मालढुङ्गा–बेनी सडक बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक छ घण्टा बन्द हुने

 मंसिर ४, २०८१ मंगलबार ७:४५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गा–बेनी खण्ड दैनिक छ घण्टा बन्द गरिने भएको छ । सडक कालोपत्र र स्तरोन्नतिका लागि आजदेखि मङ्सिर ११ गतेसम्म दैनिक छ घण्टा सडक खण्ड बन्द गर्न लागिएको हो ।

सडकको प्रवेश विन्दुमा पर्ने पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा सडकको क्षेत्राधिकारमा पर्ने ढुङ्गा फुटाएर पन्छाउन र मालढुङ्गाबाट लस्तीसम्म कालोपत्र गर्न गाडी बन्द गर्न लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले आजदेखि आठ दिनसम्म बिहान १० देखि दिउँसो ४ बजेसम्म गाडीको आवतजावत रोकेर निर्माणको काम गर्ने निर्णय भएको जानकारी दिनुभयो । म्याग्दी र मुस्ताङ आवतजावत गर्ने गाडीको चापका कारण निर्माण प्रभावित भएकाले समय तालिका बनाइएको उहाँले बताउनुभयो ।

सडक खण्ड अवरुद्ध हुँदा मालढुङ्गा–बागलुङ–बेनी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ । अत्यावश्यक एम्बुलेन्स, दमकल र शववाहन सञ्चालनका लागि भने आवश्यक सहजीकरण गरिने आयोजनाले जनाएको छ ।

कुश्मा–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित आयोजनाको अहिलेसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको छ ।
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया