नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
कैलाली - कञ्चनपुरको त्रिनगर–गौरीफन्टा नाकामा पुग्दा मोहना नदीको पुलदेखि दशगजा क्षेत्रसम्म नाका पार गर्नेहरुको लर्को देख्न सकिन्थ्यो । महिला बालबालिकादेखि कलिलो उमेर समूहका युवासँगै वयस्क पुरुषहरु पनि भारत जानका लागि आफ्नो नाम दर्ता गरिरहेका थिए । त्यही लाइनमा हुनुहुन्थ्यो डोटी गाजरीका लालबहादुर थापा । कोरोनाको प्रभाव कम भएसँगै रोजगारीकै लागि भारत पस्न बाध्य भएको उहाँले बताउनुभयो । ‘गाउँघरमा काम गरी खाने बाटो छैन,’ उहाँले भन्नुभयो, ‘कोरोनाको कारण घरखर्च चलाउन पनि समस्या भयो, अहिले कोरोनाको प्रभाव कम भएपछि भारत गइरहेको छु ।’ उहाँसँगै उहाँकै गाउँका १७ जना पनि भारत पस्ने तयारीमा छन् ।
कैलालीको जानकी गाउँपालिका-२ का रेवन्त साउद भारतमा कोरोना सङ्क्रमणको दर बढ्न थालेपछि गएको चैतमा घर फर्किनु भएको थियो । स्वदेशमै केही गर्ने योजनासहित नेपाल फर्किनु भएका साउद वैशाखदेखि लागू भएको निषेधाज्ञाका कारण घरभित्रै बस्नुभयो । निषेधाज्ञाका कारण घर खर्च चलाउन समेत मुस्किल हुन थालेपछि पुनः भारत जानुपर्ने बाध्यता आइलागेको दुःखेसो उहाँको छ । ‘यता सरकारले केही गर्ला जस्तो छैन’ उहाँले भन्नुभयो, ‘हामी विगतमा पनि भारतमै जान्थ्यौँ, आज पनि जानुपर्ने बाध्यता छ।’
थापा र साउद मात्रै होइन दैनिक हजारौँ नेपालीहरु सुदूरपश्चिमका सीमा नाका भएर भारत पसिरहेका छन् । कोभिड सङ्क्रमणको दोस्रो लहरको दर घटिरहेको भए पनि अझै पूर्ण रुपमा अवस्था सामान्य बनिसकेको छैन । तर त्रासदीका बीच जीविका चलाउन मजदुरी गर्न भारत जाने क्रम भने बढ्दै गएको छ । निषेधाज्ञाकै बीच सुदूरपश्चिमका विभिन्न सीमा नाका भएर भारत जानेहरुको ताँती छ । घरमै बसेर रोजगारी नपाउँदा भोको पेट पाल्नकै लागि जोखिम मोलेरै भारत जाने नेपालीहरूको लाम लागिरहेको छ ।
कोरोना सङ्क्रमणपछि स्वदेश फर्केका युवा रोजगारीका लागि पुनः भारत जाने क्रम बढेको छ । स्वेदशमै रोजगारीको अवसर नहुँदा सुदूरपश्चिमका युवा गौरीफन्टा र गड्डाचौकी नाका हुँदै भारत जान थालेका छन् । रोगले भन्दा भोकले पिरोल्न थालेको उनीहरुको गुनासो छ ।
निषेधाज्ञामा नेपाल आउनु भएका डडेल्धुराका दिवेश डैनी परिवार चलाउन समस्या भएपछि फेरि भारत लाग्नुभयो । उहाँले भन्नुभयो, ‘कोरोना भाइरसको महामारी फैलिएपछि स्वदेश फर्केको थिएँ, जीविकोपार्जनको कुनै उपाय नभएपछि रोजगारीका लागि गुजरात जाँदैछु ।’ कञ्चनपुरको बेलौरी नगरपालिका–३ का विनोद जोशी पनि सबै परिवार लिएर फेरि भारत लाग्नु भएको छ । उहाँ भारतको सीतारगञ्जमा व्यवसाय गरेर गुजारा गर्दै आउनु भएको थियो । यता आएपछि हातमुख जोर्नै समस्या भएको भन्दै उहाँ पनि परिवारसहित भारत हिँड्नुभएको हो ।
विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन भए पनि ठाउँ–ठाउँमा सुरक्षाकर्मीलाई अनुरोध गर्दै, महँगो भाडा तिरेरै भए पनि युवाहरू नाकासम्म पुगिरहेका छन् । यतिबेला गौरीफन्टा र गड्डाचौकी नाका भएर सयौं स्थानीय भारत गइरहेका छन् । कतिपय धान रोपाइँको काम सकेर घर खर्च चलाउन घरगाउँ छोड्दै छन् । प्रदेशका दुई नाका भएर मात्रै दैनिक एक हजारभन्दा बढी नेपाली मुग्लान गइरहेका छन् । भारत जानेहरुमध्ये धेरै कामको लागि गइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक लालबहादुर बमले बताउनुभयो ।
स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न तीनै तहका सरकार भने असफल भएका छन् । स्वदेशमै रोजगारी गर्ने सपना पूरा गर्नका लागि नीति–निर्माण गर्ने क्षेत्रमा पुगेकाहरुले चासो नदिएको गुनासो उनीहरुको छ । सरकारले भारतबाट फर्किएका युवा जनशक्तिलाई स्वदेशमै रोजगार बनाउने किसिमले सम्बोधन गर्न नसक्दा हातमुख जोर्नकै लागि भारत जानुपर्ने बाध्यता आइपरेको कैलाली उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा बताउनुहुन्छ । उहाँले कोरोना सङ्क्रमणपछि ठूलो जनशक्ति स्वदेश भित्रिएको तर त्यसको व्यवस्थापनमा सरकार चुकेको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफू मुख्यमन्त्रीमा नियुक्त भएकै बेला कामका लागि भारत जानुपर्ने बाध्यताको अन्त्य हुने घोषणा गर्नुभएको थियो । तर उहाँको कार्यकालको तीन वर्ष पूरा हुँदा पनि स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नतर्फ प्रदेश सरकारको ध्यान जान सकेको छैन ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।