पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्या...
मंसिर १३, २०८१ बिहिबार
जेठ २८ गते मनसुन शुरू भएयता असोज ११ र १२ गते निकै ठूलाे पानी पर्याे । अविरल वर्षापछिकाे बाढी, पहिरो र डुबानले जति धनजनको क्षति भएको छ, सडकमा पनि उति नै क्षति पुर्याएको छ । कतिपय सडक तत्कालै बनिहाल्ने अवस्थामा छैनन् । राम्रोसँग गाडी गुड्ने अवस्थाको बनाउन समय लाग्ने छ ।
नेपाल सरकारले सडक निर्माणका लागि मन्त्रिपरिषद्बाट निर्णय गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई तोकेको छ । त्यसैले सडकको सुधार कसरी गर्ने भनेर मन्त्रालयको सक्रियतामा निर्भर रहन्छ ।
दशैँको बेला नागरिकलाई सुरक्षा प्रदान गरी सहज रूपमा हिँड्न सक्ने बनाउने कुरामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले पहिलो प्राथमिकता राखेको छ । सडकमा खसेको पहिरो हटाउने, पहिरोमा परेका नागरिकलाई उद्धार गर्ने, अस्पताल पुर्याउने कार्यमा, नागरिकको भत्केको घरको पुनर्निर्माण गर्ने कार्यमा तीनै तहका सुरक्षाकर्मी खटिने छन् ।
सडक राम्रो भए मात्रै गाडी आवागमन सुरक्षित हुने भएकाले मुख्य राजमार्गको पुनर्निर्माण र राजमार्गमा गाडी चलायमान बनाउन प्रहरीको सहयोगी भूमिका हुन्छ । हामीसँग सडक बनाउन वा मर्मत गर्न चाहिने उपकरण हुँदैन तर सुरक्षा निकायका कर्मचारी सडकमा खसेको पहिरो हटाउन पनि लागेका हुन्छन् ।
खुलेका सडकमा पनि जोखिम छ
अहिले खुलेका सडकमा पनि जोखिम छ । बर्खाले गर्दा गलेको जमिन भएका कारण माथिबाट पहिरो खस्न सक्ने भएकाले ढुक्क भएर यात्रा गर्न सकिने अवस्था छैन । त्यसैले गन्तव्यमा जानुअघि बाटोको अवस्था के छ भनेर बुझेर जाँदा सुरक्षित भइन्छ । यात्रुले प्रहरी वा गन्तव्य ठाउँसम्मका चिनेजानेका आफन्तलाई खबर गरेर योजना बनाएर हिँड्दा सुरक्षित हुन सकिन्छ ।
अहिले केही ठाउँमा गएको पहिरो हटे पनि मौसम पूर्वानुमान महाशाखालगायत सरकार र सरकारका निकायले जारी गरेका सूचनालाई सबैले गम्भीरतापूर्वक लिएर आफ्नो यात्राको योजना बनाउनुपर्छ ।
दशैँमा सबैलाई घार जान पाइयोस् भन्ने लाग्छ । घर जाने वा नजाने भनेको मानिसको व्यक्तिगत निर्णयको कुरा हो । तर घर जानुपर्ने मानिसले व्यक्तिगत सुरक्षा अपनाएर, जोखिम हुन सक्ने ठाउँकाबारे सम्बन्धित निकायबाट सूचना लिएर र योजना बनाएर यात्रा गर्नुपर्छ ।
यात्रा गर्दा जनसुकै परिस्थितिमा पनि नागरिकलाई परेका अप्ठ्यारोमा नेपाल प्रहरीका कर्मचारी अहोरात्र खटिरहेका छौँ । त्यसैअनुरूप केन्द्रबाट हरेक प्रहरी कार्यालयमा यात्रु सहायता कक्ष खोल्न लगाएका छौँ । यात्रु सहायता कक्षले मानिसले यात्रा गर्ने बाटोको अवस्था र हुन सक्ने जोखिमका बारेमा जानकारी गराउने छ ।
यसरी यात्रुले जानकारी लिएर सुरक्षित यात्रा गर्न सक्छन् । त्यसैले यस्तो बेला सबैले जिम्मेवार नागरिकको रूपमा काम गर्नुपर्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ ।
यात्रु, चालक र बस व्यवसायीले ध्यान दिनुपर्ने कुरा
यो समयमा यात्रुले यात्रा गर्नुअघि गन्तव्य ठाउँ कहाँ हो ? त्यहाँसम्मको सडक अवस्था कस्ताे छ भनेर जानकारी लिनुपर्छ । खचाखच भरिएका गाडी र छतमा चढेर यात्रा गर्नु हुँदैन भन्ने चेतना यात्रुमा हुन जरुरी छ । गाडी चालकले जाँड–रक्सी, लागूपदार्थ खाएको छ कि छैन ? लापर्बाही तरिकाले गाडी चलाएको छ कि छैन ? चालकको मानसिक अवस्था कस्तो छ ? आफू चढेको गाडीको अवस्था कस्तो छ लगायतका कुरा बुझ्नु नागरिकको कर्तव्य हुन्छ ।
सार्वजनिक गाडी चालकलाई गाडीमा यात्रा गर्ने सबै मानिसको ज्यानको सुरक्षा लिएको जिम्मेवारी बोध हुनुपर्छ । चालकले आफूले चलाउने गाडीको अवस्था हेर्नुपर्छ । गाडी यान्त्रिक रूपमा ठीक छ कि छैन भनेर हेर्ने तथा टायर, इन्जिनको अवस्था, इन्धनलगायतका कुराको जाँच गर्नुपर्छ ।
त्यसपछि गाडीमा चढेपछि चालकले पहिले सिट बेल्ट लगाउने, दुई पाङ्ग्रेमा भए हेल्मेट लगाउन नभुल्ने, गाडीमा भएका यात्रु सहज अवस्थामा छन् कि छैन हेर्ने, जाँड–रक्सी र लागूपदार्थ नखाने, साँघुरो सडकमा बढी गतिमा नचलाउने, तोकिएभन्दा बढी गतिमा गाडी नगुडाउने र आफूले चलाउने गाडीको रुटबारे जानकारी लिने गर्नुपर्छ । पानी परेको बेला सडक छेउ कमजोर भएको हुन्छ, सडक छेउबाटै ओभरटेक गर्दा पनि गाडी दुर्घटनामा पर्न सक्छ ।
प्रहरीको आँखा छलेर सुरक्षित भइन्छ भन्ने कुभावना नराखिकन गाडी चलाउनुपर्छ । लामो दूरीमा चल्ने गाडीमा दुई जना चालक राख्नुपर्ने नियम छ । गाडी बीचबीचमा आलोपालो गरेर दुई जना चालकले गुडाउनुपर्छ । यसको प्रहरीले कडाका साथ जाँच पनि गर्छ । यस्तै कतिपय लाइसेन्स नभएका चालकले पनि गाडी चलाएको पाइन्छ ।
त्यसैले सडकका चिह्न र सडक हेरेर नमात्तिकन र नआत्तिकन गाडी चलाउनुपर्छ । गाडी चलाउँदा सडक नियमको पालना गर्नुपर्छ । नियम नमानेर गाडी चलाउनेलाई ट्राफिक प्रहरीले कारबाहीको दायरामा ल्याउँछ । हरेक मानिसले आफ्नो थैली ठीकसँग राखेपछि चोरलाई दोष दिनु पर्दैन । गाडी चलाउने चालकले राम्राे ढङ्गले गाडी चलायो भने दुर्घटनामा पर्दैन र ट्राफिक प्रहरीको जरीमाना पनि पर्दैन । सडकमा गाडी चलाउँदा ट्राफिक नियमको पालना गर्ने कोही पनि मानिस जरीमानाको दायरामा पर्दैन ।
बस व्यवसायीले आफ्ना गाडीको परिचालन गर्दा बसको अवस्था कस्तो छ भन्ने कुराको जानकारी लिनुपर्छ । यदि बस चल्दाचल्दै बिग्रिन सक्छ भन्ने जस्तो लाग्छ भने जाँच गरेर मर्मतपछि मात्र चलाउनुपर्छ ।
आफ्नो गाडीमा सवार यात्रु नलुटिऊन्, नकुटिऊन्, बढी भाडा असुलीमा पीडित नबनून् भन्नेतर्फको चासो, चिन्ता र चेतना गाडी व्यवसायी, समिति सबैले राख्नुपर्छ । गाडी किनेर छोड्दिँदैमा सबै कुरा स्वचालित चल्छ भन्ने कुरा हुँदैन ।
त्यसकारण गाडीलाई व्यवस्थित रूपमा चलाउनका लागि पनि गाडी व्यवसायीको मुख्य भूमिका हुन्छ । आफ्ना गाडी चालकले कुन अवस्थामा चलाएका छन् ? गाडीको अवस्था के छ ? यात्रुलाई कस्तो व्यवहार गरेका छन् ? यात्रुसँग गरेका व्यवहार कति भद्र, सौहार्द र सभ्य छ भन्ने कुराले देशको समग्र सभ्यतालाई पनि देखाउँछ । ठाउँ–ठाउँमा गाडीबाट जथाभाबी चन्दा असुली गर्ने, गाडी रोक्ने गतिविधिलाई पनि चालक, गाडी धनी र यात्रुले प्रहरीलाई सूचना दिन सक्छन् ।
गाडीमा जहिले पनि हुन सक्ने पकेटमारी, चोरीलगायतका व्यवहार कसैले गर्छ भने पनि प्रहरीमा सूचना दिनुपर्छ । आफ्नो गाडीमा कसैले अवैध वस्तु ओसारपसार गरेको छ कि ? लागूपदार्थ, जाँड–रक्सी, विस्फोटक पदार्थ, पटकाजन्य पदार्थ, भन्सार छलेका पदार्थ ओसारपसार गरेको छ कि भन्ने चिन्ता गाडी धनीले लिनुपर्छ । सुरक्षा भनेको सबैको चासोको विषय हो ।
जोखिम अथवा विपद् हुने अवस्थाको बारेमा प्राप्त सूचनालाई यात्रु, गाडी धनी र चालकले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ । आफू यात्रा गर्ने सडक र पुल पुलेसाको अवस्था बुझेर गाडी चलाउनुपर्छ । सडकमा गाडी रोक्दा माथिबाट पहिरो खस्ने अथवा तलबाट कटान हुने अवस्था हो कि होइन भन्ने कुराकाे चालकले ख्याल गर्नुपर्छ ।
सडकमा दोहोरो पार्किङ गरेर गाडी आवागमन नै रोकिने गरी असहजता नहोस् भन्ने भन्ने कुरामा सचेत हुनुपर्छ । पहिरो गइहाल्यो वा गाडी जाममा परेको बेला यात्रु आत्तिन सक्छन् । त्यस बेला चालक र सहचालकले यात्रुसँग सभ्य व्यवहार देखाउनुपर्छ । बाढी पहिरो आउँदा हिलाम्मे र धुलाम्मे सडकका कारण दुर्घटना हुन सक्ने आँकलन गरेर यात्रा गर्नुपर्छ ।
यत्रा गर्दा पहिरोमा फसियो भने कहाँ सम्पर्क गर्ने ?
