नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – बुवा परदेश जाँदा आमाको गर्भमा रहेको छोरा अहिले १० वर्षको भइसक्यो । आफ्नी आमासँग ‘बुवा खै ? आमा’ भनेर सोध्छ । तर हरिमाया मोक्तानसँग यसको जवाफ हुँदैन ।
सुन्दर भविष्यको कामना गर्दै हरिमायाका श्रीमान मकवानपुरका विजय मोक्तान पनि २०६६ सालमा मलेसिया जानुभएको थियो । हातमा पासपोर्ट र पिठ्युँमा झोला बोकेर घरबाट मलेसियाको लागि हिँड्दा लालबहादुर मोक्तान र सुनमाया मोक्तानलाई छोरो यसरी बेपत्ता होला भन्ने लागेकै थिएन ।
स्वदेशमा रोजगारीको अभाव, काम नगरी खान नपाइने परिवारको अवस्था र बढ्दै गरेको उमेरको जिम्मेवारीले विजयलाई परदेशको बाटो डोर्याएको हो ।
अहिले आँखै अगाडि हुर्किंदै गरेको आफ्नो दश वर्षे नातिलाई हेरेर लालबहादुर र सुनमाया आफ्नो छोराको झझल्को मेट्छन् । तर छोरा सामने भए जस्तो त कहाँ हुन्छ र ? उहाँहरुका आँखा अझै पनि छोराको प्रतिक्षामा टोलाइरहन्छन् ।
विजय परदेश जाँदा एउटा छोरी जन्मिसकेकी थिइन् । हरिमाया गर्भवती थिइन् । वृद्ध बुवाआमा, गर्भवती श्रीमती र काखे छोरीलाई छाडेर परदेशको लागि हिँड्दा विजयका मात्रै होइन, पुरै परिवारको आँखा रसाएका थिए । तर पनि घरको आर्थिक अवस्था र काँधको जिम्मेवारीले विजयका पाइलालाई रोकेन ।
‘नाति गर्भमा हुँदा नै छोरो मलेसिया गएको थियो, नाति दश वर्षको भइसक्यो छोराको केही अत्तोपत्तो छैन’, निराश बुवाका आँखाबाट आँशुका धारा वर्षन्छन् ।
‘तीन वर्षमा फर्किन्छु भनेर जानुभएको थियो, दश वर्ष भइसक्यो, आजसम्म आउनुभएन’, विजयकी श्रीमतीको रोदन पनि उस्तै छ ।
‘मेरो श्रीमान जहाँ हुनुहुन्छ सुरक्षित भएको सुन्न पाइयोस’, विजयकी श्रीमती भगवानसँग कामना गर्नुहुन्छ, ‘जसरी भए पनि मेरो लोग्ने हाँस्दै खेल्दै टुप्लुक्क आँगनमा आइपुगेकोे देख्न पाइयोस् ।’
विजय सन् २०१० को अक्टोबरमा ब्लुमुन ओभरसिज नेपाल प्रालि म्यानपावरबाट मलेसियाको इलाइट प्रिजन कम्पोनेन्ट एसडीएन बीएचडी कम्पनीमा सामान्य कामदारको रुपमा जानुभएको थियो ।
विजय गएको यो कम्पनी कवासन इन्डस्ट्रिकोटा केमुनिङ भन्ने ठाउँमा हो । त्यहाँ पुगेको दुई वर्षसम्म परिवारसँग राम्रै सम्पर्क हुन्थ्यो । बेलाबेला पैसा पनि पठाइदिनुहुन्थ्यो । दुई वर्षपछि घरमा फोन गर्दा कम्पनीमा काम गर्न अप्ठ्यारो भयो भन्ने किसिमको कुरा गर्नुभएको थियो । उहाँको परिवारले जनाएअनुसार काम गर्न अप्ठ्यारो भएकाले कम्पनीबाट भागेर अन्तै काम गर्छु भनेर घरमा फोन गर्नुभएको थियो विजयले ।
‘त्यसपछि पाँच वर्षसम्म फोन नै गर्नुभएन’, हरिमायाले भन्नुभयो, ‘एक्कासी पाँच वर्षपछि फोन गर्नुभयो र आफूलाई केही नभएको तर अन्तै काम गर्न लागेको र कमाइ राम्रो नभएकोले अहिलेसम्म फोन नगरेको भन्नुभएको थियो ।’
उहाँले आफू सेक्युरिटी गार्डमा काम गर्न लागेको पनि बताउनुभएको थियो । त्यसपछि फरक फरक नम्बरबाट फोन गर्न थाल्नुभयो । किन फरक नम्बरबाट फोन गर्नुहुन्छ भनेर आफूले सोध्दा रिचार्ज गर्नुभन्दा सिम किन्न सस्तो हुन्छ भन्ने गरेको हरिमाया बताउनुहुन्छ ।
लामो समयसम्म विजयले फोन नगरेपछि हरिमायालाई परिवार चलाउन धौ धौ भइसकेको थियो । त्यसैले उहाँले आफ्नो श्रीमानसँग म पनि विदेश जान्छु भन्नुभयो । तर विजयले पैसा पठाइदिन्छु कतै पनि जानुपर्दैन भनेर सम्झाएपछि केही समय त हरिमायाको मन हलुको पनि भयो ।
लामो समयसम्म लोग्ने हराए पनि अब त कुरा हुन थालिसक्यो, अब त पैसा पठाउलान् भन्ने आशा पलायो हरिमायाको मनमा । तर त्यो आशा केही महिनामै निराशामा परिणत भयो । केही महिना फोनमा सम्पर्क भएपछि फेरि विजयसँग सम्पर्क नै हुन छाड्यो ।
यसरी लामो समयसम्म श्रीमान सम्पर्कमा नआउने र पैसा पनि नपठाउँदा घरपरिवार चलाउन हरिमायालाई समस्या हुन थाल्यो । उहाँको काँधमा परिवारको जिम्मेवारी थपियो । हुर्किंदै गएका दुई सन्तान र बुढा हुँदै गएका सासु ससुराको जिम्मेवारीले उहाँलाई पनि केही कमाउनुपर्छ भन्ने लागेर २२ महिना पहिले उहाँ आफै कुवेत जानुभयो ।
अहिले हरिमाया कुवेतमा काम गरिरहनुभएको छ । त्यही कमाएको पैसा घर पठाउनुहुन्छ र जसोतसो परिवार चलाइरहनुभएको छ ।
विजयले आफ्नै होटेल खोलेर बसेको भन्ने सुन्नमा आएको हरिमाया बताउनुहुन्छ ।
‘उहाँ मलेसियामै होटेल चलाएर बस्नुभएको र राम्रो कमाइ गरिरहेको भनेर एकजना उहाँकै साथीले भन्नुभएको थियो, अहिले उहाँको साथीसँग पनि सम्पर्क हुँदैन’, हरिमायाले भन्नुभयो ।
समयले जे जस्तो गराए पनि आफ्नो श्रीमानले त्यसरी माया नै मारेर अन्तै बस्न लागेको भन्दा हरिमायाको मनले मान्दै मान्दैन । आफ्नो लागि नआए पनि आफ्ना दुई मुटुका टुक्रा छोराछोरीको लागि भए नि घर आउनुहुन्छ भन्ने आशामा परदेशबाटै दिन गन्दै बस्नुहुन्छ ।
कहिलेकाहीँ घरमा फोन गर्दा छोराछोरीसँग सोध्नुहुन्छ, ‘तेरो बुवाको केही कुरा सुनियो र ?’
तर केही नसुनिएको प्रतिक्रिया सुन्दा मन गह्रुँगो हुन्छ । तर पनि उहाँ आफ्नो श्रीमान् घर फर्किन्छन् र पहिलेको जस्तो खुसी साथ परिवार चल्नेछ भन्ने आशामा बस्नुभएको छ ।
यदि विजयकाे बारेमा कसैलाई जानकारी भए फाेन नम्बर ९८०७२३४७४३ मा सम्पर्क गर्न विजयका बुवा आग्रह गर्नुहुन्छ ।