श्रमिकले अनुभूति गर्ने गरी श्रमको हक कार्यान्वयन गर्न सरकार प्रतिवद्ध : श्रम मन्त्री यादव

 वैशाख १९, २०७७ शुक्रबार १०:५७:२४ | उज्यालो सहकर्मी

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले श्रमिकले अनुभूति गर्ने गरी श्रमको हक कार्यन्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मन्त्री यादवले श्रमिकवर्गलाई शुभकामना दिंदै संविधानमा समावेश भएका श्रम, सामाजिक सुरक्षा लगायतका हकहरुलाई प्रत्येक श्रमिकले अनुभूत गर्ने गरी कार्यान्वयन गर्न सरकार दृढ संकल्पित भएको बताउनुभएको हो ।

उहाँले नेपालको लामो राजनीतिक आन्दोलनपछि देशमा राजनीतिक स्थायित्व ल्याउनमा श्रमिक वर्गको महत्वपूर्ण भूमिका रहेकोे भन्दै  प्रशंसा पनि गर्नुभयो । प्रत्येक श्रमिकको राजनीतिक र आर्थिक अधिकारको लागि श्रम सम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी पालना र योगदानमा आधारित सामाजिक सुरक्षा योजना जस्ता कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उहाँको भनाइ छ ।

यस्तै सबै प्रकारका श्रम शोषणको अन्त्य गरी असल श्रम सम्बन्धको संस्थागत विकास गरिनुपर्नेमा पनि उहाँले जोड दिनभयो । त्यसको लागि श्रमिक, रोजगारदाता तथा सरकारसँको सम्वाद, समन्वय तथा सहकार्यलाई निरन्तरता दिन आजको यस दिनले थप उत्प्रेरित गर्ने पनि उहाँले बताउनुभयो ।

अहिले विश्वव्यापी फैलिरहेको कोभिड १९ महामारीको चुनौतीको बावजुत पनि श्रमिकका अधिकार, सेवा सुविधा सुनिश्चित गर्न सबैले एकसाथ हिँड्नुपर्ने उहाँको भनाइ छ ।

अहिलेको परिस्थितिबाट छुटकारा पाउन  सबै श्रमिकले आआफ्नो क्षेत्रबाट भूमिका खेल्न पनि मन्त्री यादवले आग्रह गर्नुभयो ।

 

1 Comments

  • narayan bhatt

    May 1, 2020, 7:11 p.m.

    यो अनुसार भारतमा रहेका नेपाली मजदुरलाई आ आफ्नो घर जाने मौका मिलोस्...... सेनिटाइजर लगाएर /

तपाईको प्रतिक्रिया