परराष्ट्रमन्त्री राणा आज चीनको छेन्दु जाँदै
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डौको टेकुमा रहेको विष्णुमती किनारमा फोहोर थुपार्ने ठाउँ छ । फोहोर वर्गीकरण गर्ने केन्द्र भए पनि त्यहाँ धेरै दिनसम्म फोहोर थुप्रन्छ । फोहोरबाट दुर्गन्ध त निस्कन्छ नै तरल पदार्थ बगेर नदीमा मिसिन्छ । फोहोर थुपार्ने ठाउँ नजिकैका बासिन्दा बाबुराजा देउला दुर्गन्ध आइरहने बताउनुहुन्छ ।
देउला भन्नुहुन्छ, ‘बस्दा बस्दा अहिले त हामीले यो फोहोरको दुर्गन्ध पनि थाहा नपाउने भइसकेका छौँ । स्वास्थ्यमा असर त गरिहाल्छ । हामीलाई जस्तै नदीको पानीमा बस्ने जीवजन्तु र त्यो पानी प्रयोग गर्ने सबैलाई असर गर्छ । यसरी नदी किनारमा फोहोर थुपार्ने काम गर्न त नहुने हो ।’
टेकुमा काठमाण्डौ महानगरपालिका आफैँले फोहोर थुपार्छ । काठमाण्डौ उपत्यकामा टेकु बाहेक अरू ठाउँमा पनि नदी किनारमा फोहोर थुपार्ने ठाउँ छन् जहाँ निजी कम्पनीहरूले फोहोर थुपारेर वर्गीकरण गर्छन् ।
नदी किनारमा फोहोर थुपार्दा नदीको पानी नै दूषित हुने गरेको जावाखालेखमा पसल गर्ने सुमित्रा गजुरेल बताउनुहुन्छ । गजुरेल भन्नुहुन्छ, ‘काठमाण्डौमा फोहोर थुपार्ने ठाउँ धेरैजसो नदीको छेउमै देखिन्छ । यहाँ केही दिन राखेर बञ्चरेडाँडा लैजाने भन्छन्, बञ्चरेडाँडामा पनि फोहोरबाट निस्कने झोल खोलामा पसेर माछा नै मासिए भन्ने सामाचार आइरहेको छ । यसो गर्नुहुन्न ।’
धेरैतिर नदी किनारमै फोहोर
विशेषगरी काठमाडौ उपत्यका र अरू धेरैजसो शहरहरूमा फोहोर थुपार्ने ठाउँ नदी किनारमै बनाएको पाइन्छ । नदी छेउमा फोहोर थुपार्दा फोहोरबाट निस्कने तरल पदार्थ सिधै नदीमा जान्छ । कतिपय फोहोर व्यवस्थापन पनि नगरी नदी तथा खोलामा फ्याँक्ने गरेको पाइन्छ ।
हिउँदभर जम्मा भएको फोहोर वर्षायाममा भल आएपछि नदीले बगाएर लगेको पनि देखिन्छ । यसको उदाहरण गएको असोज दोस्रो हप्ता काठमाण्डौ उपत्यकामा आएको बाढीले नदी किनारमा असरल्ल बनाएको फोहोरलाई पनि लिन सकिन्छ ।
फोहोर व्यवस्थापन विज्ञ एवम् त्रिचन्द्र कलेजकी उपप्रध्यापक डा. ज्योति गिरी नदी किनारमा फोहोर थुपार्नु वातावरणीय दृष्टिले हानिकारक रहेको बताउनुहुन्छ । फोहोर व्यवस्थापन पूर्वाधारको कमी, जग्गाको अभाव र उच्च मूल्य, छिटो र सस्तो समाधानको खोजी, सरकारी नीति कार्यान्वयनमा कमजोरीलगायतका कारण यस्तो समस्या बढिरहेको पाइन्छ ।
नदी प्रणाली नै बिथोलिन्छ
नदीमा फोहोर फ्याँकेमा बगाएर लैजान्छ र आफ्नो ठाउँ सफा हुन्छ भन्ने मान्यता धेरैमा रहेको पाइन्छ । धेरैजसो पालिकाहरूले समेत नदी तथा खोलामा फोहोर फ्याँक्ने कामलाई रोक्न प्रयास गरेको पाइन्न । उल्टै फोहोर वर्गीकरण गर्ने ठाउँ तथा कतिपय त फोहोर थुपार्ने अन्तिम ठाउँ नै नदी किनार वा नजिकै बनाएको पाइन्छ ।
खोला तथा नदी किनारमा फोहोर थुपार्दा यसले समग्र नदी प्रणालीमै असर गर्ने फोहोर व्यवस्थापन विज्ञ डा. ज्योति गिरी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘फोहोरले जीवनमा असर गर्छ, हामी मानिस त्यस्ता नदीसँग नजिक हुँदा हाम्रो जीवनमा असर गर्छ भने त्यो नदीमा अरू धेरैको जीन छ नि, त्यहाँ रहेका जलचरहरूलाई सिधै असर गर्छ । यसरी असर गर्ने क्रममा नदीको पारिस्थितिक प्रणालीमै असर गरेर नदी प्रणाली नै खलबलिन जान्छ ।’
नदी सफाइसम्बन्धी अभियान चलाउँदै आएका चक्रबहादुर चन्द नदी तथा खोला किनारमा फोहोर थुपारेका थुप्रै उदाहरण रहेका र त्यसले नदीमा गम्भीर असर गरिरहेको बताउनुहुन्छ । बाग्मती नदीमा जलचर पाइनै छाड्नु फोहोरकै कारण हो भन्दै चन्द भन्नुहुन्छ, ‘नदी किनारमा फोहोर थुपार्ने क्रम बढ्दै जाने हो भने नदीहरूले यस्तै नियति भोग्नुपर्छ ।’
‘प्रयास गरेका छौँ तर सजिलो छैन’
देशभरका पालिकाहरूमध्ये काभ्रेको धुलिखेल नगरपालिकामा भइरहेको फोहोर व्यवस्थापनको कामलाई उदाहरणका रूपमा लिने गरिएको छ । सघन शहरी क्षेत्रसमेत रहेको काभ्रेमा फोहोर व्यवस्थापनका लागि थुप्रै प्रयास भएका छन् । तर शहरी क्षेत्रमा फोहोर व्यवस्थापनको काम सजिलो नभएको धुलिखेल नगरपालिकाका मेयर अशोककुमार व्यञ्जु बताउनुहुन्छ ।
मेयर व्यञ्जु भन्नुहुन्छ, ‘हामीले सक्दो प्रयास गरेका छौँ र केही सफल भएका छौँ । तर सजिलो छैन । फोहोर व्यवस्थापनका लागि सजिलै जग्गा पाइँदैन, प्रविधि र दक्ष जनशक्तिको अभाव रहन्छ । योसँगै फोहोर व्यवस्थापनको जिम्मेवारी पालिकालाई दिएको सङ्घीय सरकारले आवश्यक सहजीकरण पनि गर्दैन । यी सबै कारण समस्या छ तर प्रयास गरेमा सकिन्छ भन्ने उदाहरण हामी बनेका छौँ ।’
उहाँले धुलिखेल नगरपालिकाले फोहोरलाई नदीमा पुग्नबाट रोक्न हरसम्भव प्रयास गरेको र धेरै सफल भएको बताउनुभयो । नगरपालिका महासङ्घका पूर्वअध्यक्षसमेत रहेका व्यञ्जु सङ्घीय सरकारले पालिकाहरूलाई सहयोग गर्नैपर्ने बताउनुहुन्छ ।
सरकारको नीति हैन तर रोकिँदैन
नेपाल सरकारको आधिकारिक नीति खोला किनारमा फोहोर व्यवस्थापन गर्ने होइन । फोहोरमैला व्यवस्थापन ऐन २०६८ ले वैज्ञानिक र वातावरणमैत्री फोहोर व्यवस्थापनलाई जोड दिएको छ । फोहोरको व्यवस्थापन गर्ने जिम्मेवारी पालिकाहरूलाई दिएको छ । तर पालिकाहरू आफूहरूले चाहेर पनि नदीमा फोहोर पुग्नबाट रोक्न नसकिरहेको बताउँछन् । व्यञ्जु तत्कालै सबै नदी आसपासबाट फोहोर थुपार्ने ठाउँ हटाउन सजिलो नभएको तर सबै तहका सरकार मिलेर काम गर्नुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार पर्याप्त बजेट र प्राविधिक ज्ञानको कमी, जनचेतनाको कमी र सामाजिक प्रतिरोध, तत्काल वैकल्पिक स्थानहरूको अभावलगायत चुनौती छन् ।
नदी किनारमा फोहोर थुपार्नु आफैँमा जटिल समस्या हो । यसका लागि सरकारले स्पष्ट नीति बनाएर कार्यान्वयन गर्नुपर्छ । फोहोर व्यवस्थापन विज्ञ डा. ज्योती गिरी आधुनिक ल्यान्डफिल साइटहरूको निर्माण गरी फोहोर छुट्याउने र पुनः प्रयोग गर्ने प्रणालीको विकास गर्नुपर्ने बताउनुहुन्छ ।
फोहोरको वर्गीकरण घरमै गर्ने र सङ्कलित फोहोरलाई आधुनिक ल्यान्डफिल साइटमा लगेर व्यवस्थापन गरेमा फोहोर थुपार्ने ठाउँबाट नदीमा पर्ने समस्या कम हुने उहाँले बताउनुभयो । जैविक फोहोरबाट कम्पोस्ट र बायोग्यास उत्पादन गर्ने, पशुचौपायाको आहारामा प्रयोग गर्ने लगायतका उपायहरू अवलम्बन गरेमा सहज हुने डा. गिरीको भनाइ छ । नदी किनारमा फोहोर थुपार्ने क्रम रोक्न दीर्घकालीन योजना, पर्याप्त लगानी र सामुदायिक सहभागिता आवश्यक छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।