उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – चाडबाड नजिकिएसँगै विदेशबाट घर आउन सहज हुँदै गएको छ । तर काम गरिरहेकाहरुले यो दशैँमा घर नफर्कने मनस्थिति बनाएका छन् । कोरोनाको त्रास बढेको, परदेशमा पनि महिनौंपछि बल्ल काम सुरु भएको, अनि घर आउँदा पनि समाजले गर्न सक्ने विभेदको डरले धेरै परदेशीले तत्काल घर फर्कने मन मार्न थालेका छन् ।
यूएईबाट यूवराज मिश्र भन्नुहुन्छ, ‘चाड, त्यसमा पनि दशैँमा घर आउन नपाउँदाको क्षण असाध्यै पीडादायी हुन्छ । तर बाध्यता बिदा मिल्दैन । बिदा नै मिले पनि यो सालको दशैँमा घर आउन पहिलेजस्तो सजिलो छैन ।’
कोरोना महामारी नभएको र पहिले झैं काम र कमाइ भएको भए यो सालको दशैँमा खुशी लिएर आउने सोच थियो युवराजको । तर सोच्दै नसोचेको भयो । कोरोना महामारीमा बल्लबल्ल जागिर जोगियो । कसरी घर आउनु ?
‘नेपालीको महान चाड आउँदा मन त उडेर घरमा पुग्छ, तर पोहोर पनि बिदा मिलेन यो साल पनि मिलेन, कोरोना नआएको भए त यतिबेला घरमा आएर माटो कमेरो पो ल्याउने बेला हुन्थ्यो,’ युवराजलाई योपालिको दशैँ पनि यूएईमै मनाउनुपर्ने बाध्यता छ ।
भन्नुहुन्छ, ‘परदेशमा के दशैँ के तिहार, यसपालि यस्तै त भयो, अर्को साल परिवारसँगै मनाउने आश छ ।’
कुवेतमा कार्यरत मंगलकुमार लिम्बू पनि यो सालको दशैँ कोरोना करहमा बित्ने भयो भन्नुहुन्छ ।
कोरोनाले महिनौंसम्म ज्यान पाल्न पनि धौ धौ पर्यो । झण्डै पाँच महिनापछि उहाँको काम सुरु भयो । काम नै भर्खरै सुरु भएकाले साथमा पैसा पनि छैन अनि कम्पनीले बिदा पनि दिँदैन् ।
‘अर्काको देशमा कोरोना लागेर मरिएला कि भन्दै डरमा बस्नु परेको छ, यो पैसाले पनि मानिसलाई कति बाध्य बनाउँदो रहेछ, न चाडबाड न आफन्त, न घाम पानी भन्न पाइने न त थकाइ लाग्दा आराम’ मंगलकुमार गुनासो गर्नुहुन्छ ।
कोरोना महामारीमा कतिले त घर फर्कनकै लागि महिनौं कुर्नु पर्यो । जहाज चलेनन् । जब जहाज चल्यो तब पालो आएन । बल्लबल्ल घर फर्कने पालो त आयो तब कतिलाई घर फर्कने टिकट काट्नै ऋण लिनु पर्यो ।
परदेशबाट आउनलेलाई गाउँ समाजमा पनि पहिलेजस्तो स्वागत हुँदैन । विदेशबाट आएकाले कोरोना नै पो ल्याए कि, सरी नै हाल्छ कि भन्ने त्रासमा गुज्रिएको समयमा घर फर्कन उपयुक्त लागेन साउदीमा कार्यरत मिलन सिंहलाई ।
‘दशैँ तिहारभन्दा मन कटक्क काटेको छ, तर के गर्नु घरमा छोराछोरीको लुगा फाटेको छ, कमाउने आशमा परदेश आउन ऋण काढेको छ, घर आउने मन लागेर मात्र नहुँदो रहेछ’ मिलन मन अमिलोे बनाउँदै भन्नुहुन्छ ।
खाडीको देश । अरबी कानुन । कस्ले बुझ्ने भावना । न दशैँ, न तिहार । हुन त कमाउन अर्काको देश पुग्नेले अरुसँग के गुनासो गर्नुजस्तो लाग्छ मिलनलाई । तर पनि मन मान्दैन । काम गरिरहँदासम्म त ठिकै तर काम सकिएर कोठामा गएपछि मन मान्दैन ।
‘सम्झना त नेपालकै छ, तर यहाँ महामारीमा पनि काम मिलेको छ, कसरी घर आउनु,’ मिलन भन्नुहुन्छ, ‘परिवार र देशको मायाले जिन्दगी चल्ने भए अर्काको देशमा किन आउनु पथ्र्यो र, अहिले परदेशमा दुःख पाएर गएको भए पनि गाउँसमाजले कठै भन्दैन, काम चलिरहेको छ के जानु घर ।’