सुरक्षाका उपाय अपनाउँदै जाँदा जोखिम कम हुन्छ । सुरक्षाका उपाय अपनाउँदा अपनाउँदै कुनै आपत्ति आइहाल्यो भने आफू रहेको जिल्लाको प्रहरी कार्यालयको १०० नम्बरमा निःशुल्क फोन गर्न सकिन्छ । जहाँ पहिरो, बाढी, ठूलो पानी परेर यात्रा गर्न गाह्रो भएको ठाउँमा यात्रुले सूचना दिनेबित्तिकै सुरक्षाका निकाय त्यस ठाउँमा परिचालन हुन्छन् ।
नेपाल प्रहरी हरेक घटनामा पहिला पुग्ने गरेको छ । तर कहिलेकाहीँ प्रहरीको साधन स्रोतको अभावले चाहे जस्तो उद्धार हुन सकेको छैन । जोखिमको सूचना प्राप्त भएपछि जोखिम हुन सक्ने ठाउँको बारेमा सबैभन्दा पहिले आफैँ सचेत हुनपर्ने हुन्छ । कुनै पनि घटनामा पहिलो उद्धारकर्ता सम्बन्धित व्यक्ति हुन्छ । त्यसपछि साथी, छिमेकी भएपछि बल्ल प्रहरी हुन्छ ।
त्यसैले प्रहरी पनि मानिस नै भएको हुनाले घटना भएपछि पुग्न साधन स्रोतका कारण कहिलेकाहीँ नपुग्न सक्छ । एकैपटक धेरै ठाउँमा घटना भयो भने प्रहरी बाँडिएर जानुपर्ने हुन्छ । तर केही ढिलो/चाँडो घटनास्थलमा प्रहरी पुगिरहेको छ । त्यसैले प्रहरी दशैँ–तिहार नभनिकन हरेक बेला खटिरहेको हुन्छ ।
दशैँलाई तडकभडक बनाउन खोज्दा अर्को मानिसलाई असर पुग्न सक्छ
जे कुरा आफूलाई कसैले गर्दा दुःख हुन्छ, त्यो कुरा अर्को व्यक्तिलाई गर्नु हुँदैन । दशैँको सांस्कृतिक, आध्यात्मिक तथा धार्मिक अन्तरवस्तुलाई नबुझिकन बिर्सेर भौतिकवादी, तडकभडक बनाउन खोज्दा अर्को व्यक्तिलाई असर पर्ने खालका गतिविधि नगर्न अनुरोध गर्दछौँ ।
दशैँको एकदिनको तडकभडकले जिन्दगीभर पछुताउनुपर्ने दृष्टान्त भएको हुँदा जाँड–रक्सी खाएर झैझगडा गर्ने परिस्थिति बनेका घटना पनि छन् । दशैँमा आफ्नो घर छाडेर जाँदा चोरी भएका घटना, चाडपर्व भन्दै अत्यधिक जाँड–रक्सी खाएर गाडी चलाउँदा दुर्घटनामा परेका घटना र जुवातास खेलेर सम्पत्ति सकाएका घटना पनि छन् ।
दशैँजस्तो पारिवारिक पुनर्मिलनको सौहार्द वातावरणलाई अपव्याख्या गरेर सांस्कृतिक महत्त्व नबुझिकन जथाभाबी गर्ने परिपाटी गैरकानूनी, गैरसांस्कृतिक, गैरजिम्मेवार, असभ्यता झल्किने क्रियाकलाप नगर्दा हामी सभ्य नेपाली नागरिकको परिचय दिन सक्नेछौँ ।
सबैजसो मानिस दशैँ मनाउन आफ्नो मूलथलो जाने हुँदा विशेषगरी शहरी क्षेत्रका घरहरू खाली हुन्छन् । घर छाडेर मानिसले ताला ठीकसँग लगाउने, बत्ती बालेर छाड्ने, रेखदेख गर्दिन छिमेकीलाई जानकारी गराएर मात्र हिँड्ने, घरको सुरक्षा प्रबन्ध मिलाउने गर्नुपर्छ ।
सामाजिक सञ्जालमा ‘सबै परिवार बाहिर जाँदैछौँ’ भन्दै अझ तस्वीरसहित सूचना दिन जरुरी छैन । आफ्नो तस्वीर देखाउँदै अमरत्त्वको चाहनाले चोरी गर्ने मानिसलाई आफ्नो घरभित्र प्रवेश गर्ने वातावरण सिर्जना गरेका छौँ कि भन्ने चिन्ता हुन आवश्यक छ । घर छाडेर जाँदै गर्दा भएका मूल्यवान् सामान लकरमा राख्ने गर्नुपर्दछ ।
