नयाँ रोजगारीका क्षेत्र पहिचानबारे श्रम सल्लाहकार परिषद् बैठकमा छलफल

 वैशाख २८, २०७७ आइतबार १९:३४:५४ | उज्यालो सहकर्मी

काठमाण्डाै – श्रम सल्लाहकार परिषद्को बैठकमा वैदेशिक रोजगारीबाट फर्किने जनशक्तिका साथै स्वदेशभित्र रोजगारी गुमाउने श्रमिकका लागि नयाँ रोजगारीका क्षेत्र पहिचान गर्नेबारे छलफल भएको छ । 

आइतबार भएको परिषद्को छैटौं बैठकमा कोभिड १९ पछि उद्योग व्यवसायमा परेको वित्तीय तथा गैरवित्तीय प्रभाव घटाएर उद्योग व्यवसाय टिकाउन र क्रमशः दिगोपना कायम गर्न, श्रमिकका सेवा सुविधा र रोजगारीको हकलाई सुनिश्चित गराउन, श्रमिक र रोजगारदाताबीच विगतको असल श्रम सम्बन्धलाई निरन्तरता दिन र अरु देशबाट स्थानान्तरण हुने चाहेका बहुराष्ट्रिय कम्पनीहरूलाई नेपालमा आकर्षित गर्ने उपायबारे पनि छलफल भएको छ । 

बैठकले कोरोनाका कारण उद्योग, प्रतिष्ठान तथा श्रमिकको लागि नेपाल सरकार, मन्त्रिपरिषद्बाट भएका निर्णयहरू प्रभावकारी कार्यान्वयन गर्न गराउन र यसमा देखिएका व्यवहारिक समस्या तथा आगामी दिनमा अबलम्बन गर्नुपर्ने उपायहरू सहित सरकारलाई सुझाव दिन सरकार, रोजगारदाता र श्रमिक संगठनका प्रतिनिधि रहेको कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विद्यमान महामारीको परिस्थितिमा देखिएको संकट तथा यसले सृजना गरेका अवसरलाई नेपालमा उद्यमशीलता विकास, वैकल्पिक रोजगारी एवं उत्पादनमूलक काममा रूपान्तरण गर्न नयाँ ढङ्गले समाधान खोज्न सरकार तयार रहेको भन्दै आवश्यक सुझाव दिन सरोकारवालासँग आग्रह गर्नुभयो । 

छलफलमा कोरोनाको कारण उद्यम व्यवसायमा र रोजगारीका क्षेत्रमा परेको प्रभाव, त्यसको न्यूनीकरण, राहत, छुट तथा उद्यम व्यवसाय सञ्चालनमा आवश्यक पर्ने सुविधा वितरण लगायतका विषयमा यसअघि भएका निर्णयहरूको प्रभावकारी कार्यान्वयनबारे पनि कुरा भएको श्रम मन्त्रालयले जनाएको छ । बैठकमा रोजगारदाता तथा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका तर्फबाट प्रस्तुत गरिएका माग तथा सुझावहरूका सम्बन्धमा समेत छलफल भएको छ । 

छलफलमा सहभागीहरूले विगतका अप्ठ्यारा अवस्थामा समेत सरकार, रोजगारदाता र श्रमिकहरू एकसाथ हिँडेको अभ्यासलाई यस महामारीको समयमा पनि आत्मसाथ गर्नुपर्ने विषयमा ऐक्यवद्धता व्यक्त भयो । 

छलफलमा विभिन्न मन्त्रालयका सचिवहरु, रोजगारदाता र ट्रेड युनियनका पदाधिकारीहरूको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया