वैदेशिक रोजगारी सम्बन्धी उजुरी फर्छ्यौटका लागि सम्पर्क गर्न विभागको अनुरोध

 पुष १४, २०७६ सोमबार १२:५४:२५ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार विभागले उजुरी दर्ता गराएर सम्पर्कबिहीन भएका उजुरीकर्तालाई उजुरी फर्छ्यौटका लागि १५ दिन भित्र सम्पर्क गर्न अनुरोध गरेको छ । 

वैदेशिक रोजगारीको क्रममा समस्यामा परेर विभागमा म्यानपावर विरुद्ध उजुरी दर्ता गराएर सम्पर्कबिहीन भएका र प्रमाण नपुगेका उजुरीकर्तालाई प्रमाणसहित १५ दिनभित्र सम्पर्क गर्न विभागले  अनुरोध गरेको हो । 

मलेसिया गएका श्रमिकको सन्दर्भमा २०७१ सालसम्म दर्ता भएका उजुरीकर्ता, मलेसियाबाहेक अरु देशमा गएका श्रमिकको हकमा २०७२ सालसम्म दर्ता भएका उजुरीकर्ता र पासपोर्ट माग गरी उजुरी दर्ता गरेका उजुरीकर्ताको हकमा उजुरी दिएको एक वर्ष पूरा भएका उजुरीकर्ताले प्रमाणसहित उजुरी फर्छ्यौटका लागि विभागमा सम्पर्क गर्न सक्नेछन् । 

विभागबाट इजाजतपत्र संस्थामाथि परेका र विभागको अभिलेख एवं सूचना प्रणालीमा दर्ता भएका उजुरी फर्छ्यौट गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवस्तरीय बैठकको निर्णयअनुसार पुराना उजुरीमाथि  विभागले फरफारक गरिरहेको छ । 

तोकिएको समयमा विभागमा उपस्थित नभएमा त्यस्ता उजुरी तामेलीमा राख्ने विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया