बाढी पहिरोले उत्तरी नाका बन्द, कन्टेनरमा रहेका फलफूल कुहिने अवस्थामा

 असोज १८, २०८१ शुक्रबार ९:१२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बाढी पहिरोका कारण बन्द भएका उत्तरी दुई वटा नाका खुलाउने प्रयास भएको छ । अहिलेलाई अस्थायी रूपमा खुलाएर बाटोमा रोकिएका कन्टेनर गन्तव्यमा पठाउने तयारी भइरहेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले उज्यालोलाई जानकारी दिनुभयो । यसका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।

उत्तरी चीन जोड्ने मुख्य दुई नाका बन्द भएपछि नेपाली व्यवसायीले आयात गरेका लत्ताकपडा, फलफूललगायतका सरसामान एक हप्तादेखि बाटोमै रोकिएका छन् । उत्तरी नाकाका पुल र सडक भोटेकोशी नदीले बगाएपछि अहिले रसुवागढीतर्फको केरुङ र तातोपानीतर्फको खासा आएका कन्टेनर नेपाल भित्रिन पाएका छैनन् ।

तातोपानीतर्फको सीमा नजिकैको भोटेकोशीको बेलिब्रिज र कोदारी खोलाको पक्की पुल बाढीले बगाएको छ भने अरनिको राजमार्गको बाह्रबिसेदेखि मितेरीपुलसम्मको २६ किलोमिटरको सडकमा क्षति पुगेको छ । रसुवा नाकाको नेपालतर्फको भू–भागको सडक मर्मत गरेर अस्थायी रूपमा सञ्चालन गरिए पनि चीनको केरुङतर्फको सडक बनाउन समय लाग्ने भएको छ ।

रसुवागढी नाकाको नेपाली भू–भागमा आइसकेका सामान लोड गरेका कन्टेनरहरू पनि ढुक्कसँग काठमाण्डौ आउन नसकेको र तातोपानी भन्सारमा भएका कन्टेनरहरू पनि उतै रोकिएका कार्कीले बताउनुभयो । खासा र केरुङमा चार सय वटाभन्दा धेरै कन्टेनर गोदाम र सडकमा रोकिएर बसेका व्यापारीहरूको भनाइ छ ।

तातोपानी र रसुवा भन्सार भएर काठमाण्डौ भित्रिनुपर्ने कन्टेनर एक हप्तादेखि रोकिएर बस्दा फलफूल र मरमसला गुम्सिएर कुहिने र सड्ने अवस्थामा पुगेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले उज्यालोलाई बताउनुभयो । फलफूल सड्न लागेको र दशैँका लागि ल्याइएका लत्ताकपडा पनि उतै रोकिएपछि व्यवसायी थप चिन्तित बनेका छन् ।

अन्तिम अपडेट: मंसिर १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया