श्रीलङ्का पहिलाे पारीमा ४२ रनमै अलआउट
मंसिर १३, २०८१ बिहिबार
दिनेश दुवाडी / धादिङ ।
धादिङ – गएको आइतबार अर्थात् यही भदौ १२ गते जिल्ला प्रशासन कार्यालयको परिसरमा रहेको सुरक्षित वैदेशिक रोजगारको लागि आप्रवासी स्रोत केन्द्रमा सरिता तामाङसँग भेट भयो । ३ वर्ष अघि वैदेशिक रोजगारीमा गएर बिदामा आउनुभएकी ज्वालामुखी गाउँपालिका ३ विजयटारकी सरिता आफ्नो वैदेशिक रोजगारीको सफलताको कथा सुनाउन आउनुभएको हो । कक्षा ८ मात्र पढ्नुभएकी सरिता गाउँघरमा जति दुःख गरे पनि गर्जो नटरेपछि विदेश जाने सोचमा वैदेशिक रोजगारमा जाने सोच बनाउनुभयो ।
विदेश त जाने तर कहाँ जाने के काम गर्ने पत्तो थिएन । २०७७ साल पुस महिनामा पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय धादिङमा आउँदा उहाँ आप्रवासी स्रोत केन्द्रमा आइपुग्नुभएको थियो । परामर्श केन्द्रले नै वैदेशिक रोजगारीमा जाँदा सीप सिकेर जानु पर्ने र रुचि हुनेलाई सुरक्षित आप्रवासन सामी कार्यक्रममार्फत नै निःशुल्क सीप प्रदान हुने कुराको जानकारी गरायो । त्यसपछि गार्मेन्टको सीप सिकेर जोर्डन गई तीन वर्षपछि अहिले सरिता घर फर्कनुभएको छ ।
मेरो नाम सरिता तामाङ हो । उमेरले अहिले म २८ वर्षकी भए । मैले घरायसी कारणले गर्दा धेरै पढ्न सकिन । गाउँघरको कमाइले आफ्नो जीविका चलाउन सक्ने अवस्था नभएपछि विदेश जाने सोच बनाएँ । पासपोर्ट बनाउन भनेर धादिङ झरेँ ।
वैदेशिक रोजगारी सम्बन्धी केही जानकारी थिएन । कुन देश जाँदा राम्रो हुन्छ थाहा थिएन । सूचना केन्द्रमा ३० मिनेटको परामर्शपछि मैले गार्मेन्ट तालिम लिएर जोर्डन जाने सोच बनाएँ । निःशुल्क सीप तालिमको फारम भरेपछि काठमाण्डौको एकान्त कुनामा सीप तालिम लिन गए ।
लगभग ४० दिनको खान बस्नसहितको निःशुल्क सिलाइ सम्बन्धी तालिममा मेसिन चलाउन, आइरन चलाउन, खल्ती बनाउने लगायतका कुराहरू सिकेँ । तालिम केन्द्रले त्यही सिकेको सीप अनुसारको सर्टिफिकेट पनि दियो ।
सिलाई तालिम सकिएकै दिन जोर्डनबाट केही कम्पनीका प्रतिनिधि अन्तरवार्ताका लागि आउनुभयो । अन्तरवार्ता म पनि पास भएँ । आफूसँग भएको पासपोर्ट दिएर १ हप्ताको लागि घर फर्के । म्यानपावरबाट १५ दिनमा नै भिसा आएको जानकारी पाएपछि खुसी हुँदै गाउँबाट काठमाण्डौ गएँ । र, आवश्यक थप प्रक्रियाहरू गरेर विदेश उड्ने तयारीमा लागेँ । विदेश उड्नुअघि मैले बनाएका विभिन्न कागजातहरू एकप्रति घरमा पनि छाडेँ ।
२०७७ सालको फागुन महिनाको ३ गते बिहान ९ बजे नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई पुगियो । त्यहाँ तीन घण्टाको ट्रान्जिटपछि अर्को जहाज चढेर जोर्डनको राजधानी अम्मान पुगियो ।
अम्मानको एयरपोर्टमा हामीलाई लिन कम्पनीको गाडी आएको भन्ने जानकारी पाएँ । त्यस दिन त्यहाँ पुग्नेमा मसहित अन्य ३५ जना नेपाली दिदीबहिनी पनि हुनुहुँदोरहेछ । सबै जना एउटै गाडीमा चढेर कम्पनीतिर गइयो । हामीले काम गर्ने कम्पनीको नाम सिड्नी कम्पनी रहेछ ।
यो कम्पनीमा नेपाली अन्य व्यक्तिहरू पनि काम गर्ने रहेछन् । भगवान् पौडेलले हामी ३५ जनालाई बस्ने ठाउँ, खाने ठाउँ सबै देखाइदिनुभयो र एक दिन आराम गरेर फर्सीपल्टदेखि काम सुरुवात हुने जानकारी पनि दिनुभयो ।
काम कस्तो होला कसरी काम गर्ने होला भन्ने पर्खाइ तथा उत्सुकता मनमा थियो । मलाई दिन प्रतिदिन अनौठो लागिरहेको थियो । कम्पनी घुम्दा विशाल ठुलो लाग्यो । झण्डै ५ हजार जनाले काम गर्ने ठाउँ । नाइट र डे सिफ्टमा काम चल्ने रहेछ । मेरो पनि काम सुरु भयो । कम्पनीको छुट्टै ड्रेस लगाइयो । सुरुमा ५ दिन सिलाई मेसिन चलाउन सिकाइयो । मेरो काम आइरन लगाउने, ब्याक पकेट सिलाउने थियो । त्यो काम १ वर्ष गरे । काम सजिलो नै थियो ।
अर्को साल धागो काट्ने काम र साइज मेसिन चलाउने काम गरेँ । काम गर्दै जाँदा विश्वास बढ्दै गयो । नेपालमा आफ्नो व्यक्तिगत खर्च बाहेक जम्मा ५ हजार खर्च पासपोर्ट बनाउन लागेको थियो । त्यहाँ मैले सबै गरेर महिनाको ५० हजार रुपैयाँ कमाउन थालेँ । कहिलेकाहीँ ५२ हजार रुपैयाँसम्म पनि बच्थ्यो महिनाको ।
कम्पनीमा काम गर्ने हामी सबैलाई वाइफाई, मेडिकल, एसीसहितको बस्ने सुत्ने कोठा, आफ्नो कपडा धुने वासिङ मेसिन, आइरन, कहिले काहीँ निःशुल्क घुम्न जान गाडी सुविधा, दिनमा ३ पटक खाना खाजाको पनि सुविधा थियो ।
बिदाको दिन छुट्टै किचन, गेम खेल्ने सुविधा पनि थियो । कोरोना कहरको बेला पनि कम्पनीले हामीलाई राम्रो ध्यान दिएको थियो । खोपको व्यवस्था कम्पनीमै गरिएको थियो । म अहिले नेपाल फर्किएको छु । ३ वर्ष लगभग जोर्डनमा बिताउँदा मैले १४ लाख रुपैयाँभन्दा बढी कमाएँ । म निकै खुसी छु । अब फेरि यही कम्पनीमा काममा जान्छु भन्ने सोच बनाएको छु ।
अरू देशका बारेमा त मलाई धेरै थाहा छैन तर जोर्डन महिलाका लागि निकै राम्रो रहेछ भन्ने अनुभव भएको छ । महिलाका लागि निकै सुरक्षित छ यो देश । यहाँ जान हातमा सीप भए पुग्छ, धेरै पढाइ पनि नचाहिने रहेछ ।
पासपोर्ट बनाउने र आफ्नो व्यक्तिगत खर्च बाहेक जोर्डन जान थप रकम पनि बुझाउन पर्दैन । त्यसैले तपाईँ पनि वैदेशिक रोजगारीमा जाने योजनामा हुनुहुन्छ भने सीप सिकेर मात्र जानुहोस्, अरूको भरमा नपर्नुहोस् भन्ने चाहन्छु । अरूले भनेको कुरामा आँखा चिम्लेर विश्वास गर्दा ठगीमा पर्न सकिन्छ । म त बेलैमा सूचना केन्द्रमा आइपुगेको हुनेले सीप सिकेर विदेश जान पाएँ र ठगिनबाट पनि जोगिएँ ।