नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
इलाम – विदेशमा कमाएको पैसा मात्र हैन सीप र अनुभव पनि काम लाग्छ । तर त्यसलाई प्रयोग गर्न भने जान्नुपर्छ भन्नुहुन्छ, इलामकी गंगा बस्नेत दियाली ।
कतारबाट फर्कंदा पनि उहाँलाई लागेको थिएन विदेशमा कमाएको पैसा बाहेक सीप पनि काम लाग्छ भनेर । कमाएको पैसा त दुई चार दिनमा सकियो । तर सीप भने झन बढ्दै गएको छ । आफ्नै ठाउँमा आफ्नो साथमा मिलेर काम गर्न पाउँदा गंगा दङ्ग हुनुहुन्छ ।
२०६४ सालतिर उहाँलाई इलामको सन्दकपुर गाउँपालिका ५ जमुनामा भरपर्दो कमाइको काम नै छैन भन्ने लाग्यो ।
जिन्दगीमा दुई चार पैसा नभए त कसरी चलाउनु ? उहाँ काम कै लागि कतार पुग्नुभयो ।
कतारको एक कम्पनीमा उहाँले क्लिनर (सरसफाइ)को काम गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘विदेशमा अढाई वर्ष पसिना बगाउँदा धेरै ज्ञान सिकेँ, यसैलाई आधार बनाएर अहिले नेपालमै स्वरोजगार भएकी छु ।’
२०७६ वैशाखमा कतारबाट नेपाल आएपछि के गर्ने गर्ने ? उहाँ अन्योलमा हुनुहुन्थ्यो । यहिबेला पालिकाले उहाँलाई तालिमको लागि प्रस्ताव गर्यो । ढुङ्गा खोज्दा देउता मिलेझैं भयो । उहाँले च्याउ खेती सम्बन्धी तालिम लिनु भयो ।
यो तालिमको आयोजना कृषि ज्ञान केन्द्र इलामले गरेको हो । छ दिने तालिमपछि उहाँलाई गाउँमा नै च्याऊ उत्पादन गरेर बजारीकरण गर्छु भन्ने आँट आयो ।
२०७६ मंसिर १८ गते १० बलबाट च्याऊ खेती सुरु गर्नुभयो । त्यो बेला उहाँले २१ हजार लगानी मात्रै लगानी गर्नुभएको थियो । १० बलबाटै राम्रो उत्पादनभयो । पहिलो चरणमा नै ३ मन १५ किलो उत्पादन गर्न सफल भएपछि भने झन् जाँगर चल्यो उहाँलाई । अहिले ५२ हजार लगानी गरेर ६५ बल पुर्याउनुभएको छ ।
उत्पादन गरेर बिक्री गर्न थालेपछि अहिले उहाँलाई स्थानीय बजारको माग नै धान्न धौ–धौ छ । स्थानीय बजार माइपोखरी, प्याङ्ग, सोयाङ्ग, नयाँबजार, माइमझुवा लगायतका स्थानबाट बढी माग आउँछ ।
‘पहिले काम थाल्दा कसैले पनि ऋण पत्याएका थिएनन्, अहिले काम थालेपछि त प्रशंसा गर्नेहरु छन्,’ गंगा भन्नुहुन्छ, ‘जस्तो परिस्थितीमा पनि हार मान्न नहुने रहेछ, दिन सबैको आउने रहेछ ।’
किलोको दुई सय रुपैयाँले सबै च्याऊ गाउँमा नै बिक्रिभइसकेको छ । अब यही व्यवसाय गंगाको आम्दानीको दिगो स्रोत बन्ने विश्वास छ । उहाँ भन्नुहुन्छ, ‘गर्दा त हुने रैछ नि त, नगरेर पो आम्दानीका स्रोत शून्य देखेका रहेछौं, यत्तिको ज्ञान र सीप भएपछि मज्जाले बाँच्न सकिन्छ ।’
बाह्रै महिना अभाव नहोस् भन्नलाई च्याउ खेतीका लागि सन्दकपुरको मौसम बाधक छ । मागलाई उत्पादन गर्नकै लागि दुई महिना भने बहिनी मेनुका पोख्रेलको घरमा लगेरसमेत उहाँले उत्पादनलाई निरन्तरता दिने दिनुभएको छ ।
सन्दकपुरभन्दा निकै गर्मी ठाउँ हो माइजोगमाई गाउँपालिका । त्यसैले यहाँ च्याउ उत्पादनमा मौसम बाधक बन्दैन । पुस र माघका लागि भने बहिनीको घरमा च्याउ उत्पादन बिक्री गर्नुहुन्छ उहाँ ।
आफूले सिकेको सीप र अनुभवलाई प्रयोग गर्दा कमाइ हुने रहेछ भन्ने बुझ्नुभएकी गंगाको अब भने फम दर्ता गरेर नै च्याउ खेती गर्ने योजना छ । व्यवसाय गर्दा गरेरै चलाउँदा उत्पादन पनि धेरै गर्ने र त्यसलाई व्यवसायीक बनाउने उहाँको सोच छ ।
घरमा गाई, बाख्रा र सामान्य खेती त छँदैछ । च्याउसँगै लोकल कुखुराको पनि व्यवसाय सुरु गर्नुभएको छ । सुरु गरेको पहिलो वर्ष नै उहाँले १० हजार रुपैयाँको कुखुराको चल्ला मात्रै बिक्री गर्नुभयो । यसमा पनि भविष्य देखेपछि व्यवसाय थप गर्ने सोचमा हुनुहुन्छ उहाँ ।
२०६३ सालमा मानसिंह दियालीसँग विवाह भयो गंगाकोे । मानसिंह राष्ट्रिय निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ ।
उहाँले बिहान बेलुका र छुट्टीको समय श्रीमतीलाई सघाउन छुट्याउनु हुन्छ । श्रीमानसहित अरु परिवारका सदस्यको पनि सहयोगले उहाँलाई व्यवसायी बन्न सहयोग भएको छ । सबैको साथ र हौसलाले भने उहाँलाई झन काममा जाँगर चल्छ ।
गाउँमा माग अधिक छ । माग पूरा गर्न उत्पादनमा वृद्धि गर्नका लागि उहाँले गाउँका दुई जनालाई भने अहिलेदेखि नै काम पनि सिकाउँदै हुनुहुन्छ । पराल धुन र काट्न सक्ने भएका छन् उनीहरु पनि । समय निक्कै लाग्ने भएकाले काम छिट्टो सक्नका लागि मेसिन किन्ने र जोड्ने योजना छ उहाँको ।
च्याउ उत्पादन गरेको परालबाट तरकारी राम्रो फल्ने भएकाले उहाँले तरकारी खेती पनि सुरु गर्नु भएको छ ।
नगर्दासम्म हो देशमै केही छैन झैं लाग्ने । तर काम काम थालेपछि एक पछि अर्को सम्भावनाहरु आफ्नै अघिल्तिर देख्न थाल्नुभयो गंगाले र कमाइको बाटो पनि समात्नुभयो । त्यसैले उहाँको सुझाव पनि सबैलाई विदेश जानुअघि एकपटक सोचौं भन्ने छ ।