नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – घरको काम गरेकै हो । बोल्न जानेकै हो । तर त्यही गरिरहने काम र बोलिरहने भाषा काम नलागेको दिन कस्तो होला ? आजभन्दा १७ वर्षअघि कुवेत पुगेर यस्तै अनुभव गर्नुभएकी सुनसरीकी दिलु गजमेर भन्नुहुन्छ, मरेतुल्य हुने रहेछ । त्यसैले त १७ वर्षपछि पनि उहाँलाई लाग्ने गर्छ, ‘सीप र भाषा सिकेर जान पाएको भए !’
तर त्यो बेला परदेशमा दुई चार पैसा कमाउने दिलुको आशमा मलजल गर्दै एजेण्टले ढाँटेका थिए – अफिसभित्रै बस्नुपर्ने काम हो, कमाइ पनि टन्न हुन्छ । त्यो बेला न अहिलेजस्तो परदेशका बारेमा जानकारी लिने ठाउँ थियो, न त के सही के गलत भनिदिने कोही । दिलुसँग एक मात्र विकल्प उनै एजेण्टको कुरामा विश्वास गर्नु नै थियो ।
सपनाको ठूलो पोकोसहित सन् २००३ मा बम्बईको बिमास्थलबाट एजेण्टले कुवेत पठाइदिए । न श्रम स्वीकृति लिनुभएको थियो, न त उहाँ कुवेत गएको हो भन्ने रेकर्ड सरकारसँग भयो । जे भए पनि राम्रै कमाउने उहाँको धोको थियो ।
स्वदेशमा कल्पना गरेको परदेश र भोग्दाको परदेश एकै किन हुन्थ्यो र ! एजेण्टले भन्न त अफिसकै काम भनेका थिए । त्यहाँ पुगेपछि काम घरमा पर्यो ।
न काम जान्नु, न त घरका मानिसले बोलेको भाषा बुझ्नु । दिलुले भाषा र घरकै काम गर्ने सीप नहुँदा सोच्दै नसोचेको अप्ठेराहरु सहनु पर्यो । कमाउन सपना उतै बिसाएर झण्डै एक वर्ष दुःख र हण्डर खेपेर फर्कन पर्यो ।
‘भाषा र सीप नसिकी विदेश जानु भनेको मर्न जानु सरह रहेछ, न उनीहरुले भनेको बुझ्ने न आफूले नजानेको कुरा सोध्न सकिने’ दिलु आफ्नो भोगाइ सम्झंदै भन्नुहुन्छ, ‘भाषा र काम नजान्ने भएपछि त्यहाँ मानिसले मानिसलाई मानवताको व्यवहार गर्दा रहेनछन् ।’
घरपरिवार छाडेर परदेश जानु, त्यसमाथि काम र भाषा नबुझ्नु । दिलुको भोगाइमा घरेलु श्रममा जानेलाई त्यहीँबाट हिंसा सुरु हुन्छ र श्रम शोषण हुन थाल्छ ।
काम गर्ने ठाउँमा सही व्यवहार नहुँदा परदेशिनेलाई पनि गाह्रो हुन्छ । एकातिर परिवारबाट टाढा हुँदाको चिन्ता हुन्छ भने अर्कोतर्फ काम नजान्दा रोजगारदाताले दिने तनाब । यी दुवै कुरालाई सहेर र त्यसबाट सिकेर अघि बढ्न नसके चरम हिंसा र दुव्र्यवहार भोग्नुपर्ने परिस्थिती पनि आउन सक्छ ।
त्यसैले पनि परदेशिने तयारी गरिरहेकालाई दिलुको पहिलो सुझाव छ – सीप र भाषा सिकेर जानुहोस्, आफू जाने देश र त्यहाँको भेशबारे राम्रोसँग जानकारी राख्नुहोस् ।
त्यही कुरा नगर्दा दिलुलाई काम गर्न कठिन भयो । सहज काम पनि गर्ने तरिका नजान्दा असहज भइदियो । जसबाट मानसिक मात्र होइन शारीरिक पीडासमेत सहनु गर्यो ।
‘सामान्य मैलो कपडामा कति के केमिकल राखेर मेशिनमा राख्ने भन्ने कुरा नजान्दा मेरो , सबै हात केमिकलले खाइदिएको थियो,’ दिलु सुनाउनुहुन्छ, ‘न मेशिन चलाउन जान्नु, न त त्यहाँको खानेकुराको नाम जान्नु । घरको काम त हो नि भनेर खेलाँची गर्दा निकै दुःख हुने रहेछ ।’
काम नजान्दाको परिणाम उहाँको स्वास्थ्यमा असर देखिन थाल्यो । बिस्तारै हात खुट्टा सुनिने, काम गर्न असहज हुने हुन थाल्यो । तर पराइको देश गर्ने के त ? रोजगारदाताले न अस्पताल लगिदिए, न त घरमा कुनै औषधि दिए ।
त्यसपछि दिलुले ज्यानकै बाजी थापेर थप कदम चाल्नुभयो । घर नपठाइदिए ज्यान फाल्ने धम्की दिनुभयो ।
‘त्यो समयमा मलाई उनीहरुले मारेर फालिदिएको भए पनि नेपाल सरकारले केही गर्न सक्ने थिएन, तर मेरो भाग्य बालियो भनौं मलाई रोजगारदाताले घर पठाइदियो,’ दिलु त्यो कालो दिन सम्झँदै भन्नुहुन्छ, ‘मैले त मलाई कि घर पठाइदेउ कि त मैले काम गरेको पैसा देउ नत्र म तिम्रो नाममा पत्र लेखेर यहीँ मर्छु भन्दिएँ ।’
रोजगारदाताले घर त पठाइदियो । तर झण्डै ९ महिना ज्यानको माया नगरी गरेको कामबापतको तलब भने दिएन । परदेशमा कमाउने सपना बोकेर सानो तीन वर्षे छोरा छाडेर परदेश लागेकी एउटी आमा रित्तो हात घर फर्कनुपर्यो।
तर त्यो परिस्थितिमा आफू पुग्नुमा आज दिलु रोजगारदातालाई मात्र दोषी देख्नु हुन्न । काम र भाषा नजान्नु आफ्नो गल्ती पनि मान्नुहुन्छ ।
दिलुलाई लाग्छ, आजभन्दा १७ वर्षअघिको आफ्नो वैदेशिक रोजगारी असफल हुनुको एक मात्र कारण भाषा र हातमा सीप नहुनु थियो । अनि अर्को चाहिँ अवैधानिक बाटो हुँदै एजेण्टको पछि लागेर भारतको बाटो हुँदै परदेशिनु पनि हो ।
अहिले त समयले फन्को मारिसक्यो । धेरैको हातहातमा प्रविधि छन् । घरमै बसेर पनि परदेशको बारेमा जान्न तथा काम र कमाइको बारेमा सोधीखोजी गर्न सकिन्छ । तर पनि १७ वर्षअघि दिलुले अपनाएकै तरिकाबाट परदेश जानेहरु रोकिएका छैनन् ।
दिलु परदेश जाँदाको र अहिलेको अवस्था फरक छ । त्यो बेलामा दिलुले चाहेर पनि परदेश जाने सही तरिकाबारेमा जान्न र बुझ्न सक्नु भएको थिएन । तर अहिले त सरकारले आफैंले खाडीका देशमा महिला श्रमिक जोखिममा परेको भन्दै पठाउन रोक लगाएको छ ।
विभिन्न संघसंस्थादेखि सञ्चार माध्यममार्फत पनि सरकारले प्रतिबन्ध लगाएको देशमा लुकीछिपी गैरकानुनी रुपमा परदेश जानु गलत हो भनेर सूचना प्रवाह भइरहेका छन् । दिलु भन्नुहुन्छ, ‘तर पनि धेरैले जानेर या नजानेर गल्ती गरिरहनुभएकै हुन्छ, बिन्ती त्यसो नगर्नुहोस् ।’
दिलुको अनुभवले भन्छ – बुझेर, सरकारसँग श्रम स्वीकृति लिएर जाँदा निकै राम्रो हुन्छ । दिलु पनि २०६९ सालमा पुनः कम्पनीको काममा श्रम स्वीकृति लिएर नै यूएई पुग्नुभएको थियो ।
यसरी परदेश जाँदा उहाँलाई पहिलो पटक भारतको बाटो हुँदै जाँदाको जस्तो असहज भएन । रोजगारदाताको तनाब सहनु परेन । रित्तो हात घर फर्कनु परेन । कमाइ गरेरै घर फर्कनुभयो ।
गलत बाटोको प्रयोग गर्दा न भनेको काम मिल्यो, न त काम गरेबापतको तलब । बिरामी पर्दा उपचारको सट्टा साहुनीको गाली र वचन सुन्नु पर्यो ।
आज प्रविधिले फड्को मारेको युगमा पनि धेरै महिला दिदीबहिनीले त्यही दुःख भोगेको देख्दा दिलुको मन चसक्क हुन्छ ।
धेरैलाई लाग्छ, दुःख त देशमा मात्र छ । परदेशमा त पैसाको रुख छ । तर लाग्नु र भोग्नु फरक कुरा हुन । हातमा सीप र साथमा ज्ञान लिएर गए परदेशमा पनि सुखको संसार छ । तर बुझ्दै नबुझी, सोच्दै नसोची अरुकै भरमा परदेशिनु भनेको जानीजानी समुद्रमा हामफाल्नु सरह हाे ।
आफ्नो यही अनुभवबाट अरुलाई यस्तो दुःखमा फस्न नदिन दिलुले हरदम प्रयास गरिरहनुभएको छ । कुवेतमा हण्डर खेपेर फर्केदेखि नै उहाँ पौरखी नेपालमा आवद्ध भएर वैदेशिक रोजगारीमा जाने तयारीमा रहेकाहरुलाई सही सूचना र जानकारी दिने काम गरिरहनुभएको छ । अहिले त उहाँ पौरखी नेपालको जिल्ला समन्वय समिति सुनसरीको अध्यक्ष हुनुहुन्छ ।
परदेश जाने तयारीमा रहेकाहरुका साथमा अनेकन कथा व्यथा हुन्छन् । कोही एकल महिला हुन्छन् त कोही श्रीमान–श्रीमतीको सम्बन्ध बिग्रिएर समाजबाट हेला भएकाहरु हुन्छन् । कोही लहलहैमा परदेशको सपना देख्नेहरु छन् त कोही साँच्चै कमाउने आशमा परदेशको तयारी गरिरहेका हुन्छन् । उनीहरु सबैलाई दिलु भन्नुहुन्छ, ‘परदेशको पाइला चाल्नुअघि स्वदेशमै अवसर खोज्नुहोस्, परदेश जान गर्ने लगानी स्वदेशमा लगाउनुहोस् ।’
हैन विदेशै जान्छु भन्नेलाई उहाँ सही सूचना र जानकारी दिनुहुन्छ, जसको अभावमा उहाँले परदेशी भूमिमा सास्ती भोग्नु पर्यो ।
परदेश लाग्नुअघि कम्तिमा पनि आफू जाने देश, गर्ने काम, हुने कमाइ, चाहिने सीप र सामान्य भाषाको जानकारी राख्नु पर्छ । सही बाटो र सही माध्यमबाट परदेश लाग्नु पर्छ । हुने कमाइ र लाग्ने लागतको पनि लेखाजोखा गर्नु पर्छ ।
सुरक्षित वैदेशिक रोजगारीका लागि थुप्रै ऐन कानुन बनेका छन् । श्रमिकलाई ठग्ने र समस्यामा पार्नेलाई कडा कारबाही पनि हुने गरेका छन् । तर पनि कतिपय श्रमिकलाई समस्यामा पर्दा कहाँ र कसरी सम्पर्क गर्ने भन्ने जानकारी नै हुँदैन ।
दिलु भन्नुहुन्छ, ‘परदेश पुगेपछि साथीभाइ र आफन्तसँग नियमित सम्पर्कमा बस्नुपर्छ र आफ्नो अवस्थाबारे जानकारी गराउनुपर्छ ।’ साथै परदेशमा र स्वदेशमा आफूलाई आवश्यकता पर्दा सम्पर्क गर्ने ठाउँबारेका जानकारी, सम्पर्क नम्बरहरु साथैमा राख्नुपर्छ ।
श्रमिकको मुख्य श्रम गन्तव्य देशहरुमा अहिले त नेपाली दूतावासहरु छन् । दूतावासले समस्यामा पर्ने श्रमिकलाई सहयोग गर्छन् । विभिन्न नेपाली समुदायहरू छन् । उनीहरुले पनि समस्यामा पर्ने श्रमिकलाई सहयोग गरिरहेका छन् ।
अर्को महत्वपूर्ण कुरा भनेको अहिले त सामाजिक सञ्जाल छ, जसको माध्यमबाट पनि समस्यामा पर्नेले आफ्नो समस्या बाहिर ल्याउन सक्छन् । र समस्याबाट बच्न सक्छन् ।
४५ वर्ष लाग्नुभएकी दिलुलाई बाचुञ्जेल यस्तै जानकारी बाँड्न मन छ । उहाँको चाहना छ, देशमा जे भए पनि परदेशमा बोलेकोसमेत नबुझ्ने दिनको सामना एक जना नेपालीले पनि गर्न नपरोस् । उहाँ यही अठोटका साथ आफ्नै ठाउँमा जनचेतना फैलाउने काममा लागिरहनुभएको छ ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।
santosh budhathoki magar
Dec. 10, 2020, 3:53 p.m.सर/म्याडम eps अन्तर्गत आगामि परीक्षा कहिले हुन्छ होला institute मा बाट छिटै हुन्छ भन्छ तर ग्वार्को अफिसमा फोन गर्दा कुनै जानकारि छैन भन्छ र फोन गर्दा रिसाउछन पनि कृपया आउने दिनमा यस बारे पनि पोष्ट गर्नुहुने छ भन्ने आशामा..