उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
लमजुङ – पुर्ख्याैली थलो गोरखा अजिरकोट हो, कुमबहादुर परियारको । तर विगत १२ वर्षदेखि लमजुङको सुन्दरबजार नगरपालिका–७ मा परिवारका साथ बस्दै आउनुभएको छ उहाँ ।
परिवारको गुजारा चलाउनकै लागि उहाँ परदेश भासिनुभयो । ४ वर्ष मलेसिया र ४ वर्ष साउदीमा बिताउनुभयो । तर परदेशको जागिर दुःख धेरै, कमाइ कम । त्यसैले हाेला परदेशमा श्रम–पसिना बगाउँदा पनि उहाँका सुखका दिन फिरेनन् ।
परदेशको कमाइले पनि परिवारको गुजारा चलाउनै सकस भयो, कुमबहादुरलाई । त्यसैले उहाँलाई विदेशमा बसिरहन मन लागेन । बरु गाउँघरकै माटोमा दुःख गर्छु, श्रम–पसिना बगाउँछु भन्ने सोचका साथ उहाँ स्वदेश फर्कनुभयो ।
‘गरिखानलाई जग्गा जमिन पनि थिएन । परिवारको गुजारा चलाउन विदेश गइयो । दुःख गरियो । तर विदेशमा पनि खासै कमाइ भएन,’ उहाँले निराशा व्यक्त गर्दै भन्नुभयो, ‘विदेशमा पनि राम्रो नभएपछि गाउँघरकै माटोमा पसिना बगाउँछु भनेर स्वदेश फर्किएँ ।’
अहिले उहाँले ऋण लिएरै भएपनि कृषि व्यवसायमा लगानी गर्नुभएको छ । उहाँसँगै अरु ७ जना स्थानीय युवा मिलेर गाउँमै सामूहिक कृषि व्यवसाय सुरु गरेका छन् । ‘तार्कुटार एकीकृत कृषि फर्म’ दर्ता गरी गएको २ महिनादेखि उनीहरुले व्यावसायिक रुपमा बंगुरपालन र माछापालन व्यवसाय सुरु गरेका हुन् ।
‘गर्न सके यहीँ कमाउन सकिन्छ । जीवन सजिलै चलाउन सकिन्छ भनेर साथीभाइसँग मिलेर सामूहिक रुपमा कृषि उद्यम गरेका छौँ,’ कुमबहादुरले भन्नुभयो ।
फर्म, लमजुङको सुन्दरबजार नगरपालिका–६, बारीगाउँमा छ । झण्डै १७ रोपनी जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गर्नुभएकाे छ । फर्ममा अहिले सानाठूला गरी २१ वटा बंगुर पालिएका छन् । ३ वटा माछापोखरी बनाइएको छ । २ वटा पोखरीमा ग्रास कार्प, सिल्भर कार्प र रहु जातका माछाका भुरा राखिएका छन् ।
बंगुरको खोर निर्माणमा ९ लाख, बंगुरका पाठापाठी खरिदमा २ लाख र माछापोखरी निर्माणमा १ लाख गरी १२ लाख लगानी भइसकेको लगानीकर्तामध्येका एक निलकमल सापकोटाले बताउनुभयो ।
‘सुरुवातकै चरणमा छौँ । बिस्तारै यस व्यवसायलाई थप व्यवस्थित र विस्तार गर्दै लैजाने योजना छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय बेरोजगार युवालाई पनि राजेगार दिने हाम्रो लक्ष्य हो ।’
जग्गाधनी पनि फर्मका लगानीकर्ता हुनुहुन्छ । एक वर्षसम्म भाडा तिर्नु नपर्ने र उत्पादन सुरु भएपछि जग्गाको भाडा तिर्ने सहमतिका साथ व्यवसाय अघि बढाइएको छ । फर्मका लगानीकर्ताहरु अहिले आफैँ समय मिलाएर पालैपालो फर्मको रेखदेखमा खटिने गरेका छन् ।
आवश्यक लगानी पनि सामूहिक रुपमा गरिने र उत्पादनपछि बिक्रीबाट भएकोे आम्दानी आपसमा बराबर बाँडिने उहाँले बताउनुभयो ।
कम लगानी, समय र श्रममा धेरै आम्दानी लिन सकिनुका साथै बजार र बजार मूल्य पनि राम्रो रहेकाले बंगुरपालन र माछापालन व्यवसाय अघि बढाइएको कुमबहादुरले बताउनुभयाे । फर्मबाट उत्पादित वस्तु स्थानीय सुन्दरबजार, सिउँडीबार र भोटेओडारमै खपत हुने उहाँकाे भनाइ छ ।
‘बजार नजिकै छ । उत्पादनले राम्रो मूल्य पाउनेछ,’ उहाँले भन्नुभयो, ‘उत्पादनले बजार नपाउँला भन्ने चिन्ता नै छैन ।’
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।