यूएईलाई हराउँदै नेपाल १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट

 कात्तिक २८, २०८१ बुधबार १७:५४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यूएईलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकपको एशिया छनोटको निर्णायक खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायो । यूएईले दिएकाे ८४ रनकाे लक्ष्य नेपालले १४ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायाे । नेपालकी सना प्रवीनले ३५, कप्तान पूजा महतोले २१, साेनी पाख्रिनले १३, सावित्री धामीले १२ रन बनाइन् । यूएईकी मेहक ठाकुरले २ विकेट लिइन् ।

यसअघि घरेलु मैदान सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनायाे । यूएईकी समिरा धार्निधार्काले सबैभन्दा धेरै ३१ रन बनाइन् । नेपालकी कृष्मा गुरुङले ४, रिया शर्मा, कृष्मा गुरुङ र सिमाना केसीले दुई तथा रचना चौधरीले १ विकेट लिए । कृष्माले खेलको १८ औं ओभरमा ३ विकेट लिइन् ।

चार वटा देश सहभागी प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहेर पहिलो पटक १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको हो । नेपालले ६ खेलमा १० अङ्क जोड्यो । यूएईको पनि ६ खेलमा १० अङ्क भए पनि नेट रन रेटका आधारमा दोस्रो भयो । यस्तै थाइल्यान्ड ६ खेलमा ४ अङ्कसहित तेस्रो र कुवेत ६ वटै खेल हारेर पुछारमा रह्यो ।

नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । यस्तै नेपाल तेस्रो खेलमा यूएईसँग १३ रनले पराजित भएको थियो । यस्तै नेपालले चौथो खेलमा थाइल्यान्डलाई १ सय ६ रन र पाँचौं खेलमा कुवेतलाई १ सय ६५ रनले हराएको थियो ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्काे वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया