शव विदेशमै अन्त्येष्टिको लागि अनुमति दिन परिवारसँग सरकारको आग्रह, नजिकको हकदारले ५० हजार पाउने

 वैशाख २९, २०७७ सोमबार १९:१५:३ | उज्यालो सहकर्मी

काठमाण्डाै – सरकारले विदेशमा ज्यान गुमाएका श्रमिकको उतै अन्त्येष्टिको लागि अनुमति दिन परिवारसँग आग्रह गरेको छ ।

वैदेशिक रोजगर बोर्डको सचिवालयले सोमबार सूचना निकालेर श्रम स्वीकृती लिएका विदेशमै रहेका आफ्ना नजिकका हकदारबाट अन्त्येष्टिका लागि सहमतिपत्र दिन आग्रह गरेको हो ।

यसरी अनुमति दिने सम्बन्धित परिवारलाई सान्त्वना, राहतस्वरुप ५० हजार रुपैयाँ दिने निर्णय भएको पनि बोर्डले जनाएको छ । बोर्डकाअनुसार नजिकको हकदारको तर्फबाट सहमतिपत्र सम्बन्धित जिल्ला प्रशाशन कार्यालयमार्फत पठाउन सकिनेछ । 

अहिले अन्तर्राष्ट्रिय उडान बन्द भएको बेला शवलाई स्वदेश फर्काउन नसकिने र कोरोनाका कारण ज्यान गुमाएकाहरुको शव पनि स्वदेश ल्याउन नमिल्ने बाध्यात्मक अवस्था भएकाले सम्बन्धित देशमा नै अन्तिम संस्कारका लागि सहमति पत्र पठाउन बोर्डले अनुरोध गरेको हो । 

अहिले विदेशमा एक सयभन्दा बढीको शव अलपत्र छ । कोरोनाबाट मृत्यु भएकाबाहेकको शव परिवारको सहमतिबिना विदेशमा अन्त्येष्टि गर्न पाइँदैन । 

विदेशमा ज्यान गुमाउनेको शव तत्काल स्वदेश ल्याउने सम्भावना नभएको भन्दै सरकारले  विदशेमै अन्त्यष्टिको लागि अनुमति दिन परिवारसँग आग्रह गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया