शून्य कार्बन उत्सर्जनमा धुलिखेल नगरपालिकालाई युरोपियन युनियन( ईयू) को सम्मान

 कात्तिक १४, २०८१ बुधबार १२:२१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका स्वीच एशिया तथा युरोपियन युनियन (ईयू) कोषबाट कार्बन उत्सर्जन कम गर्न कुशल भूमिका निर्वाह गरेकामा सम्मानित भएको छ । नगरपालिकाले गएको सात वर्षदेखि शून्य कार्बन उत्सर्जन गर्ने नीति तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

धुलिखेल दक्षिण एशियामा शून्य कार्बन उत्सर्जन गर्ने नीति तथा कार्यक्रम सञ्चालन गरेको जनाउँदै उत्कृष्ट शहरका रुपमा सम्मानित भएको हो । शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ वटा सहरमध्ये पाँचौँ नम्बरमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका परेको हो ।

कार्बन उत्सर्जनलाई शून्यतामा झारेर वातावरणमैत्री बन्ने एशियाको पहिलो नगरपालिका पनि धुलिखेल बनेको मेयर अशोक ब्याञ्जुले बताउनुभयो । नगरले आकाशबाट झरेको पानी सङ्कलन गर्ने, उद्योगबाट उत्पादन हुने फोहोरको आफैँले ‘ट्रिटमेन्ट प्लान्ट’ बनाएर त्यस्ता उद्योगलाई १० प्रतिशत कर छुट गर्ने कानून निर्माण गरेको छ ।

यस्तै नगरले पानी ‘रिचार्जिङ’ कार्यक्रमको मोडेलअनुसार काम गरिरहेको छ । नगरले केही वर्षदेखि गाडीबाट उत्पन्न हुने प्रदूषण कम गराउने प्रविधि, उद्योग राख्दा पनि प्रदूषण नहुने तरिकाले प्रदूषण शून्य भएको सहर बनाउनेलगायतका काम गरेको ब्याञ्जूको भनाइ छ ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठनले गत भदौमा धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ शहर’ घोषणा गरेको थियो । सङ्गठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एशियाको दोस्रो स्वस्थ शहर बन्नसमेत सफल भएको हो । 
 

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया