नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ - विदेशमा समस्यामा परेका नेपालीहरुलाई नेपाल ल्याउन सरकारले ठोस योजना ल्याउन नसकेको आरोप सांसदहरुले लगाएका छन् ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अधिकांश देशहरुले लकडाउन गरेपछि समस्यामा परेका नेपालीहरुलाई ठोस योजनासहित नेपाल ल्याउन सरकारले कुनै पहल नगरेको आरोप सांसदहरुले लगाएका छन् ।
संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा सांसदहरुले सरकारले कोरोना नियन्त्रणका लागि कोष खडा गर्ने तर खर्च नगर्ने तथा विदेशबाट आउन चाहेका नेपालीहरुलाई ल्याउनै हुन्न भन्ने किसिमले व्यवहार गरेको बताएका हुन् ।
उनीहरुले कोषमा जम्मा भएको रकम खर्च गरी समस्यामा परेका सबैको व्यवस्थापन गर्न समेत माग गरेका छन् । भारत तर्फको सीमासम्म मानिसहरु आफैले आइसकेको अवस्थामा सरकारले स्वास्थ्य परीक्षण र उपयुक्त क्वरेन्टीनको व्यवस्था गरी नेपाल ल्याउनुपर्ने माग सांसदहरुले गरेका छन् ।
पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भने भारत तर्फको सीमामा आएर बसेका नेपालीहरु, विदेशमा समस्यामा परेका नेपालीहरु र घर फर्कन चाहने नेपालीहरुको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
भारतीय सीमामा आएर नेपाल भित्र प्रवेश गर्न नपाएका सबै नेपालीलाई परीक्षण गरी नेपाल भित्र्याउनु पर्ने सांसद प्रकाशमान सिंहले बताउनुभयो । सांसद पुष्पा भुसालले चुनावमा भोट हाल्नका लागि विदेशमा रहेका नेपालीहरुलाई देश फर्कन आह्वान गर्न सक्ने सरकारले अहिले विपद्को अवस्थामा उतै बस भन्न नमिल्ने बताउनुभयो । सरकारले विदेशमा रहेका र भारतसँगको सिमामा आएर बसेका नेपालीहरुलाई सम्बन्धित देशले नै व्यवस्थापन गर्ने बताउँदै आएको छ ।
तर नेपालीहरुले भने आफूहरु विदेशमा निकै समस्यामा भएको, खाने बस्ने व्यवस्था राम्रो नभएको र अमानविय व्यवहार भइरहेको भन्दै सरकारसाग देश फिर्ता आउने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
यसै सम्बन्धमा अन्तराष्ट्रिय सम्बन्ध समितिमा रहेका सांदहरुले सरकारलाई ठोस योजना सहित समस्यामा परेका नेपालीहरुलाई ल्याउन माग गरेका हुन् ।