टिकटक नेपालमा आधिकारिक रूपमा सूचीकृत

 कात्तिक २१, २०८१ बुधबार १४:५८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सामाजिक सञ्जाल टिकटक नेपालमा सूचीकृत भएको छ । प्रक्रिया पुर्‍याएर टिकटक सूचीकृत भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गजेन्द्रकुमार ठाकुरले जानकारी दिनुभयो ।

मन्त्रालयले राखेका सबै शर्त र सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाले व्यवस्था गरेका विषयहरूमा सहमत भएपछि सूचीकृत गरेर प्रमाणपत्र दिएको उहाँले बताउनुभयो । टिकटकले हिजो नेपालमा सूचीकृत भएको प्रमाणपत्र पाएको छ ।

टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सामग्रीहरूमा सहयोग गर्ने, डिजिटल साक्षरताका विषयमा सहयोग गर्ने लगायतका नेपाल सरकारले तोकेका शर्तहरू पनि पूरा गर्ने जनाएको छ ।

टिकटक अब आधिकारिक रूपमा नेपालको ऐन कानूनको परिपालना गर्ने प्रक्रियामा अघि बढेको छ । यसअघि सरकारले २०८० सालको कात्तिक २७ गते नेपालमा टिकटक बन्द गरेकोमा गएकाे भदौ १९ गते प्रतिबन्ध हटाएको थियो ।

टिकटक नेपालमा सूचीकृत भएको तेस्रो सामाजिक सञ्जाल बनेको छ । यसअघि भाइबर र विटक सूचीकृत भएका छन् । यस्तै सरकारले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स लगायतका सामाजिक सञ्जालको माउ कम्पनी मेटा, सामाजिक सञ्जाल एक्स अर्थात् ट्विटर लगायतलाई पनि नेपालमा सूचीकृत हुन आह्वान गर्दै पात्राचार गरेको प्रवक्ता ठाकुरले बताउनुभयो ।

सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई सरकारले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने निर्देशिकामा उल्लेख छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया