नेपालकै पहिलो नेटवर्क आर्क पुल : निर्माण काममा किन ढिलाई ?

 मंसिर २०, २०७५ बिहीबार ९:१४:३४ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – काठमाडौंको दुई ठाउँमा नेपालकै पहिलो नेटवर्क आर्क पुल बनाउने काम भैरहेको छ । तर काम कछुवा गतिमा भैरहँदा कहिलेसम्म पुल बनिसक्छ भन्ने टुंगो छैन ।

बिजुलीबजारको धोबीखोला र तीनकुनेको बागमती नदीमाथि बनिरहेको नेटवर्क आर्क पुल एक वर्षअघि नै तयार भैसक्नुपर्ने हो । तर अहिलेसम्म काम ४० प्रतिशत मात्र सकिएको छ ।

धोबीखोलामाथि दुईवटा र बागमती नदीमाथि दुईवटा गरी जम्मा चारवटा पुल बनाउनुपर्नेमा धोबीखोलामाथिको एउटा पुल मात्र निर्माणको अन्तिम चरणमा पुगेको छ । अरु तीनवट पुलहरु भने कहिले बनिसक्छन् कुनै निश्चित छैन ।

वि.सं २०७१ साल पुष महिनामा पुल निर्माणको योजना बनाएर ठेक्का अघि बढाइएको थियो । १३ करोड १३ लाख रुपैयाँमा धोबीखोलामाथिको पुल निर्माणको ठेक्का जेई कन्स्ट्रक्सन र २१ करोड ३३ हजार रुपैयाँमा बागमती नदीमाथिको पुल निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनलाई दिइएको थियो ।

ठेक्काअनुसार धोबीखोलामाथि  ५० मिटर लम्बाई र १२ मिटर चौडाईका दुईवटा पुलको निर्माणकार्य २०७४ पुषभित्र र बागमती खोलमाथि ८५ मिटर लम्बाई र १२ मिटर चौडाईका दुईवटा पुल निर्माणकार्य २०७५ असार ५ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने थियो । तर तोकिएको समयसीमा नाघिसक्दा पनि निर्माणको काम भने अझै लम्बिंदै गएको छ ।

उपत्यकाका सडक विस्तारपछि साँघुरिएका पुललाई फराकिला बनाउने योजनाअन्तर्गत सरकारले यी पुल निर्माणको काम अघि बढाएको थियो । यस्ता पुलले सडकको सौन्दर्यता पनि बढाउने भएकाले नेटवर्क आर्क पुल नै बनाउन थालिएको हो ।

कहिलेसम्म बनिसक्छन् पुल ?

काठमाडौं उपत्यका सडक विस्तार योजना अन्तर्गत रहेर यी पुल निर्माणको काम भैरहेको छ । योजनाका प्रवक्ता तथा ईञ्जिनियर विश्वविजयलाल श्रेष्ठका अनुसार धोबीखोला पुल निर्माणको काम ५५ प्रतिशत सकिएको छ भने अनुमानित लागतको ५५ प्रतिशत नै खर्च भैसकेको छ । यस्तै तीनकुनेको पुल निर्माणको काम ३० प्रतिशत सकिंदा खर्च भने ३५ प्रतिशत भईसकेको छ ।

धोबीखोलामाथिको एउटा पुल दुई महिनाभित्रै सञ्चालनमा ल्याउने श्रेष्ठले बताउनुभयो । ‘सबै काम सकेर अब फिनिसिङको काम मात्र बाँकी छ, दुई महिनाभित्रै सञ्चालनमा आउनेछ’ उहाँले भन्नुभयाे ‘अर्को पुल निर्माणको काम भने जग्गा विवादका कारण ढिला भएको. हो । अहिले विवाद मिलाएर पुल निर्माणको काम अघि बढिसकेको छ ।’ यो पुल पनि यही आउँदो आर्थिक वर्षसम्म सम्पन्न गर्ने श्रेष्ठले दाबी गर्नुभयो ।

तीनकुनेको पुल निर्माणको काम भने निर्माण गरिसक्नुपर्ने भनेर तोकिएको म्याद सकिन लाग्दा बल्ल अघि बढेको छ । सुरुवातीका डेढ वर्ष डिजाइन बनाउनमा नै लागेको र त्यसपछिका दुई वर्ष ढल, पानी, पोल आदि व्यवस्थापनमा खर्च भएका कारण गएको फागुनदेखि मात्र काम सुरु गरिएको योजनाका प्रमुख दिपक केसीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा यस्तो पुल पहिलो भएकाले अनुभवी कन्सल्टेन्ट नहुँदा बंगलादेशबाट ल्याएर गराउनुपरेको हो ।’

तीनकुनेको पुल निर्माण गर्न अझै डेढ वर्ष जति लाग्ने श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले सुपरस्ट्रक्चरको काम भईरहेको छ, वि.सं. २०७६ को अन्तिमसम्म निर्माण सम्पन्न होला भन्न सकिन्छ ।’

के हो नेटवर्क आर्क ब्रिज ?

पुलको भार पिल्लरमा नभई आर्कले बहन गर्ने पुललाई आर्क ब्रिज भनिन्छ । आर्क भन्नाले पुलको माथिको घुमाउरो भागलाई जनाउँछ । यस प्रविधिमा बन्ने पुलहरु जतिसुकै लामो भए पनि दुई छेउबाहेक बीचमा पिल्लर राख्नु पर्दैन ।

नेटवर्क आर्क ब्रिजमा पुलको भार बहन गर्नका लागि आर्क र पुलको बिमलाई फलामे ह्याङगरहरुको नेटवर्कले जोडिन्छ । यसले गाडीको भारलाई एउटै ठाउँमा सीमित नगरी चारैतिर फैलाएर राख्ने हुदा बढी भार क्षमता पनि थेग्न सक्ने श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार यी पुलहरुलाई नेटवर्क आर्क ब्रिज भनिए पनि अरसीसी, प्रि—स्ट्रेस र आर्क तीनवटै प्रविधि प्रयोग गरिएको हुन्छ । जसअनुसार पुलको पूर्ण भार बिम, केबल वायर र आर्कले संयुक्तरुपमा बहन गर्दछ । अन्य पुलमा जस्तो पिल्लरलाई नदीको पानीको बहाबले हल्लाएर पुल भत्किने डर यस्तो पुलमा रहँदैन ।

अहिलेसम्म नेपालमा बनेका पुलहरु आरसीसी वा प्रि—स्ट्रेस प्रविधिमा अधारित भएको श्रेष्ठले बताउनुभयो । आरसीसी प्रविधिको प्रयोग गर्दा २५ मिटरको दुरीमा पिल्लर राख्नुपर्छ भने प्रि—स्ट्रेस प्रविधिमा आइपुग्दा ४० देखि ५० मिटरमा पिल्लर राखे हुन्छ ।

‘यो पुल नेपालकै पहिलो नेटवर्क आर्क ब्रिज हो’ श्रेष्ठले भन्नुभयो, ‘यस्तै पुल मुग्लिनमा बनिरहेको छ, तर त्यो पुल नेटवर्क आर्क नभई आर्क मात्र हो । त्यस पुललाई फलामको नेटवर्कले यसरी झुण्ड्याइएको हँुदैन ।’

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया