वैदेशिक रोजगारीको विसङ्गति हटाउन म्यानपावर कम्पनीको नियमन गर्छु : श्रम मन्त्री यादव

 पुष २, २०७६ बुधबार १७:१९:४८ | उज्यालो सहकर्मी

काठमाण्डौ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीका क्षेत्रमा भइरहेको विकृति विसङ्गति हटाउन म्यानपावर कम्पनीलाई नियमन गर्ने बताउनुभएको छ । 

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा नेपाल सरकारको समन्वयमा अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)द्वारा तयार पारिएको ‘बसाइँसराइ अभिलेख’ सार्वजनिक कार्यक्रममा मन्त्री यादवले वैदेशिक रोजगारीका क्षेत्रमा भइरहेको विकृति विसङ्गति हटाउँदै म्यानपावर कम्पनीलाई पनि नियमन गरिने बताउनुभएको हो । 

यस्तै मन्त्री यादवले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सरकारले सीपयुक्त जनशक्तिलाई मात्र वैदेशिक रोजगारीमा पठाउने नीति लिइएको पनि जानकारी गराउनुभयो । 

आईओएमले आप्रवासी कामदार दिवसको अवसरमा नेपालमा बसाइँसराइको प्रवृत्ति, ढाँचा, असर र शासकीय संरचनाको विश्लेषण भएको ‘बसाइँसराइ अभिलेख’ पनि सार्वजनिक गरेको छ ।

मन्त्री यादवले बुधबार आयोजित कार्यक्रममा अभिलेख सार्वजनिक गर्नुभएको हो । सान्दर्भिक तथ्याङ्क प्रस्तुत गरी प्रभावकारी नीति निर्माणमा सहयोग पुर्‍याउन र बसाइँसराइलाई विकास योजनामा मूलप्रवाहीकरण गर्ने ध्येयले अभिलेख तयार गरिएको आइओएमले जनाएको छ ।

अभिलेखमा बसाइँसराइका प्रकार, विशेषतासम्बन्धी तथ्याङ्कीय स्रोतको पहिचान गरी तथ्य प्रमाणसहित प्रस्तुत गरिएको छ । 

चार भागमा विभाजित अभिलेखको पहिलो भागमा बसाइँसराइको प्रवृत्तिको तथ्याङ्क र विश्लेषण, दोस्रो भागमा बसाइँसराइले आर्थिक–सामाजिक तथा विकासका मुख्य सूचकमा परेको असर, तेस्रो भागमा बसाइँसराइलाई व्यवस्थित गर्ने शासकीय संरचना र चौथो भागमा नीतिनिर्माताका लागि सुझाव दिइएको छ ।

नीति अनुसन्धान केन्द्रका अध्यक्ष गणेश गुरुङले सही तथ्याङ्क नहुँदा नीति निर्माण गर्न समस्या भइरहेको उल्लेख गर्दै बसाइँसराइ अभिलेखमा समोवश तथ्याङ्कका आधारमा नीति निर्माण तहमा पैरवी  गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘यही तथ्यमा आधरित अभिलेखलाई प्रयोग गरेर बसाइँसराइसँग नीति निर्माण गर्न तथा कानून सुधार गर्न आइओएमको भूमिका हुनुपर्छ,’ उहाँले भन्नुभयो । 

संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक भ्यालरी जुलियन्टले बसाइँसराइ अभिलेखले नेपाल तथा विदेशमा रहेका आप्रवासी कामदारलाई हक अधिकार स्थापना गर्न सहयाग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

झण्डै पाँच लाख युवाले रोजगारीका लागि देश छाड्ने गरेको तथ्याङ्क रहेको छ ।  गरिबी, बेरोजगारीलगायत कारणले नेपाली युवा विदेश जानुपर्ने बाध्यता छ । नेपाल राष्ट्र बैंकका अनुसार गएको वर्षमा झण्डै नौ खर्ब रुपैयाँ विप्रेषण भित्रिएको थियो । 

आइओएमका नेपाल प्रमुख लरिना ल्याण्डोले आप्रवासी रणनीतिलाई नयाँ ढङ्गबाट लैजान बसाइँसराइ अभिलेख तयार गरिएको हो भन्नुभयो ।  आप्रवासनले ‘स्रोत तथा गन्तव्य मुलुकलाई भलाइ गरोस्’ भन्ने नै आइओएमको चाहना रहेको उहाँले उल्लेख गर्नुभयो । 

 बसाइँसराइलाई व्यवस्थित बनाउन सुझाव 

अभिलेखमा बसाइँसराइलाई व्यवस्थित बनाउन २४ सुझाव दिइएको छ । नेपालमा विभिन्न तहमा आप्रवासनको विषयलाई हेर्ने निकाय  छन् । आप्रवासनसम्बन्धी बृहत नीति निर्माण गर्ने र संस्थागत समन्वय संयन्त्रको स्थापना गरी समन्वयात्मक ढङ्गबाट कामलाई थप प्रभावकारी बनाउन सुझाव दिइएको छ । 

अभिलेखले आप्रवासी कामदारको सुरक्षाको प्रयासलाई थप प्रभावकारी बनाउन तथा सुरक्षित वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकसँग द्विपक्षीय सम्झौता गर्न सुझाव दिइएको छ ।

अभिलेखमा वैदेशिक रोजगारीबाट फर्केका कामदारको सीप तथा क्षमताको पर्याप्त फाइदा लिन नसकिरहेको अवस्थामा उनीहरुलाई स्वदेशमै लगानीका अवसर प्रदान गर्न र उचित रोजगारीको खोजी गर्नेतर्फ ध्यान दिन आग्रह समेत गरिएको छ । 

विद्यमान कानूनको उचित कार्यान्वयन र कानूनको पालना भए नभएको अनुगमन गर्ने सुनिश्चितता गर्नु आवश्यक भएको अभिलेखमा उल्लेख छ । आप्रवासनसँग सम्बन्धित कानूनको समीक्षा गरी थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिइएको छ ।      

विभिन्न सामग्रीको विस्तृत अध्ययन र विभिन्न तहका सरकारी निकाय, नागरिक समाज सम्बद्ध संस्था, ट्रेड युनियन, अनुसन्धानमुखी संस्था, राष्ट्रसङ्घीय निकाय र प्राज्ञिक व्यक्तित्वसँग विभिन्न चरणमा परामर्श गरी सो अभिलेख तयार पारिएको आइओएमले जनाएको छ । 

अभिलेखमा समेटिएको तथ्याङ्क सरकारको आयोजनामा सम्पन्न भएका राष्ट्रिय जनगणना, आवधिक सर्वेक्षण, प्रशासनिक अभिलेखलगायत स्रोतबाट लिइएको हो । एकासी मुलुकमा बसाइँसराइ अभिलेख तयार गरिएको पाइन्छ । नेपालको अभिलेखलाई विश्वमै उत्कृष्ट मानिएको छ ।

तपाईको प्रतिक्रिया