लमजुङका विद्यार्थीले गरे खाना महोत्सवको आयोजना (फोटो फिचर)

 पुष २४, २०७५ मंगलबार २०:१:३६ | श्यामशितल परियार

लमजुङ – सुन्दरबजार नगरपालिका–५, तार्कु खहरेमा रहेको विद्याज्योति माध्यमिक विद्यालयमा खाना महोत्सव सञ्चालन गरिएको छ ।

विद्यालयको हिरक महोत्सवको उपलक्ष्यमा विद्याज्योति बाल क्लबको आयोजना तथा विद्याज्योति हिरक महोत्सव मूल आयोजक समितिको सहयोगमा मंगलबार विद्यालयमा एकदिने खाना महोत्सव सञ्चालन गरिएको हो । 

महोत्सवका प्रमुख अतिथि एवम् लमजुङका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले एक वर्षे बालक रियन्स मगर, ३ वर्षे बालक सविन गुरुङ र ५ वर्षे बालक रश्जिन डुम्राकोटीलाई खीर र तरकारी खुवाएर खाना महोत्सवको उद्घाटन गर्नुभएको हो । 

विद्यार्थी व्यवहारिक सिकाइमा लागेकोमा उहाँले खुशी व्यक्त गर्नुभएको छ । व्यवहारिक र जीवनपयोगी शिक्षा आजको आवश्यकता रहेको उहाँले बताउनुभयो । खाना महोत्सवमा विद्यालयका विद्यार्थीले चिया, कफी, खीर, सेल रोटी, खुर्मा, तरकारी, अचार, समोसा, मोमो, चाउमिन लगायतका विभिन्न परिकार तयार पारेका थिए । 

खाना महोत्सवमा आएका शिक्षक, विद्यार्थी, अभिभावकहरुले विद्यार्थीले तयार पारेको परिकार किनेर खाएका थिए ।

‘बाल क्लबको कोषमा रहेको ४५ हजारबाट केही रकम खर्च गरी खाना महोत्सवमा विभिन्न परिकार तयार पारेका हौँ ।  तयार पारेको परिकार महोत्सवमा आउनुभएका शिक्षक, अभिभावक, विद्यार्थीहरुले किनेर खाइदिनुभएको छ । यसले हाम्रो कोषमा रकम बढ्नेमा हामी आशावादी छौँ’, बाल क्लबकी अध्यक्ष कविता गोतामेले भन्नुभयो । 

कोषमा एक लाख रुपैयाँसम्म पुर्याउने लक्ष्य रहेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार विद्यालयमा गठित बाल क्लबले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आईंरहेको छ ।

विद्यार्थीलाई सैद्धान्तिक मात्र नभई व्यवहारिक शिक्षा प्रदान गर्नका लागि पनि विद्यालयमा खाना महोत्सव सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर केसीले बताउनुभयो । ‘यो जिल्लामै नौलौ प्रयास हो । यसलाई अब आउने वर्षहरुमा पनि निरन्तरता दिनेछौँ’, उहाँले भन्नुभयो ।

परम्परागत संस्कृति जगेर्नामा टेवा   

खाना महोत्सवले विद्यार्थीमा सिकाइका साथै परम्परागत संस्कृति जगेर्नामा पनि टेवा पुर्‍याएको विद्यालयका सहायक प्रअ राजिव पण्डितले बताउनुभयो । ‘महोत्सव हुनु अगाडि विद्यार्थीले आमा समूहको रोहवरमा आफैले सालको पातको टपरी लगाएका थिए । महोत्सवमा आफै खाना पकाएका छन् । परिकार टपरीमै राखेरै बेचेका छन् । यसले सिकाइका साथै संस्कृति जगेर्नामा पनि टेवा पुर्‍याएको छ’, उहाँले थप्नुभयो ।

विद्यालयका विद्यार्थीले खाना महोत्सवको आयोजना गर्नु सराहनीय र उदाहरणीय काम भएको भन्दै अभिभावक श्रीकृष्ण कोइरालाले खुशी व्यक्त गर्नुभयो ।‘खाना महोत्सवमा आएर विद्यार्थीले तयार पारेको परिकार पनि चाखियो । साह्रै मिठो लाग्यो । यसले विद्यार्थीको सिकाइमा सघाएको छ’, उहाँले भन्नुभयो ।

खाना महोत्सवकै अवसरमा विद्यार्थीले मौलिक भेषभूषामा सजिएर विभिन्न साँस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरेका थिए । 


 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया