विदेश जाने बढे पनि रेमिट्यान्स घट्यो, सात महिनामा ५ खर्ब १३ अर्ब रुपैयाँ भित्रियो

 चैत ५, २०७६ बुधबार १४:२१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विदेश जाने नेपाली बढेपनि रेमिट्यान्स भने घटेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो सात महिनाको तथ्याङ्कले विदेश जानेहरु बढेको र उनीहरुले नेपालमा पठाउने रेमिट्यान्समा कमी आएको देखाएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको सात महिनामा रेमिट्यान्स शून्य दशमलव पाँच प्रतिशतले घटेर पाँच खर्ब १३ अर्ब २१ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनामा रेमिट्यान्स साढे २८ प्रतिशतले बढेको थियो ।

यस्तै अमेरिकी डलरमा आयात हुने रेमिट्यान्समा पनि शून्य दशमलव २  प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६ प्रतिशतले बढेको थियो ।रेमिट्यान्स घटे पनि विदेश जानेहरु भने बढेका छन् ।

सात महिनामा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या २१ दशमलव ७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको त्यही अवधिमा यस्तो सङ्ख्या ३७ दशमलव ५ प्रतिशतले घटेको थियो ।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा सात महिनामा शून्य दशमलव ६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यही अवधिमा वैदेशिक रोजगारीमा जानेकाे सङ्ख्या ४ दशमलव ९ प्रतिशतले बढेको थियो । 

तपाईको प्रतिक्रिया