पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्या...
मंसिर १३, २०८१ बिहिबार
कालीकोट – कालीकोटको खाँडाचक्र नगरपालिकाले नियम विपरीत निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको छ ।
नगरपालिकाका मेयर कमलबहादुर शाहीको एकल निर्णयले प्रशासनतर्फका अधिकृत छैटौं तहमा कार्यरत अबिराज शाहीलाई सातौं तहमा बढुवा गरी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको खुलेको हो ।
मेयर शाहीले नगर कार्यपालिका र नगर सभाले वडाका लागि विनियोजन गरेको बजेट कटौती गर्दै मेयर कोषमा राख्न दबाब दिएको र निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका प्रवलजंग शाहीले एकल निर्णय अमान्य हुने भनेपछि मेयर शाहीले निमित्त प्रमुख प्रशासकीय अधिकृत फेरेको शाहीको आरोप छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग हुँदा हुँदै अधिकृत छैटौँ तहका अबिराज शाहीले आफ्नो पदस्थापन र बढुवा आफैँ तयार गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएर नियुक्त भएका हुन् । कर्णाली प्रदेश सरकारले स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०८१ असोज २९ गते जारी गरेको थियो ।
ऐन जारी भए पनि नियमावली नबनेकाले तत्काल ऐन कार्यान्वयन नगर्न/नगराउन सबै पालिकालाई जानकारी गराइएको आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशका सचिव पुष्पराज शाहीले बताउनुभयो ।
आफू खुशी अधिकृत स्तर छैटौंबाट सातौं तहमा बढुवा गर्ने कुनै कानूनी आधार प्रमाण नभएको र त्यस्तो कार्य गरेमा कानून बमोजिम हुने कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चूडामणि पौडेलले बताउनुभयो ।
कर्णाली प्रदेश सरकारले तत्काल बढुवा तथा स्तर वृद्धि नगर्नका लागि पालिकालाई गएको कात्तिक ६ गते परिपत्र गरिसकेको छ । मेयर शाहीले कार्यपालिकामा निर्णय नगराएर नै अबिराज शाहीलाई सातौं तहमा आफू खुशी बढुवा गरेको ८ नम्बर वडाका अध्यक्ष तथा कार्यपालिका सदस्य नन्दबहादुर मल्लले बताउनुभयो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरिएका कागजपत्रका आधारमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको र गलत कागज पत्र पेश गरिएको भए तत्काल संशोधन गरिने शाखा अधिकृत केशव राज पार्धेले बताउनुभयो । मेयर शाहीले स्थानीय तह आफैँमा सरकार भएकाले कतिपय निर्णय र काम गर्न मिल्ने दाबी गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।