राष्ट्रिय गौरवतर्फका सडक आयोजनामा थप प्रगतिको अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
मोरङ – कानेपोखरी गाउँपालिका वडा नंं. २ को दलेली चोक । चोक नजिकै मूल सडक छेउमा बाँसको भाटाले बेरेका र फुसको छानो भएका छाप्राहरु छन् ।
यही बस्तीको बीचमा छ, हरियो जस्ताले छाएको चिटिक्कको एक तले घर । घरको भित्ता र पेटीमा पनि सिमेन्ट पोतिएको छ । वरपर अरुका घरभन्दा फरक रुपरङ भएको घर पञ्ची ऋषिदेवको हो ।
श्रीमानले अर्कै लिएर हिँडेपछि माइतीको छानोमुनी मुन्टो लुकाइरहेकी पञ्चीले आफ्नै पौरखले अरुकोभन्दा आकर्षक घर बनाउनुभएको हो । कमाएर राम्रो ठाउँमा घर सार्ने सपना देखाएर कमाउन भारत पसेका श्रीमान पञ्ची र छोराछोरीका लागि भनेर फर्किएनन् ।
१० वर्षअघि श्रीमानले अर्की ल्याउँदा पञ्चीसँग घाम पानी छेक्ने घर पनि थिएन । मोरङकै हर्कपुरमा खोलाको छेउमा फुसको घर थियो । त्यो घरको पनि कहाँ भर थियो र ! आँगनमै आइपुग्थ्यो खोलाको पानी । ठूलो पानी पर्दा बाढीले घर बगाउने त्रास हुन्थ्यो ।
केही वर्षहरु दुःखमा बिते । तर अहिले पञ्चीको दिन फर्किएका छन् । साउदीमा तीन वर्ष र कुवेतमा साढे दुई वर्ष पसिना बगाएर मुन्टो लुकाउने बास भएपछि आँट आएको छ पञ्चीलाई ।
१५ वर्षमै मागी विवाह भयो पञ्चीको । विवाह भएको वर्ष दिनमा जेठी छोरी जन्मिइन् । तीन छोराछोरी जन्मिएपछि श्रीमान् कमाउन भारत लागे । फुसको घर बाहेक केही थिएन । बिहान बेलुका घरमा खानेकुराको जोहो गर्न दिनभरी अर्काको मेलापात र बनिबुतो गर्नु पथ्र्यो ।
‘दिनभरी काम गरेर ल्यायो अनि पकायो, सधैं त कहाँ सक्नु र त्यसरी पनि, घरको आँगनमा कलकल खोलाको पानी बग्थ्यो,’ पञ्ची पुराना दिन सम्झनुहुन्छ ।
१५ वर्षकै उमेरमा बिहे गरेर दुःखकष्ट र हैरानी खेपेकी पञ्चीले त्यसको १० वर्षपछि ठूलो चोट सहनुपर्यो । कमाउन भारत गएका श्रीमान्ले अर्की ल्याए । श्रीमानले उतै घरजम गर्लान अनि आफूलाई मात्र हैन छोराछोरीलाई समेत चटक्क माया मार्लान् भन्ने पञ्चीको कल्पनाभन्दा परको कुरा थियो ।
लामो समयसम्म घर नआउने पैसा नपठाउने त गरिरहन्थे । भनिन्छ नि सास छउञ्जेल आश भनेर, हो पञ्चीलाई पनि कमाइ नभएरै श्रीमानले त्यस्तो व्यवहार गरे होलान् जस्तो लाग्थ्यो ।
‘सुरुमा त मलाई ढाँटेको रहेछ, पछि थाहा भयो, गाउँतिरका मान्छेले तिम्रो श्रीमानले त अर्की ल्याएको छ भने’ पञ्ची सुनाउनुहुन्छ । बदलिएको श्रीमानको व्यवहार अनि गाउँकाले सुनाएको कुराका तालमेल मिल्यो । श्रीमानलाई सोध्नुभयो । ‘ल्याएको हो, तिमी र छोराछोरी चाहिँदैन भन्नेजस्तो कुरा गर्नुभयो उहाँले’ पञ्चीले त्यो क्षण सम्झनुभयो ।
