मुद्दा नलागेका गैरकानुनी श्रमिकलाई साउदीले दियो स्वदेश फर्किले अवसर

 पुष १४, २०७६ सोमबार ११:३५:४४ | उज्यालो सहकर्मी

काठमाण्डौ – साउदीमा परिचय पत्र (अकामा) नभएर वा कम्पनी छाडेर गैरकानुनी रुपमा काम गरिरहनुभएको छ र (हुरुब ) लागेको छ ? तर कुनै पनि मुद्दा, दण्ड र जरिवाना हुने कार्यामा संलग्न हुनुभएको छैन भने तपाईँलाई साउदी सरकारले स्वदेश फर्किने अवसर दिएको छ । 

साउदीको श्रम तथा सामाजिक विकास मन्त्रालयले १ महिना भन्दा बढी अवधि अकामा नवीकरण नभएका वा नयाँको हकमा भने ४ महिना भन्दा बढी अवधि अकामा जारी नभएर वा कम्पनी छोडी भागेर हुरूब लागेर काम गरिरहेको श्रमिकलाई घर फर्किनको लागि बहिर्गमन भिसा दिने साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

कुनै पनि मुद्दा मामिला, दण्ड, जरिवाना नभएका श्रमिकले घर फर्किनका लागि नेपाली दूतावास रियादमा सम्पर्क गर्न अनुरोध गरिएको छ । 

श्रमिकले तोकिएको स्वरूपको निवेदनको ढाँचाकासाथ  अकामा, राहदानी र भीसाको तीनरतीन प्रतिलिपीका साथ निवेदन दिन दूतावासले आग्रह गरेको छ । निवेदन दिएपछि दूतावासले सिफारिसपत्र जारी गर्ने र सम्बन्धित निकायमा गई बहिर्गमन भिसा लिएर नेपाल फर्किन सकिने दूतावासले जनाएको छ ।

यस्तै कम्पनीसँग लिन बाँकी बक्यौता भएमा श्रम अदालतमा मुद्दा दर्ता गरी अदालतबाट  फैसला भएपछि  मात्र बहिर्गमन भिसा लिएर नेपाल फर्किन सकिने दूतावासले जनाएको छ । तर कुनै पनि मुद्दा मामिला, दण्ड, जरिवाना भएका श्रमिक भने यो अवसरको फाइदा उठाएर फर्किन सक्ने छैनन् ।

 

तपाईको प्रतिक्रिया