उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
बझाङ – टिनको पाताले छाएको भैँसी बाँध्न बनाइएको एउटा सानो झुपडी छ । झुपडीकाे ढोका राम्रोसँग लाग्दैन । झुपडमा ७ वर्षीय बालकदेखि ६५ वर्षीया वृद्धासम्मका ४ जनाको एउटा परिवार बस्छ । खाना पकाउने २/३ वटा ससाना भाँडाकुँडा छन्, तिनमा कहिले खाना पाक्छ, कहिले पाक्दैन । ओढ्ने, ओछ्याउने केही पनि छैन । अरुका जड्यौरी लुगा कपडा छन् शरीरमा । बिहान बेलुका छाक टार्न पनि धौ धौ छ । पुख्र्यौली जग्गा जमिनका नाममा सानो पाखो छ, उब्जनी केही पनि हुँदैन । सहारा दिने कोही पनि छैनन् । सासु बुहारी दुवै एकल महिला हुन् ।
यो कुनै काल्पनिक कथा होइन । बझाङको थलारा गाउँपालिका–६, की ६५ वर्षीया जोग्यानी रोकायाको परिवारको वास्तविकता हो ।
रोकाया ३० वर्षकी हुँदा उहाँका श्रीमान भोलानाथ रोकायाको निधन भयो । सन्तानका नाममा एउटा छोरामात्रै जन्मियो । छोराको विवाह गरेको खुसी साट्न नपाउँदै रोकायामाथि अर्को बज्रपात आइलाग्यो । २२ वर्षको कलिलो उमेरमा उहाँका छोरा रमेशको भिरबाट लडेर ज्यान गयो ।
आँखाभरि आँसु पार्दै जोग्यानीले भन्नुभयो,‘न आफन्त, न त कोही आफ्ना भन्ने नजिकका छन् । बुहारी जोगाबाट एउटी नातिनी र एउटा नाति जन्मिएको थियो । नाति सर्जन १ वर्षको हुँदा रमेशको मृत्यु भएको हो ।
जोग्यानीको श्रीमानको निधन भएको ३५ वर्ष पूरा भयो । छोरा रमेशको निधन भएको पनि ८ वर्ष भयो । ‘घरको पछाडि नहर भएकाले गोठमा र आफू सुत्ने कोठामा पानी आइरहन्छ । बुहारी नातिको मुटुको उपचार गर्न बेंग्लोर गएकी छन्, पिखेत खौलामा भेट भएकी जोग्यानीले भन्नुभयो, ’हामी दुखी गरिबको अवस्था यस्तै छ, २० वर्षदेखि भैँसीगोठमा नै बस्ने गरेका छाैँ ।’
पुरानो भैँसीगोठ रहेको उनी बस्ने घरमा तल गोठ छ र माथि उनीहरुले सुत्ने ठाउँ बनाएका छन् ।
छोरा रमेश बितेपछि घरमा अहिले उहाँकी ३१ वर्षीया बुहारीसहित एक नाति र एक नातिनी छन् । नाति नातिना साना र सासु बुहारी विधवा भएका हुँदा घरमा सहारा दिने मानिस नभएकाले उनीहरु समस्यामा परेका छन् ।
नाति सर्जन मुटुको बिरामी भएकाले उपचारका लागि गाँउलेहरुसँग सहयोग माग्न सासूलाई अनुराेध गरेर उनकी बुहारी जोगाले ७ वर्षको छोरा लिएर बेंग्लाेर गएकी छिन् । ९ वर्षकी नातिनी भने स्थानीय विद्यालयमा पढ्दैछिन् ।
दुवै सासु बुहारी एकल महिला भएका र छोराछोरी पनि साना भएकाले सासु जोग्यानीले गाउँघरमा अरुको काम गरेर खाद्यान्न मागी पेट पाल्ने गरेकी छन् ।
‘बसेर खाने यो उमेरमा पनि गाँउमा डुलेर नाति नातिनाका लागि भए पनि माग्न जानुपर्छ,’ जोग्यानिले भन्नु भयो,‘श्रीमान र छोरा हुँदा कहिले पनि समस्या परेको थिएन । अहिले त बिहान बेलुका के खाने भन्ने चिन्ता छ । धेरै जस्तो दिन नातिनी भोकभोकै बस्छिन् । मलाई आफ्नोभन्दा नातिनीको चिन्ता बढी लाग्छ । बुहारी नातिको उपचारका लागि गाँउलेहरुसँग भारत गएकी छन् । नातिको उपचारमा आफन्तहरुले सहयोग गरेका छन् भन्ने सुनेकी छु । बुहारी पनि भारतमा मजदुरी गरेर नातिको स्याहार सुसार गर्दैछ रे ।’
अहिले घरमा ९ वर्षीया नातिनीसँग जोग्यानी एक्लै हुनुहुन्छ । बुहारी र नातिको बाटो हेरेर पर्खीबस्नु भएको छ ।
पुस, माघको चिसोमा उहाँलाई आफ्नोभन्दा नातिनीको चिन्ता बढी लाग्छ । डाँडामा बस्ने भएकाले हावा चलिरहन्छ । राति ओढ्ने ओछ्याउने कपडा छैन । दुवैजना आगो तापेर जाग्राम बस्छन् । आफू र नातिनी चिसोले नकाँपेको दिन नै नभएको उहाँले सुनाउनुभयो ।
‘आफूले लगाएका कपडा फुकालेर नातिनीलाई ओढाइदिन्छु, अनि नातिनी सुत्छे । बुढा र छोराले कमाएर ल्याएका ओढ्ने ओछ्याउने सबै फाटेर(च्यात्तिएर) काम नलाग्ने भएका छन्,’ जोग्यानीले दुख पोख्दै भन्नुभयो, ‘पुरानो यो भैँसीगोठलाई मर्मत गरेर घर बनाउने सपना छ । धेरैजसो राति राम्रो कपडा लगाएको र बेड–बिस्तरामा नातिनातिनीलाई सुताएको सुईना(सपना) देखेकी छु । म मरिहाल्छु, तर मेरो यो सपना कहिले पनि पुरा हुनेछैन बाबु ।’
बेग्ंलोरमा बस्ने गाँउलेहरुले पैसा उठाएर मुटुको रोगी नातिको उपचार गराइदिएको सुनाउँदै उहाँले बुहारी अहिले बेंग्लोरमा रहेकी र वैशाखमा घर आउने जोग्यानीले बताउनुभयो ।
छोराको मृत्यु भएको र घरको वंश धान्ने एउटा नातिमात्र भएकाले नातिको स्वास्थ्य ठिक भए भविष्य राम्रो हुने जोग्यानीको आशा छ ।
नेताहरु भोट माग्न आउने गरेको तर सहयोग कतैबाट नभएको पनि उहाँले गुनासो पोख्नुभयो । गरिब घरधुरी परिचय पत्र पाउनेमा पनि उहाँको नाम छुटेको छ ।
उहाँको घर नजिकै डाँडामा वडा कार्यालय भए पनि परिवारको अवस्थाबारे भने अहिलेसम्म कसैले बुझबुझारथ गरेको छैन । जोग्यानीकी नातिनी पढ्ने विद्यालयका शिक्षक पदम रोकायाले पनि जोग्यानीको परिवारमा साह्रै समस्या भएको बताउनुभयो ।
जोग्यानीकी नातिनी कक्षा २ मा पढ्ने गरेकी तर उनको झोला, कापी, कलम आदिको समस्या भएकाले कहिले विद्यालय जाने र कहिले विद्यालय नजाने गरेको उहाँले जानकारी दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।