आफू कतै गएको तस्वीर सामाजिक सञ्जालमा राख्दै गर्दा त्यो समय कसैले चोरी गर्ने नियतले ढुकेर बसेको पनि हुन सक्छ । सामाजिक सञ्जालमा तस्वीर नै राख्न परे पनि आएपछि राख्दा हुन्छ । त्यसैले सामाजिक सञ्जालको जिम्मेवार तरिकाले प्रयोग गर्न पनि नेपाल प्रहरीको अनुरोध छ ।
दशैँमा नेपाल प्रहरीको तयारी
नेपाल प्रहरीका सबै एकाइलाई एक महिना अघिदेखि नै तयारी अवस्था राखेका छौँ । दशैँलगायत चाडपर्वमा सडक र शहरमा चाप बढ्छ । त्यस्तै किनमेल गर्दा, मेला पर्वका बेलालगायत मानिसको भीड हुने ठाउँमा पनि बढी मात्रामा चोरी हुने गरेको देखिन्छ ।
जाँड–रक्सी खाएर गाडी चलाउने लगायतका असुरक्षा महसूस गर्ने खालका गतिविधि हुने हुँदा यसलाई मध्यनजर गर्दै सबै प्रहरी कार्यालयमा यात्रु सहायता कक्षा स्थापना गरेर सूचना सम्प्रेषण भइरहेको छ । साथै प्रहरीले मोटरसाइकल गस्ती, पैदल गस्ती गर्दै पनि सुरक्षा प्रदान गरिरहेको छ ।
दशैँको बेला अवैध रूपमा सामान भित्रिने हुँदा शङ्का लाग्नेबित्तिकै गाडी रोकेर जाँच गर्ने काम प्रहरीले गर्छ । विस्फोटक पदार्थ प्रयोग गर्न पूर्ण निषेध भएकाले भन्सार छली गरी आउने पटकामा पनि प्रहरीले विशेष निगरानी राख्छ । कोही कसैले कानूनको विरुद्धमा गएर उच्छृङ्खल गतिविधि गर्छ भने उसलाई पक्राउ गरेर मुद्दा दर्ता गर्ने कामसमेत दशैँका बेलामा पनि हुन्छ ।
कालोबजारी गर्नेलाई मुद्दा दर्ता गर्न पनि मातहतका निकायलाई केन्द्रबाट निर्देशन दिएका छौँ । अहिले हरेक जिल्लाका प्रहरी कार्यालयले यो बेला हुन सक्ने अपराधको अवस्था हेरेर सुरक्षा योजना बनाएर काम गरिहेका छन् ।
नागरिक पनि बर्दीविनाका प्रहरी हुन् । सबै कुरा प्रहरीले गर्दिने र नागरिक चुप लागेर बस्ने विश्वमा कतै पनि हुँदैन । प्रहरी र नागरिकको संयुक्त प्रयासबाट मात्रै अपराध रोकिन्छ, भएका अपराध अनुसन्धान हुन्छन् र सफल पनि भएका छन् ।
त्यसैले नागरिकले कानून विपरीतका क्रियाकलाप नगरिदिएर र गाडी चलाउँदा पनि गाडी नियमको पालना गरेर हिँड्दा कोही कारबाहीमा पर्दैन । कतै केही घटना भयो, कसैलाई अप्ठ्यारो पर्यो भनेर प्रहरीलाई सूचना दिएर सभ्य नागरिकको परिचय दिनुहुनेछ भन्ने अपेक्षा गरेका छौँ ।
सभ्य समाजमा बदमासी गर्ने, उच्छृङ्खल गतिविधि गर्ने, कानून विपरीतका क्रियाकलाप गर्नेलाई कुनै ठाउँ छैन भन्ने सन्देश पनि दिने गरी काम गरेमा दशैँ मात्र होइन यस पछाडि आउने चाडपर्वका बेलमा पनि नागरिकस्तरबाट सहयोग हुन्छ भन्ने अपेक्षा गरेका छौँ । यसरी बल्ल हामी सुरक्षित र समुन्नत समाज सिर्जना गर्न सफल हुन्छौँ र दुर्गाभवानीले पनि सबै नागरिकलाई सद्बुद्धि दिनुहुनेछ भन्ने हाम्रो कामना छ ।
(नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीसँगको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
प्रहरी नायव नायब महानिरीक्षक (डीआईजी) कार्की नेपाल प्रहरीका प्रवक्ता एवम् सूचना अधिकारी हुनुहुन्छ ।