उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
अहिले प्राय युवाहरुले कमाउनलाई कि जागिर खानुपर्छ कि विदेश जानुपर्छ भन्ने गर्छन् । मैले पनि केही वर्ष अघिसम्म यस्तै सोच्थें । यस्तै सोचाईले इण्डियन आर्मीमा जागिर खानलाई प्रयास गरें ।
दुई पटक प्रयास गर्दा पनि सफल भइन । बरु झण्डै डेढ लाख रुपैयाँ सक्कियो । लाहुरे हुन नसकेको झ्वाँकमा काठमाडौं गएर विदेश पठाउने म्यानपावरमा पुगें । म्यानपावरले एउटा इलेक्ट्रोनिक्स कम्पनीमा हेल्परको काम आएको बतायो ।
त्यसका लागि एक लाख २० हजार तिरें । म्यानपावरले मलेसियामा ८ घण्टा काम गर्दा ९ सय रिंगिट बेसिक सेलरी र दैनिक चार घण्टा ओभरटाइम हुन्छ भन्यो । लाहुरे हुन नसकेको पीरमा मैले अरु केही सोच्दै सोचिनँ ।
मलेसिया गएँ । त्यहाँ म्यानपावरले भनेको जस्तै काम पाएँ । तलब पनि भनेको जस्तै थियो । तर ओभरटाइम चाहिँ कम्पनीले बनाएका सामान बिक्री भएको बेला हुन्थ्यो । ओभरटाइम हुँदा महिनामा झण्डै ५० हजार रुपैयाँ कमाइ हुन्थ्यो । नहुँदा ३५ हजार रुपैयाँ । यही कमाइमा दुई वर्ष ११ महिना मलेसियामा बसें ।
त्यति बसेर कमाएको पैसा घरमा पठाएँ पनि तर नेपालमा पनि घरपरिवार चलाउनुपर्यो । त्यसो गर्दा त्यो पैसा त्यतै जाँदो रहेछ । मलेसिया बसेर मैले लाहुरे हुन खोज्दा लिएको ऋणदेखि मलेसिया जाने बेलामा लिएको ऋण तिरें । अरु चाहिँ परिवारमै खर्च भयो ।
विदेश जाने बेलामा धेरैले दुई/तीन वर्ष बस्ने अनि झ्याप्पै कमाएर ल्याउने भन्ने सोच्छन् । तर विदेश गएर त्यसरी कमाउन सकिँदो रहेनछ । जाँदाको लगानी अनि परिवार चलाउने जिम्मेवारीले पैसा बचाउन सकिने रहेनछ ।
त्यति मात्रै होइन विदेश गएको तीन वर्षमा के नै पो गर्न सकिन्छ र । त्यहाँको वातावरण बुझ्दा र काम सिक्दा सिक्दै त्यति समय गइहाल्छ । विदेश नै गएर कमाउँछु भन्ने सोच्नेहरुले कि त ८/१० वर्ष नै विदेशमा बिताउन सक्नुपर्ने रहेछ ।
यत्ति बुझेपछि म घर फर्किएँ । अहिले गाउँमै किराना पसल चलाइरहेको छु । झण्डै तीन लाख रुपैयाँ लगानी गरेको पसलबाट मैले मलेसियाको जति नै कमाइरहेको छु । घरमा यही पसलको मात्रै काम छैन ।
मैले अरु काम पनि गरिरहेको छु । यसबाट परिवारलाई पनि सहयोग पुगेको छ । त्यसैले अहिले त वैदेशिक रोजगारी भन्ने कुरा मेरो सोचाइको प्राथमिकतामा पनि छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।