आशबहादुरको सातौं विदेश यात्रा : यसपटक घरबारी बेचेर मलेसिया जाँदै

 असार २, २०७५ शनिबार १०:४५:४० | सुजता सुनुवार

इलाम – इराक र अफगानिस्तान रोजगारीका लागि असुरक्षित देश हुन् । त्यसैले सरकारले यी देशमा रोजगारीमा जान नपाउने गरी रोक्का गरेको छ । सरकारले रोक्का गरेको देश इराकमा जोखिम मोलेर पुग्नुभयो, इलामको इलाम नगरपालिका ९ का आशबहादुर चिमोरिया । 

ज्यान तलमाथि हुने खतरा त थियो नै, इराकमा सोचेजस्तो कमाई पनि भएन । कमाई भएको दुई चार लाख रुपैयाँ पैसा जाँदा लागेको ऋण तिर्न र भाइहरुको विवाहमा खर्च गर्दा ठिक्क भयो ।

२०६१ सालमा इराक पुगेका चिमोरियाले त्यहाँ पुग्न धेरै दुःख गर्नुभयो । भारतको बाटो हुँदै जाँदा खाडीको उखुममा धेरै रात बिताउनुपर्‍याे । ‘दुवईको एअरपोर्टमा ३६ दिनसम्म झोला सिरानी राखेर सुतेका थियौं । दुःखले इराक पुगियो, काम पनि पाइयो तर पैसा कमाउन सकिएन,’ आशबहादुरले भन्नुभयो ।  

इराकमा आशबहादुरको काम थियो, खाना पकाउने र सरसफाई गर्ने । हजारौं विदेशी सेनालाई भात पकाउने काम आशबहादुर जस्तै प्रवासी कामदारको जिम्मामा थियो, जो अवैधानिक रुपमा इराक भित्रिएका थिए ।

आशबहादुरको गन्तिमा एक सय ४४ प्रवासी कामदार इराकमा खटिएका सेनालाई भात पकाइदिने र सरसफाईमा खट्थे । तीमध्ये धेरै चाहिँ नेपाली कामदार थिए । 
एकातिर कमाई नहुनु, अर्कातिर आत्मघाती लडाकुसित डर मानेर आशबहादुरका १० महिना इराकमा बिते । 

इराक युद्धमा लडिरहेका सेनालाई भात पकाइदिने आशबहादुर भाग्यले सग्लो ज्यान लिएर नेपाल फर्कनुभयो । तर घरको ऋणले उहाँको ज्यान नेपालमा थामिएन । घरको जेठो छोरो आशबहादुरको जिम्मेवारी बढ्दै थियो । 

अनि २०६३ सालमा सरकारले जान रोक्का गरेको अर्को देश अफगानिस्तान पुग्नुभयो । इराकमा जस्तै ज्यानको असुरक्षा अफगानिस्तानमा पनि थियो । तर काम र कमाईका हिसावले इराक भन्दा अफगानिस्तान राम्रो थियो आशबहादुरका लागि । 

‘क्लिनर, प्लम्बर, काठ फ्याक्ट्री र सेक्युरेटी गार्डको काम काम गरेँ,’ अफगानिस्तानमा आफूले गरेका कामको फेहरिस्त आशबहादुरले सुनाउनुभयो । इराक भन्दा अलि बढी कमाई त्यहाँ भयो । त्यो पैसा ऋण तिर्न ठिक्क भयो । उहाँ ३३ महिना अफगानिस्तान बस्नुभयो । 

यो त भयो सरकारले रोक्का गरेको देशमा रोजगारी गर्न पुगेका कुरा । आशबहादुरको विदेश यात्रा जान्न इराक र अफगानिस्तान जानुभन्दा अगाडिको समयमा पुग्नुपर्छ ।

इराक र अफगानिस्तान जानुअघि उहाँ २०४५ सालमा भारत र ०५५ सालमा साउदी पुग्नुभयो । त्यसपछि सरकारले रोक्का गरेका देशमा पुगेका आशबहादुर २०७१ सालमा मलेसिया र ०७३ मा रोजगारीका लागि कतार जानु भएको थियो । 

इराक र अफगानिस्तानले त उहाँलाई फापेन नै, अरु देशमा पनि पैसा कमाई भएन । तैपनि विदेश मोह भने सकिएको छैन । अर्कातिर बाध्यता पनि भयो विदेश यात्रा ।

१८ वर्षको उमेरमा पहिलो पटक रोजगारीका लागि विदेश पुगेका आशबहादुरको कपाल फूले । उहाँको थाप्लोमा अझै पाँच लाख रुपैयाँ ऋण छ । त्यही ऋण विदेश गएर तिर्ने र छोराछोरीलाई राम्रो पढाउने उहाँको सोच छ । 

ऋण र छोराछोरीलाई पढाउन उहाँ घरबारी बेचेर सातौं पटक विदेश जाँदै हुनुहुन्छ । उहाँले भर्खरै विदेश जान र ऋण तिर्न १५ लाख रुपैयाँमा घरबारी बेच्नुभयो । मलेसिया जानका लागि प्रक्रिया पनि अगाडि बढाउनु भएको छ । 

विदेश जाने धेरैजनाले ऋण खोजेर लागत खर्च तिरेको बताउँछन् । आशबहादुरले भने यो पटक विदेश जान घरबारी बेच्नुभयो । उहाँका अनुसार ऋण खोज्दा पनि पत्याउने कोही भएनन् । ‘जागिर खाउँ कसैले पत्याउदैनन् । उद्योग व्यापार गरुँ, पूँजी छैन,’ आशबहादुरले सुनाउनुभयो । 

सन्तानको भविष्य सम्झेर घरबारी बेच्न सुमित्राको मञ्जुरी

 आशबहादुर र सुमित्राका दुई छोरा छन् । जेठो छोरो आशिष कक्षा ६  र कान्छो छोरो गणेश २ मा पढ्छन् । उनीहरु इलामको नेशनल एकेडेमी र्बोडिङ्ग स्कुलमा पढ्छन् ।

उनीहरुलाई पढाउन आशबहादुर दम्पत्तिलाई खर्चको अभाव हुन थालेको छ । अर्कातिर साहुलाई ऋण तिर्ने पैसा छैन । त्यसैको पीरले घरबारी बेच्न मञ्जुर भएको सुमित्राले बताउनुभयो । 

‘श्रीमानले भन्नुभयो, ऋण तिर्न र नानीहरुलाई पढाउनकै लागि भएपनि एकपटक विदेश जान्छु । यसपटक घरबारी बेचेर खर्च टारौंला । अर्को पटक कमाएर राम्रै घर बनाउला न ।’ श्रीमानले भनेका कुरा सुनाउँदै सुमित्राले भन्नुभयो, ‘यसमा मैले पनि नाईं भन्न सकिन ।’
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया