पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्या...
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री फेसबुकबाट देश चलाउँछन्, मेयर फेसबुकबाटै महानगर चलाउँछन् । कहिले फेसबुकमा मेयरलाई प्रधानमन्त्रीका मान्छेले चलाउँछन्, कहिले मेयरका मान्छेले प्रधानमन्त्रीलाई चलाउँछन् । फेसबुकै फेस बिगार्छन् । फेसबुकबाटै एकअर्काको फेस चिथोर्न खोज्छन् । एकथरी फलोअर्स घटाइयो भनेर फिस्स हाँस्छन्, अर्काथरी फलोअर्स घट्यो भनेर खिस्स पर्छन् । गालीगलौज, अपमान र आरोपप्रत्यारोपले फेसबुकका भित्ता भरिएपछि हिस्स हुन्छन् । थाक्छन् र चुप लाग्छन् ।
देश र महानगर चलाउनुपर्ने मान्छेहरू फेसबुक चलाएर थाकेपछि हेर्नेहरूलाई फेरि खल्लो लाग्न थालेको छ । त्यसो त मान्छेहरू पहिल्यैदेखि निराश छन् । आउँदै गरेको चाडपर्वमा कसरी गर्जो टार्ने भन्ने चिन्तासँगै जता फर्कियो उतै आपद, अभाव, अनियमिता र अस्तव्यस्तताले दिक्दारी बढाएको छ ।
मान्छे यसरी निराश र चिन्तित हुँदा घरपरिवार मात्रै होइन, समाज र देशलाई नै घाटा भैरहेको छ । सुखी नेपाली र समृद्ध नेपाल बनाउने सरकारी अभियानमा ठेस लागेको छ । देशका दुई ठूला पार्टी मिलेर बनेको सरकारलाई जसरी पनि आफ्नो अभियान सफल बनाउनु छ । नागरिकको मुहारमा खुशी छाउन सक्यो भने मात्रै पनि देश समृद्ध बन्न सक्छ ।
देशलाई समृद्ध बनाउने पहिलो खुड्किलो नागरिकको मुहारमा खुशी ल्याउनु हो भन्ने सरकारले राम्रोसँग बुझेको छ । प्रधानमन्त्रीले हरेक दिन फेसबुकमा लेखे पनि, काठमाण्डौका मेयर कहिलेकाहीँ फेसबुकमा झुल्किए पनि, धरानका मेयरले मिनेट–मिनेटमा फेसबुक चलाए पनि मान्छेलाई ‘टेस’ पर्न छोडिसकेको छ । जिन्दगी ठिकठाक चल्न थाल्यो तर मोबाइलमा टिकटक चलेन भने पनि मान्छे खुशी हुँदा रहेनछन् । त्यसैले नागरिकलाई खुशी बनाउनकै लागि सरकारले टिकटक पनि खोलिदिएको छ ।
टिकटक खुल्यो रे भन्नेबित्तिकै निराश भैरहेका मान्छेको मुहारमा एकाएक चमक देखिएको छ । सबै दङ्ग छन् । अब टिकटक चलाउन थालेपछि मान्छेहरू यसै पनि रमाउँछन् । नाचगान र हाउभाउ प्रदर्शनमा व्यस्त हुन्छन् । फेसबुक रिलमा मात्रै अटाउन नसकेका मसलेदार र तडकभडक भिडियोको बिगबिगी हुन्छ । मान्छे त्यसमै भुलिन्छन् । टिकटकमा रमाउन थालेपछि मान्छेले भोक र शोक बिर्सन्छन् । दुःख, पीर, चिन्ता, अभाव र निराशा मेटिन्छन् ।
झन्डै एक वर्ष टिकटक नचल्दा देश बर्बाद भइसकेको थियो । टिकटकमा रमाउन छाडेर मान्छेहरूको ध्यान खाना, नाना र छानामा रुमल्लिएको थियो । कतिले प्रश्न गर्न थालेका थिए : रोजगारी खोई ? ट्रली बस खोई ? साझा बस खोई ? भृकुटी कागज कारखाना खोई ? विराटनगर जुट मिल खोई ? सर्लाही चिनी कारखाना खोई ? बाँसबारी जुत्ता कारखाना खोई ? जनकपुर चुरोट कारखाना खोई ? हेटौँडा कपडा उद्योग खोई ? हेटौँडा–काठमाण्डौ रोपवे खोई ? गोरखकाली टायर उद्योग खोई ? बुटवल धागो कारखाना खोई ? वीरगञ्ज चिनी कारखाना खोई ? वीरगञ्ज कृषि औजार कारखाना खोई ? हिमाल सिमेन्ट कारखाना खोई ? हरिसिद्धि इँटा टायल कारखाना खोई ? दोलखा खरिढुङ्गा कारखाना खोई ? भ्रष्टाचारको फाइल खोई ?
यसबीचमा टिकटक चलिरहेको भए महत्त्वपूर्ण कलकारखाना खोज्न कसैलाई फुर्सद हुँदैन थियो । सबै टिकटकमै रमाउँथे । टिकटक बन्द भएकै कारण सबैमा देशका पुराना उद्योग धन्दा खोजेर विकास निर्माण गर्ने हुटहुटी जाग्यो । टिकटक बन्द भएपछि कुशासन र ढिलासुस्तीविरुद्ध आवाज उठ्न थाल्यो । कसैले भने : भ्रष्टाचार बन्द गर । कसैले भने : नागरिक बेच्न बन्द गर । विमानस्थलमा हुने सुन तस्करी बन्द गर । विषादी नजाँची पारिका नाकाबाट आउने तरकारी र फलफूल बन्द गर । दुई छाकका लागि विदेशिनुपर्ने स्थिति बन्द गर । उपचारका लागि सिङ्गापुर र बैंकक जानुपर्ने अवस्था बन्द गर ।
टिकटकमा झुम्मिने नागरिकले यसरी झकझकाउन थालेपछि देश विकास र सुशासनको बाटोतिर हिँड्ने डर भयो । अहिल्यै विकास र सुशासन हुन थाल्यो भने चुनावमा के भनेर भोट माग्ने ? के गर्छाैँ भनेर सत्ता समीकरण फेरबदल गर्ने ?
विकास र सुशासन खोज्न थालेका नागरिकलाई अलमल्याउन पनि टिकटक खुल्नैपर्ने थियो । खुलाएर सरकारले राम्रो गर्याे । अब सरकारको सय दिने उपलब्धिमा टिकटक खुलाएको बुँदा पनि थपिने भयो । प्रधानमन्त्री, मन्त्री र मेयरहरूलाई फेसबुक र एक्ससँगै टिकटकमा पनि देख्न पाइने भयो । बाहिर महसुस गर्न नपाए पनि प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिहरूका फेसबुक हेर्दा प्रगति र उपलब्धि मात्रै देख्न पाइन्छ । अब टिकटकमा समेत प्रगति र उपलब्धि देख्न पाएपछि मान्छेको आशा र भरोसा जाग्ने भयो । सरकारप्रति आशा र भरोसा जाग्नु भनेको पनि देश समृद्धको बाटोतिर लाग्नु हो ।
एकातिर टिकटकमा प्रधानमन्त्री र मन्त्रीहरूको काम देखेर आशा जाग्नु । अर्कोतिर नागरिक आफैँ टिकटकमा रमाएर खुशी छाउनु । कतिले टिकटक चलाएरै पैसा कमाउनु । लाइभमा बोलाएर सबैलाई व्यस्त बनाउनु । हुने, नहुने सबैथोक गरेर मनोरञ्जन दिनु । सबै नागरिक मनोरञ्जनमा भुलेर खुशी हुनु भनेको सबै नेपाली सुखी हुने हो । अनि नेपाली सुखी हुनु भनेको देश समृद्ध बन्नु हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।