साइप्रस पठाइदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेर फरार भएकी महिला पक्राउ

 साउन १५, २०७६ बुधबार १६:६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा ठगी सम्बन्धी मुद्दामा फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । साइप्रस पठाइदिने भन्दै ठगी गरेर ७ वर्षदेखि फरार रहेकी काठमाण्डौ सितापाइला निवासी ४३ वर्षीया पुनम नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीमा पठाउन पाइने ईजाजतपत्र बिना नै उनले ६ महिनाभित्र साइप्रस पठाइदिन्छु भन्दै पीडित शान्त कुमार तामाङबाट २०६६ साल असार २९ गते १० लाख पचास हजार रुपैयाँ लगेकी थिइन् ।

तर आफूलाई साइप्रस नपठाएर पैसा ठगी गरेको आरोपमा तामाङले उनीविरुद्ध अदालतमा मुद्दा दिनुभएकाे थियाे । अदालतले पुनमबाट १५ लाख ७५ हजार रुपैयाँ तामाङलाई दिलाउनु पर्ने फैसला पनि गरेको थियो ।

यति मात्र नभएर ‘वैदेशिक रोजगार कसूर मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०६९ असार ३१ गतेको फैसलाले पुनमलाई एक वर्ष ६ महिना कैद र एकलाख पचास हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । त्यसपछि पुनम फरार भएकी थिइन् ।

पुनम नेपालीलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएकाे टाेलीले मंगलबार सितापाइलाबाट पक्राउ गरेको हो ।

बुधबार फैसला कार्यान्वयनको लागि उनलाई काठमाण्डौ जिल्ला अदालतमा पेश गरेपछि कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा, काठमाण्डौमा पठाइएको ब्यूरोले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया