साउदीबाट घर फर्कने आश नै मरेको थियो

 पुष २, २०७७ बिहीबार ११:५३:५३ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

दिनेश महतो, सर्लाही मलङ्गवा ।

देश छाडेर परदेश गएपछि कमाऔँ, दुई चार लाख त हातैमा लिएर फर्कौं भन्ने हरेकको सपना हुन्छ । मेरो पनि थियो । तर कहिलेकाहीँ ती सपनाहरु यसै बिलाउँदा रहेछन् । सोच्दै नसोचेको दिन र परिस्थितिको सामना गर्नु पर्दोरहेछ परदेशमा ।

आजभन्दा झण्डै ३ वर्षअघि म पनि कमाउने सपना बोकेर परदेश गएको थिएँ । सुरुवातमा त राम्रो नै थियो । भनेअनुसारको नै काम र तलब पाएँ । तर समयसँगै कम्पनीमा विभिन्न असरहरु पर्दै गयो र त्यसको असर हाम्रो तलबमा पर्‍यो ।

कम्पनीले काम त दियो तर तलब दिन छाड्यो । अर्काको देशमा मसँग अर्को विकल्प थिएन, एक दिन त तलब देला नि भन्ने आश थियो । तर आशै आशमा एक वर्ष बित्यो, तर तलब पाइएन । त्यसपछि त हाम्रो कम्पनी नै टुट्यो । त्यसपछि त मेरो पनि  आशै टुट्यो। 

घर फर्कन अकामा थिएन । साउदीमै बसौं गैरकानुनी भइयो । तर अकामा बिना स्वदेश फर्कन सम्भव थिएन । कि त मैले त्यहाँ जेलमा बस्नु पथ्र्यो । त्यसैले मैले गैरकानुनी रुपमा साउदीमै काम गर्न थालें । 

उता कम्पनीमा काम गर्दा एक वर्षको तलबको लागि पनि त्यो कम्पनीमा कार्यरत सबै श्रमिक मिलेर साउदीको श्रम अदालत मुद्दा हालेका थियौं । हामीलाई यसरी मुद्दा लड्दा पैसा पाइन्छ भन्ने पनि थाहा थिएन । त्यो कम्पनीमा भारतीय नागरिकहरु धेरै थिए । भारतकै एक जना वकिलले नै हामीलाई त्यहाँ श्रम अदालतमा मुद्दा दर्ताको लागि सहयोग गरेका थिए । 

साउदीमा बाँच्न त पर्‍यो । गर्ने के त ? जे काम पाइन्छ त्यही गर्थें र जता पाइन्छ त्यतै गरिन्थ्यो । त्यसैगरी बित्दै थियो । तर कोरोना महामारी आएपछि भने नसोचेका समस्याहरु झेल्नु प र्‍यो । खाने कहाँ ? कस्ने कहाँ ? केही भइहालेमा उपचार कसरी गर्ने ? यस्तै समस्याले सताउन थाल्यो । 

एकातिर कोरोनाको डर, अर्कोतिर महामारी । यस्तो भइसक्यो कि अब त केही गर्न सकिंदैन, घर पनि जान पाईँदैन, यतै मरिन्छ कि झैं लाग्न थालेको थियो । साँच्चैभन्दा त त्यो बेलामा मेरो घर फर्कने आश नै मरेको थियो । अकामा नहुँदा साउदीबाट एक्जिट पाईंदैन र एक्जिट नभइ घर फर्कन पनि पाईंदैन । त्यसकारण पनि मलाई घर फर्कन पाउने आश मरेको थियो ।

तर भन्छन् नि हरेक समस्याको समाधान पनि हुन्छ । हो त्यस्तै भयो । मलाई मेरो साथीले  प्रवासी नेपाली समन्वय समितिको नम्बर दियो र उसले नै यो संस्थाले घर फर्कन सहयोग गर्छ भनेर भन्नुभयो । 

साउदीमै रहेका पीएनसीसीका सरलाई मैले फोन गरेर आफ्नो समस्या भनें । उहाँसँग कुरा गरेपछि बल्ल मरेको आश थोरै पलायो । अनि मात्रै मैले जहाजमा उड्दै घर फर्किएको कल्पना गर्न थालें । गैरकानुनी रुपमा काम गर्दा अनेक समस्या हुने रहेछ । साथमा पैसा थिएन, के खाने कहाँ बस्ने, कोरोना लागिहालेमा के होला या अन्य कुनै रोग लागेमा पनि मेडिकल के होला भन्ने डर भयो । 

त्यो बेलामा हामीले दूतावासमा फोन त गरेको हो । तर कहिले नउठ्ने कहिले के हुने त्यस्तै भयो । तर पीएनसीसीको सरले दूतावाससँगै समन्वय गरेर मलाई घर फर्कनका लागि एक्जिट लगाईदिनुभयो । 

पीएनसीसीको सरले त्यो अत्यासको बेलामा आडभरोसा दिनुभयो । भन्नुभयो, ‘चिन्ता नगर केही समय धैर्य गर घर फर्काउने काम म गर्छु ।’ उहाँले त्यस्तो भन्दा यस्तो लाग्थ्यो उहाँ हाम्रो लागि भगवान हो । करिब ६ महिना त्यसैगरी अलपत्र परियो । भन्न त पीएनसीसीबाट केही खानेकुरा नभएमा भन भन्नुभएको थियो । तर खानेकुरामा त मलाई केही नेपाली साथीहरुले नै सहयोग गर्नुभएको थियो र भोकै बस्न परेन । 

त्यो बेलामा हामीले दूतावासमा फोन त गरेको हो । तर कहिले नउठ्ने कहिले के हुने त्यस्तै भयो । तर पीएनसीसीको सरले दूतावाससँगै समन्वय गरेर मलाई घर फर्कनका लागि एक्जिट लगाईदिनुभयो । 

साँच्चै भन्दा मैले त्यो महामारीको समयमा पनि घर फर्कनका लागि टिकट काट्न मात्र हो, नत्र कोठामै बसेर सबै काम भयो । उहाँले नै सबै कागजात अनलाइनबाटै लिनुभयो र काम गरिदिनुभयो ।

टिकट काट्न भने केही समस्या भयो । एक दिन पूरै लाइन बस्न पर्‍यो । मलाई त त्यो बेलामा अरु केही चाहिएको थिएन । दूतावास र पीएनसीसीको सरलाई मैले भेनेको थिएँ मलाई जसरी भए पनि घर पठाइदिनुहोस्, अरु केही चाहिँदैन । मेरो मनमा एउटा मात्र कामना थियो कि म नेपाल फर्कन पाउँ भन्ने । 

नभन्दै मेरो कामना पूरा भयो । मैले एक्जिट पाएपछि साथीभाइसँग पैसा सापटी मागेर टिकट काटें । मेरो लागि त्यो समयमा ऋणभन्दा पनि ज्यान प्यारो भएको थियो ।

काठमाण्डौ आएपछि पनि एक हप्ता होटल क्वरेण्टीनमा बस्न पर्यो‍ । त्यो खर्च पनि आफैंले गरेको हो ।

त्यति खर्च गर्दा म रित्तो भइसकेको थिएँ । साथमा एक रुपैयाँ पनि बाँकी रहेन । काठमाण्डौबाट आउने पैसासमेत साथमा थिएन । तर मलाई घर आउनका लागि खर्च पनि पीएनसीसीले नै सहयोग गर्‍यो ।

मैले त हिम्मत नै हारेका अवस्था थियो । तर अप्ठेरो पर्‍यो भन्दैमा आत्तिन नहुने रहेछ । धैर्य गर्दा सबैको दिन आउँदो रहेछ । 

सपना त परदेशिने कसको हुँदैन होला र ? टन्न कमाएर फर्कौं, घर फर्किंदा आफ्नाका लागि केही बोकौं । तर आफूले त परदेशमा छँदा के मात्र भोग्नु परेन । दुई पटक त जेल नै परें । साउदी प्रहरीको लात्ती खानु प र्‍यो ।
मेरो अवस्था यस्तो थियो कि म सोच्थें अब यो जुनी यसै बित्ने भयो । आज म यो भन्छु कि पीएनसीसीको सरसँग मेरो सम्पर्क भएको थिएन भने म आज नेपालमा हुने थिइनँ ।

मैले त हिम्मत नै हारेका अवस्था थियो । तर अप्ठेरो पर्‍यो भन्दैमा आत्तिन नहुने रहेछ । धैर्य गर्दा सबैको दिन आउँदो रहेछ । 

अहिले घरमा आएँ । सुखको सास फेर्न पाएको छु । दुःख त लाग्छ । काम पाएको छैन । हातमा गाडी चलाउने सीप छ । उता साउदीमा पनि कम्पनीमा चलाएको हो । तर लाइसेन्स छैन । लाइसेन्स नभइ यहाँ काम पाउने कुरा पनि भएन । अहिले कोरोनाको कारणले लाइसेन्स खुलेको पनि छैन ।

जे होस् एक दिन खुल्ला भन्ने आश  छ । अब त लाइसेन्स बनाएर यहीं केही काम गर्छु । मरे पनि म त्यो अरुको देशमा जाँदिन । त्यस्तो हुन्छ भन्ने पहिले थाहा भएको भए त त्यो बेला पनि जाने थिइनँ कि ? 

अब कम्पनीबाट मेरो एकसालको तलब १२ हजार साउदी रियाल अर्थात झण्डै तीन लाख ७६ हजार रुपैयाँ आउनेछ, त्यो पैसा आयो भने म यहीं केही गर्छु । त्यो मुद्दा त हामीले जितीसकेका छौं । अब मात्र पैसा आउन बाँकी छ ।अहिले २६ वर्षको भएँ, उमेर छ देशमै पनि केही गर्न सकिएला । हामी जस्तालाई सरकारले पनि सहयोग गर्ला भन्ने आश गरेको छु ।

तपाईको प्रतिक्रिया