नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले इरान र अमेरिकबीच तनाब बढ्दा मध्यपूर्वमा रहेका नेपाली श्रमिक समस्या परे पूरै सरकार लागेर उद्धार गर्ने बताउनुभएको छ ।
मंगलबार श्रम मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रम मन्त्री यादवले मध्यपूर्वको अवस्था बुझ्नका लागि परराष्ट्र सचिबस्तरीय टोली बनाएर पलपलको खबर लिइरहेको र कसरी उद्धार गर्ने भन्ने विषयमा पनि छिट्टै टुङ्गो लगाउने बताउनुभएको हो ।
सबै सम्बन्धित मन्त्रालयबीच छलफल भइरहेको र छिट्टै एउटा निर्णय गर्ने श्रम मन्त्रालयका सचिव विनोद केसीले बताउनुभयो ।
यस्तै, इराकको राजधानी बग्दादमा रहेको अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी श्रमिकलाई स्वदेश फर्काउन थालिएको छ । इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका लागि सहयोगीको काम गरिरहेका कम्पनीले आवश्यक श्रमिक राखेर बाँकीलाई आइतबारदेखि पठाउन थालेका हुन् ।
श्रम मन्त्रालयले इराकमा रहेका नेपालीबारे सूचना संकलन गर्न सोमबार संयन्त्र बनाइसकेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार सम्बन्धित देशमा रहेका नेपाली दूतावास र ती देश हेर्ने अरु दूतावासलाई त्यहाँ कार्यरत नेपालीसँग सम्पर्क गर्न भनिएको छ ।
‘नेपाली नागरिकसँग सम्पर्क गर्न र सुरक्षित हिसाबले बस्नको लागि अनुरोध गर्न सम्बन्धित दूतावासलाई भनेका छौँ’, उहाँले उज्यालोसँग भन्नुभयो, ‘ती देशको अवस्थाबारे नियमित सरकारलाई जानकारी गराउन पनि निर्देशन दिएका छौँ । खाडी देशमा निकै धेरै सङ्ख्यामा नेपालीहरु रहेकाले उनीहरुको सुरक्षाबारे सरकार गम्भीर छ ।’
सरकारले इराकमा काम गर्न रोक लगाए पनि त्यहाँ अवैधानिक बाटोबाट पुगेका १५ हजारभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ । इरानमा कति नेपाली छन् भन्ने यकिन तथ्याङ्क छैन ।
मध्य–पूर्वका अरु देशमध्ये साउदीमा झण्डै चार लाख र कतारमा साढे तीन लाखभन्दा बढी नेपाली छन् । यूएईमा दुई लाख ५० हजार, कुवेतमा ७० हजार, ओमानमा २० हजार, बहराइनमा २५ हजार, लेबनानमा १२ हजार, जोडर्नमा १२ हजार र इजरायलमा तीन हजार नेपाली रहेको तथ्याङ्क छ ।
अमेरिका र इरानबीच द्वन्द्व बढिरहँदा यसबाट इराक र इरानसँगै मध्य–पूर्वका देशहरुमा असर पर्छ । ती देशमा लाखौँ नेपाली रोजगारीको सिलसिलामा पुगेका छन् । द्वन्द्व चर्किंदा त्यहाँ रहेका नेपालीलाई प्रत्यक्ष असुरक्षा बढ्ने त छँदैछ । यसले देशको अर्थतन्त्रलाई समेत प्रभावित पार्न सक्ने देखिएको छ ।
साउदी, कतार, यूएई, बहराइन, कुबेत, इजरायल र लेबलान लगायतका देशबाट नेपालमा बर्सेनि तीन खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिँदै आएको छ ।
खाडीमा कार्यरत नेपालीलाई दूतावासको सम्पर्कमा रहन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।