नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
बुवाको लागि आफ्ना छोराछोरी सबैभन्दा प्यारा हुन्छन् । म पनि मेरो बुवाको प्यारी छोरी थिएँ । आमा, बुवा, बहिनी र म, सानो सुखी परिवार । हाम्रो भविष्य उज्ज्वल पार्न बुवा रोजगारीको लागि तीन वर्ष पहिले साउदी अरब जानुभएको थियो ।
कहिलेकाहीँ फोनमा बुवासँग कुरा हुन्थ्यो । बुवाले हाँसेर बोलेको दिन मन त्यसैत्यसै फुरुङ्ग भइहाल्थ्यो । तर बुवाले ‘आज अलि सञ्चो छैन छोरी’ भन्दा मेरा आँखा रसाउँथे । बुवालाई सञ्चो नभएसम्म मलाई खाना पनि रुच्दैन थियो ।
मेरो बुवाको नाम जितबहादुर कुमाल हो । हाम्रो बसाइ मध्यबिन्दु नगरपालिका १५ नवलपरासीमा छ । चैतको महिना । कोरोनाको कारण नेपालमा लकडाउन सुरु भइसकेको थियो । चैत २० गते साउदीबाट बुवाको साथीले फोन गर्नुभयो । मैले फोन उठाएँ । फोनमा उहाँले भन्नुभयो, ‘नानु जितबहादूर जीलाई सञ्चो नभएर अस्पतालमा भर्ना गरेका छौं, डराउनुपर्ने केही छैन, नआत्तिनु ल ?’
बुवामा उच्च रक्तचाप थियो । ‘ब्रेन ह्यामरेज’ भएर बेहोस हुनुभएको रहेछ । बुवाको साथीसँग फोन हुँदा उपचार भइरहेको छ भन्नुहुन्थ्यो । बुवाले काम गर्ने कम्पनीसँग त हाम्रो सम्पर्क नै थिएन । तर साथीले पनि भेट्न जान पाएको छैन भनेर भन्नुहुन्थ्यो । त्यतिबेला त बुवाको साथीले भेट्न जान पाए पनि केही त हुन्थ्यो होला जस्तो लाग्थ्यो । के भयो होला, पानी खान पाउनुभएको होला कि नहोला जस्ता अनेक तर्कनाले मनमा बेचैनी छाउँथ्यो । कतिबेला त बुवालाई केही पो भइहाल्यो कि भनेर डर लाग्थ्यो ।
वैशाख १ गते त बुवा बित्नुभएको खबर आयो । विश्वास नै लागेन । तर मेरो अविश्वासलाई चिर्न न त म साउदी जान सक्थें, न त सही सूचना लिनका लागि अरु कुनै विकल्प छन् भन्ने थाहा थियो । तर त्यो बेलामा मेरो दिमागमा एउटा कुरा आयो ।
विदेशमा दुःख परेकालाई सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गत आप्रवासी स्रोत केन्द्रले सहयोग गर्छ र सूचना पनि दिन्छ भन्ने सुनेको थिएँ । त्यसपछि मैले त्यो कुरा सत्य हो कि होइन भनेर पक्का गर्नको लागि आप्रवासी स्रोत केन्द्रमा सम्पर्क गरेँ । केन्द्रले साउदीमा फोन गरेर बुझ्नुभयो र बुवाको मृत्यु भएकै हो भन्नुभयो ।
चैतको २९ गते नै बुवाको ज्यान गएको रहेछ । हामीलाई तीन दिनपछि जानकारी मिल्यो । त्यतिबेला आफूलाई अब मेरो दुनियाँमा कोही रहेन जस्तो लाग्यो । म बेहोसझैं भएँ । तर घरको जेठी छोरी थिएँ म । आमालाई र बहिनीलाई पनि सम्हाल्नुपर्ने मैले नै थियो । सायद त्यो क्षण मेरो जीवनको सबैभन्दा कठोर क्षण थियो ।
त्यो बीचमा कावासोतीमा रहको आप्रवासी स्रोत केन्द्र र प्रवासी नेपाली समन्वय समिति पीएनसीसीसँग सम्पर्क हुन थालेको थियो । साउदीमा सम्पर्क गरेर जानकारी लिन उहाँहरुले धेरै सहयोग गर्नुभएको थियो ।
