उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ ।
बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खिर षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।
यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि रहेको छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले परिवारको सुख, कल्याण र समृद्धि हुने विश्वास छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउलगायतको बढी प्रयोग गरिन्छ । छठका लागि तराई, मधेश र काठमाण्डौ उपत्यकाका नदी, तलाउ र जलाशय झकिझकाउ भएका छन् ।
पछिल्लो समय यो पर्व पहाडमा पनि धुमधामका साथ मनाउन थालिएको छ । तराई/मधेसका समुदायको भनेर मानिने छठ पर्व पहाडी समुदायले पनि मनाउन थालेसँगै सह–संस्कृतिको हिस्सा बन्दै गइरहेको छ ।
छठ पर्वका लागि काठमाण्डौको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरीलगायत वागमती, नख्खु र विष्णुमती नदी किनारमा सजावट गरिएको छ । २०४६ सालदेखि नै सरकारले यो पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।