उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री केपी शर्मा ओलीले हरेकजसो भाषणमा भन्दै आउनुभएको छ, ‘हामीले गएको एक वर्षमा आठ सय किलोमिटर सडक पक्की गर्यौँ, इतिहासमा एक वर्षमा यति धेरै सडक कालोपत्रे कुन सरकारले गर्यो ?’
जहाँका बासिन्दा सडकको पहुँचमा छैनन्, उनीहरु ठान्दा हुन् : प्रधानमन्त्री ओलीले त यही वर्ष आठ सय किलोमिटर सडक पक्की गर्न भ्याइसकेछन् । हामीले खुब विकासे प्रधानमन्त्री पाएछौँ । उनीहरुले पत्याउनु पनि स्वभाविक हो, किनकी उनीहरुको पहुँचमा सडक नै पुगेको छैन ।
प्रधानमन्त्रीले ८ सय किलोमिटर सडक पक्की भयो भन्दै छाती फुलाएर भाषण गर्दा मज्जाले ताली पिट्ने कार्यकर्ताहरु बेलुका हिलाम्मे र धुलाम्मे सडक टेक्दै घर फर्किए होलान् । तै पनि उनीहरु पत्याउँछन् यो वर्ष ८ सय किलोमिटर सडक पिच भयो ।
कार्यकर्ताको दिमागमा नेताले जे गरे पनि राम्रो गर्छन् भन्ने मानसिकताले बास गरिसकेको हुन्छ । आफ्नै आँखाले देखेको कुरामा विश्वास नगरेर उनीहरु नेताले भनेका झुटलाई मज्जाले पत्याउँछन् र दिल खोलेर प्रचारप्रसार गर्छन् ।
कार्यकर्ता त यस्तै भए । तर प्रधानमन्त्रीका सल्लाहकार पनि उस्तै छन । नत्र उनीहरुले प्रधानमन्त्रीलाई झुट बोल्नेगरी किन गलत तथ्याङ्क दिन्छन त ?
गएको मंसिर १ गते सामाजिक सुरक्षा योजना घोषणा गर्ने दिन कमलादीमा प्रधानमन्त्री ओलीले काठमाण्डौका सडक चिल्ला भएको र गुड्दा पनि मज्जा आउने बताउनुभयो थियो । त्यति मात्र होइन प्रधानमन्त्रीले भन्नुभएको थियो, ‘सरकार कहाँ छ भन्नेहरुलाई हामीले देखाइदिइसकेका छौँ, सडक चिल्ला भैसके, सरकार कहाँ छ हेर्न नागढुंगा–कलंकी जानुहोस् ।’
तर प्रधानमन्त्रीले मंसिरमा भाषण गर्दा यो सडकमा यात्रु कष्टकर यात्रा गर्न बाध्य थिए । धुलो र धुवाँले सडक आसपासका बासिन्दा आजित थिए । यसबीचमा त्यस क्षेत्रका बासिन्दाले छिटो सडक बनाउन माग गर्दै यातायात ठप्प पनि पारे । अहिले सडक निर्माण भैरहे पनि सास्ती हटेको छैन । धुवाँ, धुलो र जामको अवस्था उस्तै छ ।
९ दशमलव १ किलोमिटर लामो कलंकी–नागढुंगा सडकलाई ३ खण्डमा विभाजन गरी २०७२ असार ३१ मा ठेक्का लगाइयो । शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन तथा शर्मा र कान्छाराम जेभीले सडक निर्माणको ठेक्का पाएका थिए ।
तर ठेकेदार कम्पनीले झण्डै ४ वर्षमा पनि सडक निर्माण पूरा गरेका छैनन । कलंकी–नागढुंगा सडक भएर ओहोरदोहोर गर्ने यात्रु र त्यस क्षेत्रमा बस्ने बासिन्दाको उस्तै बेहाल छ ।
सडक वरपरका कुनै घर उज्याला छैनन् । केही भए पनि धुलो छेकिने आशामा नागरिकले झट्ट झ्याल ढोका खोल्दैनन् । केटाकेटीलाई घरभित्रै थुन्छन् । पाँच सयभन्दा धेरै पसल विस्थापित भएका छन् । धुलोले स्वास्थ्यमा पारेको असर त छँदैछ । धेरैलाई दमको व्यथाले च्याप्न थालिसकेको छ ।
काठमाण्डौ भित्रने र बाहिरिने दर्जनौँ गाडी सडकको हिलोमा फस्छन्, खाल्डामा भासिन्छन् अनि सरकारलाई सरापेर रुन्छन् । संसारमा कुनै पनि यस्तो देश नहोस्, जहाँ राजधानीभित्रकै सडकका खाल्डामा गाडी लड्छन्, ढलमा गाडी हराउँछन् अनि धुलोको डरले नागरिकले ढोका बन्द गर्छन् !