हुने हार दैव नटार भन्छन् नि । जे हुनु थियो त्यो त भइहाल्यो । त्यसपछि शव कसरी ल्याउने भन्ने चिन्ता भयो । लकडाउन सुरु भएको थियो । जहाज बन्द थिए । शव ल्याउन गाह्रो थियो । साउदीमा फोन गर्दा पनि कोरोनाका कारण शव ल्याउन सकिंदैन, उतै अन्त्येष्टि गर्नुपर्छ भन्ने खालका सुझावहरु आउँथे ।
पीएनसीसीमा फोन गरेँ । उताबाट आत्मबल बढाउने काम गर्नुभयो । नआत्तिन र धैर्यधारण गरेर बस्न भनिरहनुभयो । त्यतिबेला निकै पीडा हुन्थ्यो ।
यस्तो कोरोनाको बेला शव नेपाल ल्याउन ६ महिना, एक वर्ष पनि लाग्न सक्छ भन्ने सुनिन्थ्यो । तर हामी शव आउँछ भने जति नै समय भए पनि कुर्न तयार थियौं । बुवा कोरोना लागेर बित्नुभएको होइन, अरु नै कारणले बित्नुभएको थियो । जसरी भए पनि बुवाको शव चाहिन्छ भनेका थियौं । किनकी हामी आफ्नो मान्छेको अनुहार अन्तिम पटक हेर्न चाहान्थ्यौं । आफ्नो मान्छेको शव आफ्नो आँखाले देखेपछि मात्रै काजकिरिया गर्छौँ भनेर हामी बसेका थियौं ।
पीएनसीसीले पनि तपाईंहरु पर्खनुहुन्छ भने हामी प्रक्रिया अगाडि बढाउँछौ भन्नुभयो । जे होस् जहाज खुलिसकेपछि प्रक्रिया सुरु भयो र शव नेपाल ल्याउन सफल भयौंैं । त्यहाँ समस्यामा रहेका नेपाली लिनका लागि गएका जहाजमा नै तीन महिनापछि मेरो बुवाको शव पनि नेपाल आएको थियो ।
शव काठमाण्डौ त आयो तर घर कसरी ल्याउने ? त्यतिखेर कोरोनाको महामारी थियो, काठमाण्डौसम्म जान सक्ने अवस्था थिएन । हाम्रो घरमा त जाने मान्छे पनि कोही हुनुहुन्न थियो । घरमा पुरुष कोही हुनुहुन्न । आप्रवासी स्रोत केन्द्रले नै हामीलाई सबै जानकारी दियो । वैदेशिक रोजगार बोर्डले नै शव ल्याइदिन्छ भनेर जानकारी पाइयो । नत्र त त्यही जानकारी नहुँदा पनि हामीलाई आइसकेको शव बुझ्न पनि धेरै दुःख हुने थियो । त्यसपछि असारको ११ गते बल्ल शव घर आइपुग्यो ।
शव घर आइपुगेको दिन त बित्नुभएको खबर पाएको दिनभन्दा बढी रुवाबासी चल्यो । तर दुःख सबैलाई पर्छ भनेर नै चित्त बुझाइयो । त्यतिबेला हाम्रो बुवाको मात्र ज्यान गएको थिएन । विदेशमा अरु धेरै नेपालीले पनि ज्यान गुमाएका थिए । त्यसैले अरुको समस्या सम्झेर पनि आफ्नो चित्त बुझाइन्थ्यो ।
त्यो दुःखको बेला हामीलाई कहाँ के गर्ने, के कागजात चाहिने भन्ने केही थाहा थिएन । सबै कुरा आप्रवासी स्रोत केन्द्रले नै सम्झाइदियो । आर्थिक सहायता लिन म र आमा काठमाण्डौ गएका थियौं । बोर्ड र बीमामार्फत पाइने आर्थिक सहायता लिन पनि आवश्यक कागजात जुटाउनदेखि बोर्डसम्म पुगेर थप प्रक्रिया गर्न पीएनसीसी र आप्रवासी स्रोत केन्द्रको सहयोग मिल्यो ।
वैदेशिक रोजगार बोर्डमार्फतको पाउनुपर्ने आर्थिक सहयोग पनि हामीले पायौं । अहिले त आफूले नै सबै कुरा बुझियो । त्यही भएर गाउँघरका अरु मानिसलाई यस्तो समस्या भएको बेला सहयोग गर्ने र आफूले जानेको कुरा भन्ने गरेको छु ।