जन्मनासाथ बालबालिकाको अपाङ्गतासहित चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य

 कात्तिक १५, २०८१ बिहीबार १४:१५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले प्रसूतिसेवा उपलब्ध हुने सबै सङ्घीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण अनिवार्य गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रसूतिसेवा उपलब्ध हुने सबै सङ्घीय अस्पतालमा अपाङ्गतासहितका चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य गर्ने निर्णय गर्नुभएको हो ।

जन्मनासाथ थाहा पाउन सकेमा बालबालिकालाई अपाङ्गतासहितका धेरै स्वास्थ्य समस्याबाट बचाउन सकिने भएकोले यस्तो निर्णय गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

अब प्रसूति र बाल उपचारसेवा भएका सबै अस्पतालमा जन्मिएका बालबालिकाको अपाङ्गतासँगै रगतबाट थाइराइड परीक्षण हुनेछ ।

यसैगरी सुन्ने क्षमता वा आँखाको दृष्टिसम्बन्धी खराबीसमेत परीक्षण हुनेछ । बालबालिकाको जण्डिससम्बन्धी परीक्षणसमेत ती अस्पतालहरुमा हुने मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलले आफ्नो योजना तथा प्राथमिकतामा बालबालिकाको जन्मनासाथ हुने परीक्षणको दायरा बढाएर अपाङ्गता तथा प्रमुख स्वास्थ्य समस्याको निदान थालिने बताउनुभएको थियो ।

विश्वमा ६ प्रतिशत बालबालिकामा जन्मनासाथ अपाङ्गताको समस्या देखिने गरेको छ । तर समयमै परीक्षण तथा उपचार भएमा धेरै हदसम्म समस्या हटाउन सकिने अध्ययनले देखाएका छन् ।
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया