बहराइनमा कोरोना सङ्क्रमित नेपालीको अवस्था सुधारोन्मुख, समस्या परे सम्पर्क गर्न दूतावासको अनुरोध

 वैशाख ४, २०७७ बिहीबार १७:३३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बहराइनमा कोरोना सङ्क्रमित २२ जना नेपालीको अवस्था सुधारोन्मुख रहेको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार त्यहाँ अहिलेसम्म २२ जना नेपालीमा सङ्क्रमण देखिएको र सङ्क्रमित सबै नेपालीको स्वास्थ्य अवस्थाबारे दूतावासले नियमित रुपमा जानकारी लिइरहेको छ ।

कोरोनाका कारण बहराइनमा कार्यरत नेपालीलाई समस्या परेमा दूतावासमा सम्पर्क गर्न पनि उहाँले अनुरोध गर्नुभएको छ । राजदूत सुन्दासका अनुसार, पछिल्लो समय खान बस्न समस्या भयो भन्ने गुनासा बढेका छन् ।

‘हिजो मात्रै पनि हामीले एक जना नेपालीलाई १५/२० दिनलाई पुग्ने खाद्य सामग्री किनेर पठाइदियौं, उहाँले दूतावासमा आफूलाई समस्या परेको भनेर जानकारी गराउनुभएको थियो,’ उहाँले भन्नुभयो, ‘कतिलाई नेपाली समुदायले व्यवस्था गरिदिनुभएको छ, तपाईँलाई पनि त्यस्तो समस्या परेमा जानकारी गराउनुहोस् ।’

कोरोनाको जोखिम बढेसँगै गैरकानुनी रुपमा काम गर्ने श्रमिकहरु बढी मारमा परेको उहाँको भनाई छ । लुकेर काम गर्नेहरुलाई रोजगारदाताले काम नदिँदा खान बस्न समस्या भएको र त्यस्तो समस्या हुनेलाई दूतावासले सहयोग गर्ने राजदूत सुन्दासको भनाई छ ।

बहराइनमा झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत छन् ।

तपाईको प्रतिक्रिया