घर फर्किएर समाजमा अपहेलित हुनुभन्दा, काम नपाएर यसै बस्नुभन्दा दुःख र जोखिम नै भए पनि महामारी केही साम्य नहुँदासम्म घर नफर्कने मन बनाउनुभएको छ मिलनले ।
आशीष मोक्तान पनि योपालिको दशैँ खाडीमै मनाउँदैछु भन्नुहुन्छ । कोरोना महामारी भए पनि जहाज उड्दा, घर जान्छु भन्दा आशीषलाई कम्पनीले रोक्दैन । तर घर फर्कन सजिलो छैन । महंगो टिकट । त्यसमाथि टिकट काट्न पनि सास्ती नै छ । घर फर्किंदा पालना गर्नुपर्ने स्वास्थ्यका मापदण्ड । अनि कोरोना सङ्क्रमणको डर । जति नै सुरक्षित भए भने पनि कोरोना लाग्दैन भन्ने भर छैन ।
‘नेपालमा आएपछि पनि कहाँ पहिलेजस्तो सहज छ र, क्वरेण्टीनमा बस्न पर्यो, न आफ्नालाई भेट्न सकिन्छ, यदि बाटोमै सङ्क्रमण भइहाल्यो भने आफू मात्र हो र परिवारको स्वास्थ्य समेत जोखिममा पर्छ,’ आशीष भन्नुहुन्छ, ‘मन हुँदाहुँदै पनि परिस्थितिले योपालि घर नआउने बनायो, नमरी बाँचे अर्को साल आउछु है आमा भनेको छु ।’
अहिले मलेसियामा कार्यरत छत्र लकाइ खड्काले परिवारको साथमा दशैँ मनाउन नपाएको एक दशक भयो । अहिले पनि उहाँ मलेसियामै हुनुहुन्छ । दिनको १२ घण्टा ड्युटी छ । बिरामी होस् या अन्य समस्या काममा नगइ सुखै छैन । दशैँमा बिदा त कहाँबाट पाउनु ?
मलेसियमा सुरक्षा गार्डको रुपमा कार्यरत छत्र योपालिको दशैँमा पनि अरुकै सुरक्षाका लागि खटिने हो भन्नुहुन्छ ।
‘निधारमा अक्षता, कानमा जमरा र आफन्तको आशीर्वाद नपाएको दशक बढी भयो, यी कुरा सम्झियो भने त भक्कानो फुटेर आउँछ तर बाध्यता छ, अर्काको देशमा आफ्नो चाडबाड सम्झिएर कहाँ पाइयो र,’ छत्र चित्त बुझाउनुहुन्छ ।
परदेशीले कोरोना महामारीपछि केही समयसम्म घर फर्कन निकै कष्ट सहन पर्यो । महामारी सुरु भएपछि आकाशमा जहाजहरु उडेनन् । सडकमा गाडी गुडेनन् ।
सबैतिर एकाएक बन्द हुँदा परदेशमा समस्यामा पर्नेहरु झन आत्तिए । झण्डै तीन महिनापछि चार्टर्ड जहाज उड्न थाले । तर ती जहाजमा घर फर्कने पालो आउन मुश्किल पर्यो ।
खाडीका ६ देश मलेसिया र दक्षिण कोरियाबाट मात्रै झण्डै १ लाख २५ हजार जनाले स्वदेश फर्कनका लागि दूतावासमा निवेदन दिए । संसारका ३२ देशबाट कोरोना महामारी सुरु भएपछि अहिलेसम्म १ लाख ६ हजारभन्दा धेरै नेपाली स्वदेश फर्किएका छन् ।
खाडी र मलेसियाबाट निवेदन दिनेलाई प्राथमिकताको आधारमा दूतावासले घर पठाए । तर अहिले यो अवस्था सहज हुँदै गएको छ । खाडीका केही देश, मलेसिया र दक्षिण कोरियाबाट नियमित उडान हुन थालेको पनि एक महिनाभन्दा धेरै हुन थाल्यो ।
सरकारले नियमित उडान खुलाएपछि घर फर्कन दूतावासमा नाम दर्ता गराउनुपर्ने र दूतावासको सूचीअनुसार मात्रै घर फर्कन पाउने नियम पनि हट्यो । खाडीको देश यूएई, कतार साउदीको रियाद र ओमानबाट अहिले नियमित उडान भइरहेको छ भने मलेसियाबाट पनि नियमित उडान नै छ ।
अब सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर घर आउन पाइन्छ । तर जोखिम कायमै रहेकाले धेरै परदेशीले दशैँमा घर फर्कने मनस्थिति फेरेका छन् ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।