आफ्नो भन्नेले नै छाडेपछि के गर्ने, कता जाने, छोराछोरी कसरी पाल्ने ? बिचल्लीमा पर्नुभयो पञ्ची ।
न घर छ, न गरिखान खेतीपाती । कहिलेकाहीँ पञ्चीलाई दुःखको सबै लिला नै सकाइदिउँ जस्तो लाग्थ्यो । तर अर्की ल्याएर रमाइरहेका श्रीमानको अनुहार सम्झनुहुन्थ्यो । अनि केही गरेर देखाउने इख पलाउँथ्यो ।
‘मेरो ज्यान जसरी नि पाल्छु तिमी छोराछोरी लैजाउ पनि भनेको मैले त, तर मानेनन्, लान्न भने, म पो पराइ थिएँ त’ पञ्ची भन्नुहुन्छ, ‘आफ्नो छोराछोरीलाई पनि त्याग्नेसँग के गुनासो, मलाई त त्यही भएर पनि केही गर्ने आँट आयो ।’
माइतीको आश्रयमा बसेकी पञ्ची दिनभरी अरुको काम गर्नुहुन्थ्यो । माइतीको आर्थिक अवस्था पनि त्यति राम्रो थिएन । घर फुसकै हो । पेट पाल्ने मजदुरी गरेरै हो । तर पनि समस्यामा परेकी पञ्चीलाई त्यतिबेला आमाबुवाको दरिलो साथ मिल्यो ।
‘आफू नखाएर, नलगाएर भए पनि मेरो बुवाआमाले नातिनातिनालाई दिनुभयो नि, बाउले छाडे भनेर भोकै रोएको त कसले हेर्न सक्छ र’ पञ्चीको आँखा रसाए ।
दुःखमा परेकी पञ्चीलाई गाउँकै दलालले सुखको बाटो विदेश देखाए । जहाँ पैसा कमाइ हुन्छ । २०७० सालमा भारतको बाटो हुँदै पञ्ची साउदी पुग्नुभयो । घरको काममा । भाषा र काम नजान्दासम्म त हैरानी नै खेप्नु पर्यो ।
‘उनीहरु अरबी र अंग्रेजी मात्र बोल्थे, म दुवै भाषा बुझ्दिनँ थिएँ, तर पछिपछि त बुझें अनि काम गर्न पनि सजिलो भयो,’ काम गर्दाका सजिला अप्ठ्यारा अनुभव सुनाउनुुहुन्छ पञ्ची । खाना पकाउने, भाँडा माझ्ने र भुईं सफा गर्ने थियो काम । काम र भाषा जान्न थालेपछि त्यति धेरै हैरानी खेप्न परेन ।
साहुको परिवार सानो भएकाले धेरै समय खट्न पर्दैन थियो । तलब पनि मासिक रुपमै पाउनुहुन्थ्यो । मासिक कमाइ सात सय साउदी रियाल थियो । तीन वर्ष साउदीमा घरेलु काम गर्दा झण्डै ६ लाख रुपैयाँ कमाउनुभयो ।
उहाँले साउदीमा कमाउन थालेपछि छोराछोरीले घरमा पढ्न पाए । बुवाआमालाई पनि केही सहयोग भयो । झण्डै तीन लाख रुपैयाँ खर्च गरेर माइतीको घर नजिकै आफ्नो घरको जग हाल्नुभयो ।
तीन वर्ष साउदीमा बिताएर २०७३ सालमा घर फर्किनुभयो । तर उहाँको मन घरमा यसै बस्न मानेन । फेरि २०७३ सालमै कुवेत उड्नुभयो । काम उही हो साउदीमा जस्तै घरको ।
अरबी भाषा कामचलाउ जानिसकेकाले गाह्रो भएन । काम र भाषामा जान्ने भएकाले नै उहाँले ९० दिनार (अहिलेको मूल्यअनुसार झण्डै ३३ हजार रुपैयाँ) पाउनुभयो तलब ।
साउदीमा जस्तो आराम गर्न चाहिँ पाइएन कुवेतमा । परिवार साउदीमा काम गर्ने घरको भन्दा ठूलो थियो । काममा दुःख थियो । तर नराम्रो व्यवहार गरेनन् साहु साहुनीले ।
अर्काको घरमा त्यो पनि परदेशमा दिनरात नभनी खट्नुपर्दा मन खान्थ्यो । साहु साहुनी र उनीहरुको मिलेको परिवार देख्दा आफ्नै छोरीछोरी र श्रीमान्कै सम्झनाले सताउँथ्यो ।
‘उता काम गर्यो, मन त छोराछोरीकै यादले खाइरहने नि, छोराछोरी सम्झँदै काम गर्दै,’ पञ्चीले फिस्स हाँस्दै भन्नुभयो, ‘नजरको सामुन्ने नभए पनि आत्माले छोराछोरी नै खोजिरहन्छ, उनीहरुकै याद आउँछ । त्यस्तै भयो मलाई ।’
छोराछोरीकै सम्झनाले औधी सताएका बेला पञ्चीलाई मेरो पनि श्रीमान भइदिएको भए, यसरी छोराछोरी छाडेर परदेश धाउन पर्दैन थियो भन्ने लाग्छ । तर बितेको कुरामा पछुतो मानेर के फाइदा । यो कुरा बुझ्नुभएको छ । आफूसँगै भएका कुरामा चित्त बुझाउने प्रयास गर्नुहुन्छ ।
त्यसो त पञ्चीसँग चित्त बुझाउने बाटोहरु पनि छन् । दुःखले परदेश जान परे पनि उहाँलाई परदेशमा त्यो पनि घरेलु काममा धेरैले भोग्नेजस्तो सास्ती खेप्न परेन । छोराछोरी बढ्दै गएका छन् । जेठी छोरीको त बिहे पनि भैसक्यो । जेठो छोरा २० र कान्छो छोरा १९ वर्षका भए ।
छोराछोरी सानै छँदा, आफूले दुईचार पैसा नकमाउँदासम्म दुःखहरु लाम लागेका थिए । समय सधैं एकै कहाँ हुन्छ र ! आफैंले कमाउने र रमाउने आँट गरेकाले नै त्यो पट्यारलाग्दो अँध्यारोपछि अहिले पञ्चीको जीवनमा आश पलाएको छ ।
‘म आफैं पनि कमाउन सक्छु, पहिले त एउटा घरसम्म थिएन, अहिले घर छ, छोराछोरी ठूला भइसके, अब पहिलेजस्तो नहोला,’ पञ्चीले आत्मविश्वासका साथ भन्नुभयो ।
पञ्ची अहिले दुई महिनाको बिदा लिएर कुवेतबाट घर आउनुभएको छ । स–सना छोराछोरीसहित श्रीमानले छाडेर हिँडेपछि सहाराबिहीन जस्तै भएकी पञ्ची अहिले दुःखको भवसागरबाट उत्रनुभएको छ । जीवनमा वर्षौंदेखि बास बसेका दुःखहरु ओझेल परेका छन् । सधंै रसाइरहने आँखाका छेउकुनामा अहिले घाम लागेका छन् ।
‘दुःखी किन हुनु र, यस्तै त रहेछ जीवन, जे भए पनि हार खानुहुन्न रहेछ,’ पञ्ची आफ्नो भोगाइ सुनाउनुहुन्छ । छोराहरुले उहाँलाई अब विदेश नजान भनेका छन् । तर घरमा यसै बसिरहन मन मान्दैन । ‘घरमा खेतीपाती छैन, घरमा बसेर मात्र के गर्नु,’ पञ्ची भन्नुहुन्छ, ‘अझै एक दुई वर्ष त कमाउन सक्छु ।’
शिक्षकको जागिर छाडेर विदेश(भिडियोसहित)
घरमा छँदा पैसा ठूलो, विदेशमा ठूलो घर
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।