिसी बताउनुहुन्छ ।
पाल्पाकै तिनाउ गाउँपालिकाको वडा नम्बर १ मा दालचिनी र अम्रिसोको बिरुवा रोपण तथा अन्य वडामा वर्षातको समयमा बाटो हिलो चिप्लो नहोस् भन्ने उद्देश्यले मोटरबाटोको छेउछाउमा नाली खन्ने काम दिलाइएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिनुभयो ।