विदेशबाट फर्केर गाईपालन : महिनाको दुई लाखसम्म आम्दानी

 कात्तिक १५, २०७५ बिहीबार १४:२५:३३ | रासस

पाल्पा – पाल्पामा विदेशबाट फर्केर गाईपालन गरेका युवाले महिनाको दुई लाख रुपैयाँसम्म आम्दानी गर्न थालेका छन् । 

२०६७ मा साउदीबाट फर्किएर गाईपालन व्यवसाय शरु गर्नुभएका तानसेन नगरपालिका–१२ चिनारीका टीकाराम रेश्मी महिनाको ७० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म कमाउनुहुन्छ । रेश्मीको गोठमा अहिले १७ वटा गाई छन् । १० गाई दुहुना छन् । 

गाईले दैनिक ५० लिटर दूध दिन्छ । दूध बेचेको आम्दानीले पाँच जनाको परिवारको खर्च चलेको छ । गाईपालनबाट रेश्मी परिवार सन्तृष्ट छ । 

त्यस्तै चिनारीका रुकवीर रेश्मी बराइनबाट फर्केर २०६७ सालदेखि गाईपालन गर्दै आउनुभएको छ । उहाँले मासिक  डेढ लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । ‘गोठमा ३२ उन्नत जातका गाई छन्, दिनको ११० लिटर दूध उत्पादन हुन्छ,’ रुकबीरले भन्नुभयो ।

चिनारीकै देवीबहादुर रानाले साइप्रसबाट फर्केर गाईपालन थाल्नुभएको छ । ११ मध्ये पाँच गाईले दैनिक ३५ लिटर दूध दिन्छन् । उहाँले महिनाको दुई लाख रुपैयाँसम्म कमाउनुहुन्छ । गाईपालन सगैँ उहाँले खेतीपाति पनि गर्नुभएको छ । 

चिनारीबाट मात्रै दैनिक ५५० लिटर दूध तानसेन खपत हुँदै आएको छ । चिनारीका ३० परिवारले गाईपालन गरेका छन् । 
 

तपाईको प्रतिक्रिया