नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
इलाम – परदेशमा रोजगारी गुम्यो, रित्तो हात घर फर्कनु पर्यो । देशमा पनि कोरोना सङ्क्रमण बढिरहेको छ । यस्तो बेला के गर्ने त ?
इलाम नगरपालिका ६ का बुद्धिमान राई भन्नुहुन्छ, ‘तपाईँको घरमा उपलब्ध कामहरु जे छन् त्यही गर्नुस्, पैसा कमाउन ठूलो काम, व्यवसाय वा जागिर गर्नुपर्छ भन्ने सोच त्याग्नुस् ।’
कामलाई सानो ठूलो मानेको भए, कमाइ त परदेशमा पो हुन्छ, स्वदेशमा बाख्रा, कुखुरा पालेर खेती गरेर केही पनि हुँदैन भन्ने सोचेको भए सायद बुद्धिमानको दिन आज कि त बेरोजगार भएर बित्थ्यो होला, कि त परदेशमै । तर बुद्धिमानले बेलैमा बुद्धि पुर्याउनुभयो । तर अहिले संसारलाई कोरोनाले पिरोलेको बेलामा पनि उहाँलाई न कामको चिन्ता छ न कमाइको ।
२०६४ सालमा बुद्धिमान रोजगारी खोज्दै मलेसिया पुग्नुभयो । आज आफ्नै देशमा आफैं स्वरोजगार बन्नुभएका उहाँलाई त्यो परदेशी विगत सम्झन मन लाग्दैन । किनकी परदेशमा बिताएको त्यो पलले उहाँलाई आज पनि पोल्छ । १० वर्षअघि परदेशिनुको साटो देशमै केही गरेको भए थप प्रगती हुन्थ्यो भन्ने लाग्छ ।
‘विदेशमा गरेको दुःख यहीँ गरेको भए आज यहाँ अझै प्रगती गर्थें होला, त्यो क्षण सम्झँदा नमिठो लाग्छ, मन पछुतोले भरिन्छ,’ बुद्धिमान पछुतो मान्दै भन्नुहुन्छ ।
घरमा अर्थिक अभाव । देशमा कमाउने बाटो छैन । के गर्ने त ? २०६४ सालमा मलेसिया लाग्दा उहाँको अगाडि मात्र एउटा विकल्प थियो परदेश । १० वर्ष परदेशमै बिताउनुभयो । १० वर्षको कमाइले छोराछोरी पढाउनुभयो ।
बालबच्चा राम्रोसँग बढाउने धोको त पूरा भयो । तर अभाव भने जस्ताको तस्तै । परदेशको कमाइ त खहरे खोलाजस्तै लाग्यो उहाँलाई । परदेशमा कमाउन्जेल छ, कमाउन छाडेको भोलिपल्ट उस्तै । परदेश हिँडेको दिन जस्तै खाली।
‘त्यतिका वर्ष विदेशमा बस्दा पनि के भयो त ? मैले धेरै सोचें, अब परदेश नहुने रहेछ भन्ने लाग्यो,’ बुद्धिमान भन्नुहुन्छ, ‘जति होस् देशमै केही गर्छ भनेर नै मैले यहीँ काम गर्ने योजना बनाएको हुँ ।’
परदेशबाट फर्कंदा पैसाको बिटो ल्याउन नसकेपछि उहाँले दशमै केही गर्ने योजना र सपना लिएर फर्कनुभयो । घर फर्किएपछि २०७५ सालदेखि ‘अनुग्रह उन्नत बाख्राफाम’ दर्ता गरी व्यवसाय सुरु गर्नुभयो ।
आफ्नै पाखोबारी खनजोत गर्नुभयो र रोप्नुभयो एभोगाडो, कफी, कागती, सुन्तला तथा मेन्डुला, इपिलिपी, सुपरनेपियर जातका घाँस पनि । साथै लोकल कुखुरा, बट्टाइ र टर्की चराको साथै सुँगुर र बाख्राकोसमेत व्यवसायिक पालन सुरु गर्नुभयो ।
अहिले त उहाँको व्यवसायले ठूलो पखेटा हालेको छ । लगानी १८ लाख रुपैँया पुगेको छ । छ लाख रुपैयाँ त ऋण नै छ । भौतिक संरचनादेखि विरुवा चौपाया लगायतमा ठूलो रकम खर्च भएको छ ।
बुद्धिमान् भन्नुहुन्छ, ‘यो मेरो पञ्चवर्षीय योजना हो, यसैबाट लागेको ऋण चुक्ता गर्न सक्छु भन्ने विश्वास छ ।’
यो व्यवसाय सुरु गर्दा उहाँले विभिन्न संघसंस्थाबाट ऋण लिनुभएको छ । आफ्नै बारीले मात्रै नपुगेर उहाँले आफ्नो बाहेक २५ रोपनी जमिन ठेक्कामासमेत लिएर मेहनत गरिरहनुभएको छ । परिवार नै मिलेर काम गरिरहनुभएको छ । भन्नुहुन्छ, ‘मेहनत गरिरहेको छु, त्यसको फल पनि पाउँछु भन्नेमा म विश्वस्त छु ।’
बुद्धिमान आफ्नो अनुभव र युवाको चाहना अनुसार देशमै केही गर्न खोज्नेलाई व्यवसायिक योजना बनाउन पछि सघाउनुहुन्छ ।
उहाँले बितेका एक वर्षमा धेरै युवालाई देशमै केही गर्न व्यवसायिक योजना बनाउन पनि सघाउनुभएको छ ।
उहाँले आफ्नो अनुभवका आधारमा व्यवसायिक योजनामा कस्तो भूगोलमा कुन व्यवसाय हुन्छ, कति लगानी लाग्छ, लगानी खेर जान नदिनको लागि कसरी व्यवसाय सुरु गर्ने, बैंकबाट ऋण लिन परे यसको प्रक्रिया कस्तो हुन्छ, उन्नत जात कुन हो, कहाँबाट किन्ने, कस्तो घाँस रोप्ने, लगायतका कुराहरु सिकाउनुहुन्छ ।
‘केही गर्न सक्दिन’ भन्ने निराश मनलाई काममा अभिप्रेरित गर्ने कार्यमा व्यस्त रहनु पनि बुद्धिमानको दैनिकीमा नै पर्छ । इलाममा मात्रै उहाँकै परामर्शमा सात जनाले व्यवसाय सुरु गरेको उहाँ बताउनुहुन्छ ।
‘विदेश पुगेर फर्केकालाई मात्रै रोक्न सकियो, पहिलो पटक परदेश जाने सोच बनाएकाहरुलाई भने रोक्नै नसकिने रैछ,’ बुद्धिमान भन्नुहुन्छ ‘जानेलाई रोक्न नसके पनि, गएर आएकालाई नजाने भने बनाइयो ।’ बुद्धिमान आफूले स्वदेशमा थालेको काम र मिलेको सफलतामा सन्तुष्ट हुनुहुन्छ ।
भन्नुहुन्छ, ‘सकेसम्म परदेश नजानुस्, जानुभएको छ भने पनि परदेशको अनुभवलाई स्वदेशमा लगाउनुस्, आफ्नै देशमा केही गर्नुहोस् ।’