नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
रेमिट्यान्स जीवनको उर्वरशील समयलाई विदेशमा प्रयोग गरेर कमाएको पैसा हो ।
जसले पनि पैसा कमाइसकेपछि, त्यसको सबैभन्दा राम्रो सदुपयोग भनेको पैसालाई पैसा कमाउने काममा प्रयोग गर्न सक्नु हो । आर्थिक रूपमा सम्पन्न हुनको लागि परिश्रम र बचत मुख्य कुरा हुन् । यी दुई कुरालाई सँगसँगै लैजान सक्यो भने मात्रै मान्छे आर्थिक रूपमा सम्पन्न हुन सक्छ ।
वैदेशिक रोजगारीमा गइसकेपछि परिवारको आम्दानीको स्रोत त भयो । त्यो सँगसँगै त्यसलाई बचत गर्ने र खर्च गर्नुभन्दा अगाडि त्यसलाई पुनः पैसा कमाउने काममा प्रयोग गर्न सक्यो भने त्यो नै सबैभन्दा राम्रो सदुपयोग हो ।
वैदेशिक रोजगारीमा रहेका परिवारमा गएर अध्ययन गर्दा मैले विशेषगरि यसको एक चरण देखेको छु । यसमा कुन पृष्ठभूमि, कुन अवस्थामा विदेश गएको हो भन्ने कुराले प्रभाव पारेको देखिन्छ ।
धेरैजसो दाजुभाइ ऋण तिर्न, छोराछोरीको आवश्यकता, शिक्षाको आवश्यकता, बुवा आमाको आवश्यकता पूरा गर्न गएकाहरूले आफूले कमाएका पैसा ती आवश्यकता पूरा गर्न मै खर्चेको पाइन्छ । तर जो रहरै रहरमा विदेश जानेहरू हुन्छन्, उनीहरूले पैसालाई चिन्न नसकेको हो कि जस्तो पनि देखिन्छ । उहाँहरूले आवश्यक भन्दा पनि बढी चाहनाहरूमा पैसा खर्च गरेको पाइन्छ ।
सामान्यतः मानिसमा इच्छा चाहना हुनु स्वाभाविक नै हो । तर इच्छा चाहनाको सन्दर्भमा परिवारमा जब एक जना विदेशमा र अरू नेपालमा हुँदा खर्च गर्ने ठाउँ भने दुई ठाउँमा हुँदो रहेछ । एकथरिको समस्या विदेशमा पैसा कमाएर घर नपठाउने र उतै पनि व्यवस्थापन नगर्ने, आफैँ कमायो आफै रमायो गर्नेहरू पनि मैले भेटको छु ।
केही समय गएको सुरुको एक दुई वर्ष पैसा जोगाउनुपर्छ भन्ने धारणाले चल्ने र अलिकति घरको व्यवहार मिल्दै गएपछि यस्तै त हो नि अलिकति रमाइलो गर्नुपर्छ भन्ने सोच र परिवारका सदस्यहरूको पनि त्यस्तै माग हुने भएकाले रेमिट्यान्सको सही सदुपयोग नभएको हो कि जस्तो लाग्छ । त्यसैले जे उद्देश्य प्राप्तिका वैदेशिक रोजगारीमा जानुभएको छ त्यो आफ्नो उद्देश्यमा ध्यान दिन जरुरी छ ।
हिजोका दिनमा देशमा रोजगारी थिएन । र स्वरोजगार सिर्जना गर्न नसकिँदा विदेश जानु पर्यो । त्यसैले विदेशमा कमाएको पैसाले नेपालमा स्वरोजगार सिर्जना गर्न सकेको खण्डमा पुनः विदेश पलायन हुनुपर्ने अवस्था नआउन सक्छ ।
अहिलेको अवस्थामा विदेशमा रहँदासम्म आर्थिक अवस्था ठीकठाक रहने तर त्यहाँबाट फर्केको केही समयमै रोजीरोटीकै समस्या देखिन थालेको छ ।
कमाइको सदुपयोग गर्नको लागि व्यक्ति स्वयं कै जिम्मेवारी हुन्छ । जस्तो विदेशमा रहेको व्यक्तिले आफूले कमाएकोमध्ये आफ्नो लागि जति खर्च गर्छन् त्यो खर्चको स्वमूल्यांकन आफैले गर्नुपर्ने हुन्छ । आफूले कमाएको पैसा के मा प्रयोग गर्यो भने आफ्नो लागि ठिक हुन्छ, परिवारको भलो हुन्छ भन्ने प्रश्नको उत्तर आफैभित्र खोज्नुपर्छ ।
अहिलेको महँगीको अवस्थामा परिवारको एउटा मात्रै सदस्यले श्रम गरेर घरपरिवार चल्दैन । त्यसको लागि परिवारका सबै सदस्यले आफ्नो उमेर, सीप क्षमताले भ्याएसम्म मेहनत गर्न जरुरी छ । विदेशमा हुनेले मेहनत गर्नुभएको छ र घरपरिवारका सदस्यले पनि त्यो पैसालाई उत्पादनमूलक कार्यमा लगाएमा पैसाले पैसा तान्छ भनेझैँ आम्दानीको बाटो फैलिन्छ ।
समस्याको समाधान हुन्छ । नत्र एक जनाले मात्रै कमाउने र त्यसैमा बाँकी सदस्य आश्रित भएमा दैनिक पारिवारिक आवश्यकता पूरा गर्न खोज्दा पैसा बचाउन सकिँदैन । नेपाल फर्केपछि फेरि पुरानै अवस्था रहन्छ ।
वैदेशिक रोजगारीमा जानुभन्दा पहिले नै विदेशमा कमाएको पैसा के मा लगाउने, कसरी खर्च गर्ने भन्ने कुरामा छलफल हुनुपर्छ । तर कतिपय हाम्रोमा यस्ता व्यक्ति पनि हुनुहुन्छ, जो घरपरिवारमा सल्लाह नै नगरी विदेश जानुहुन्छ । सबैभन्दा राम्रो घरपरिवारमा सल्लाह हुनुपर्छ । त्यसपछि विदेश जानेले यसरी पैसा पठाउँछु, हाम्रा आवश्यकताहरू यी यी हुन् भन्ने कुरामा प्रस्ट पार्नुपर्छ ।
दोस्रोमा जो परिवारमा हुनुहुन्छ उहाँहरूले विदेशबाट पठाएको पैसाको सही सदुपयोग गर्नुपर्छ । त्यो पैसा कहाँ कसरी खर्च भयो भनेर विवरणसहित जानकारी गराउन आवश्यक हुन्छ ।
किनकि पैसा कमाउने मान्छेलाई आफूले कमाएको पैसाको सदुपयोग कसरी भइरहेको छ भन्नेबारे जानकारी हुन जरुरी हुन्छ । जति दुरी टाढा भयो त्यति विश्वासको घेरा पनि साँघुरिँदै जाँदो रहेछ । त्यसैले विदेशमा रहेको व्यक्ति र परिवारबीच निरन्तर सम्पर्क भइरहनुपर्छ । पैसाको खर्चबारे छलफल हुनुपर्छ ।
यस्तै नेपालमा हुने परिवारले रेमिट्यान्समा मात्रै भर पर्नुहुँदैन । अहिले नेपालमा यसको गलत असर परेको देखिन्छ । जसले गर्दा आन्तरिक बसाइसराइ बढेको देखिन्छ । गाउँबाट सहरतिर बस्न जानेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको पाइन्छ । तर सहरमा बस्न जानुभएका परिवारका सदस्यले पनि त्यहाँ आम्दानीका विकल्पहरू खोज्नुपर्छ ।
गाउँ होस् या सहर होस् आम्दानीका केही न केही उपायहरु हुन्छन् । समय सन्दर्भ अनुसार वा त्यो क्षेत्रअनुसार आर्थिक क्रियाकलाप फरक पर्न सक्छन् । गाउँमा साग उत्पादन हुनसक्थ्यो भने सहरमा साग बिक्री गरेर आय आर्जनको बाटो अपनाउन सकिन्छ । केही न केही आम्दानीको बाटोमा आफूलाई लगाउन सकिन्छ । आफूलाई व्यस्त पनि राख्न सकिन्छ । खाली बस्दा मनमा अनेक नकारात्मक कुराहरु खेल्ने, मनमा शंका उप शंका उत्पन्न हुने हुनसक्छ ।
त्यसैले रेमिट्यान्स प्राप्त गर्ने परिवारले वा परिवारका सदस्यले त्यो पैसाको सही सदुपयोग गर्छु, उत्पादनमूलक काममा लगाउँछु वा बचत गर्छु भनेर पक्का हुनुपर्छ ।
मैले बुझे अनुसार मानिस आवश्यकताले खर्चालु हुँदैन, मानिस चाहनाले खर्चालु हुन्छ । विदेश गएकाहरूले असाध्यै कठिन परिश्रमबाट कमाएको आम्दानीले सबैलाई खुसी राख्छु भनेर सोच्नु पनि उचित होइन जस्तो लाग्छ । त्यसै पनि हामी नेपालीहरूका सामाजिक आवश्यकताहरू महँगो छन् । चाडबाडमा खर्च गर्ने संस्कृति छ ।
यस्तै पाहुना आउँदा पनि खर्च गर्ने संस्कृति छ । घरमा पाहुना आयो भने मासु भात नखुवाई पठाउनुहुन्न भन्ने किसिमको मानसिकता छ । बालबालिकाको रहर पनि बढ्दै गएको देखिन्छ । बर्थडे मनाउने, भड्किलो रहनसहन गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ ।
त्यसैले मैले विदेशबाट घर फर्किँदा पनि बढी खर्च भएको मैले देखेको छु । जस्तो गाउँभरिका लागि चकलेट, फलानो असाध्यै मिल्ने हो, त्यसलाई केही उपहार लगिदिऊँ भन्ने सोच हुन्छ । यसरी विदेशमा दुःख गरेर कमाएको पैसा जुन कामका लागि प्रयोग हुनुपर्थ्यो त्यो कामका लागि प्रयोग भएको हुँदैन ।
विदेशमा रमाइलो गरेर सक्ने, उतै जाँडरक्सी खाएर सक्ने गरेको कम देखेको छु । नेपालमा उपहार ल्याउने, नेपाल आएर रमाइलो गरेर विदेशमा कमाएको पनि सक्ने गरेको बढी देखेको छु ।
सबैभन्दा मुख्य कुरा त विदेश हुने व्यक्तिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ । स्वास्थ्यभन्दा पैसा ठुलो कुरा हुन सक्दैन । त्यसको लागि विदेशमा खानपान र बसाइ राम्रो बनाउनुहोला । भोलि यस्तो समय नआओस् कि हातमा पैसा छ तर स्वास्थ्य छैन ।
दोस्रो कुरा भनेको योजना बनाउनुपर्छ । कति आवश्यकता पूरा गर्नुपर्ने हो र उत्पादनमूलक कार्यमा लगानी गर्ने हो भन्ने बारेमा सुनिश्चित हुनुपर्छ । आफू विदेशमा हुँदैमा भोलि गएर नेपालमा मैले केही काम गर्नुपर्छ भन्ने धारणा बनाउनुपर्छ ।
किनभने सधैँ विदेशी भूमिमा बसेर सधैँ श्रम गर्न सकिँदैन । त्यसैले त्यहाँ सिकेको सीप, ज्ञानलाई नेपालमा पनि प्रयोग गर्न सकिन्छ । अहिले नेपालमा व्यवसाय कसरी गर्ने भन्ने खालको पहिलेको जस्ता अवस्था छैन । धेरै ठाउँमा सामाजिक सञ्जालको विस्तार भएको छ । इन्टरनेटको उपलब्धता छ । बजारहरु निर्माण भएका छन् ।
त्यसैले नेपाल फर्केर काम गर्न सक्ने थुप्रै सम्भावना छन् । सामाजिक सञ्जालमा नकारात्मक कुराको प्रचारबाजी मात्रै बढी भएको पाइन्छ । तर त्योबाहेक सकारात्मक कुराहरू पनि धेरै छन् । नेपालमा गएर केही हुँदैन भन्ने सोच नराखेर नेपालमा धेरै सम्भावना छन् र यही उमेरमा गर्ने हो भन्ने कुरालाई पनि मनन गर्नुपर्छ । त्यसको लागि प्रारम्भिक पुँजी चाहिन्छ ।
त्यसैले आफूले कमाएको बेला सबै पैसा घरमा पठाउनुभन्दा पनि केही मात्रामा आफैले बचत गरेर राखेमा पनि पछि व्यवसाय गर्नमा सहज हुन्छ ।
हाम्रो समाज अर्काको देखासिकी गर्ने परम्पराबाट हुर्केको छ । कहिल्यै पनि आर्थिक रूपमा आफूलाई अरूसँग तुलना गर्नुहुँदैन । आफू पनि अरू जस्तै हुनुपर्छ भन्ने कुराले बाध्यकारी बनाउने, मानसिक रूपमा दबाब दिने, फलानो त्यो पोष्टमा पुग्यो म पुगिँन भन्ने कुराले मानसिक हीनताबोध मात्रै हुन्छ।
त्यसैले वैदेशिक रोजगारीको आम्दानीलाई नै मैले जीवन पर्यन्त प्रयोग गर्न सक्छु भन्ने सोचेर त्यही अनुसार आफूलाई परिचालन गर्यो भने विप्रेषणको सदुपयोग हुन्छ भन्ने मलाई लाग्छ ।
(वाग्लेसँग कार्यक्रम देश परदेशका लागि सन्जिता देवकोटाले गर्नुभएको कुराकानीमा आधारित ।)
प्रेम नाथ वाग्ले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्सकुन) मा वरिष्ठ कार्यक्रम अधिकृत हुनुहुन्छ ।