वैदेशिक रोजगारी सम्बन्धी सबै काम अनलाइनबाट, बीमा कम्पनी र सेवा प्रदायक अरु संस्थालाई सूचीकृत हुन विभागको अनुरोध

 पुष २०, २०७६ आइतबार १४:३३:३० | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगारीको लागि अनलाइन भुक्तानी सेवा प्रदायक संस्था र बीमा कम्पनीहरुलाई सूचीकृत हुन वैदेशिक रोजगार विभागले आह्वान गरेको छ ।

वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत हुन बाँकी रहेका जीवन बीमा कम्पनीहरुलाई यसै महिनाको २४ गतेभित्र  सूचीकृत हुन विभागले आव्हान गरेको हो । 

विभागको वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत हुन बाँकी रहेका र तोकिए बमोजिमको बीमा प्रिमियम बापतको रकम, कुनै सेवा शुल्क नलिई र नकटाई अनलाइन भुक्तानी प्रणालीमार्फत भुक्तानी सेवा प्रदान गर्न इच्छुक संस्थाहरु सूचीकृत हुन सक्ने विभागले जनाएको छ ।

सूचीकृत हुनको लागि संस्था दर्ताको आधिकारिक कागजातको प्रतिलिपि सहित निवदेन पेश गर्नुपर्नेछ । यदि कुनै बीमा कम्पनीहरुले पहिले नै बीमा प्रिमियमबापतको रकम अनलाइन भुक्तानी गर्न कुनै सेवा प्रदायकसँग सम्झौता गरिसकेको भए त्यसको प्रमाणसहित विवरण पेश गर्न पनि विभागले भनेको छ ।

श्रम स्वीकृति प्रयोजनका लागि तोकिए बमोजिमको रकमको बीमा गर्दा प्रचलित नेपाल कानून बमोजिम दर्ता भएका जुनसुकै बीमा कम्पनीबाट गराउन सकिन्छ ।

अब त्यस्तो बीमा प्रिमियमबापतको रकम समेत अनलाइन प्रणालीबाट भुक्तान गर्न सकिने गरी प्राविधिक तयारी पूरा गरिसकेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

अहिलेसम्म विभागमा १४ वटा बीमा कम्पनीहरु दर्ता रहेका छन् र तीमध्ये ४ वटाले मात्र सेवा दिइरहेका छन् ।
 

तपाईको प्रतिक्रिया