साँच्चै भन्दा कलंकी–नागढुंगा सडकमा कालोपत्रे नहुँदा प्रधानमन्त्रीसहित सरकारको नाकमा कालो पोतिएको छ । तै पनि प्रधानमन्त्री गर्वका साथ भन्नुहुन्छ, ‘गएको वर्ष ८ सय किलोमिटर बाटो पक्की भयो ।’
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले २०७४ सालको चैतमा २ महिनाभित्र सडक निर्माण गरिसक्ने आश्वासन दिनु भएका थिए । उहाँको आश्वासन कलंकी–नागढुंगा सडककै हिलोमा हरायो जस्तो छ । मरेको आश्वासन ब्युँताउन २०७५ सालको साउन १३ गते तिनै मन्त्री पुगेर भदौसम्म सडक निर्माण सक्ने ठोकुवा गर्दै फर्किए । तर हालसम्म सडकको अवस्था कत्ति पनि सुध्रिएको छैन ।
देशको राजधानी प्रवेश गर्ने एक मात्र मुख्य नाकाको यो हालत देखेर नेपाल आउने विदेशीले के भन्दा हुन् ? प्रधानमन्त्रीले ८ सय किलोमिटर सडक पिच गरेको गफ दिँदा कुन चाहिँ सडक चिल्लो भयो देखाउन सक्छन् ?
भर्खरै चीनले बनाएर दिएको कोटेश्वर–कलंकी सडक चिल्लो/राम्रो थियो । विदेशीलाई देखाउन लायक सडक त्यही थियो । तर शाखा सडक पक्की नहुँदा त्यहाँबाट गाडीको पांग्राले बोकेर ल्याएको हिलोले कोटेश्वर कलंकीको त्यो चिल्लो सडकको दाँयाबाँया हिलो र धुलोले ढाकिसकेको छ ।
यस्तै पीडा चाबहिल–बौद्ध–जोरपाटीमा छ । जहाँ सडक निर्माणकै कारण नागरिकले हरेक दिन सरकारलाई सरापेर बस्नुपरेको छ । नागरिकको उठिबास भएको छ, जिन्दगी धुलो र हिलोमय छ ।
काठमाण्डौका चक्रपथबाहिरका सडक, भित्री गल्लीका सडक, पुलमुनिका सडक अनि सबैजसो सहायक सडक हेर्दा काठमाण्डौ भन्न लाज लाग्ने खालका छन् ।
हाम्रो हैसियत के हो भन्ने कुरा त अझ बल्खुमा देखिन्छ । चीनले कोटेश्वरदेखि कलंकीसम्मको पुरै सडक चिल्लो बनाएर दियो । नेपालीले बनाउने जिम्मा पाएको एक सय मिटर लामो सब वे बनाउन नसकेर सरकार बल्खुमा ठसठसी कनिरहेको छ ।
राजधानीबाहिरका सडकको झन् बिजोग
काठमाण्डौ छिर्ने मुख्य सडक पृथ्वी राजमार्गको उस्तै बिजोग छ । नौबिसेदेखि नागढुुंगासम्मको सडक त यति साँघुरो छ, जहाँ ठूला बस सजिलै वारपार गर्न सक्दैनन् ।
सानो भ्यान या कार बिग्रियो भने त्यसकै कारण दिनभरि जाम हुन्छ । सानो समस्याका कारण सयौं किलोमिटर लामो यात्रामा निस्केका यात्रुले नौबिसे–नागढुंगा सडकमा दिन खेर फाल्नुपर्छ ।
कस्ले पत्याउँछ होला यो काठमाण्डौ जाने मुख्य सडक हो भनेर ।
यो सडकमा गाडीको चाप अति धेरै छ भन्ने कुरा अहिले थाहा भएको हैन । धेरै पहिले नै थाहा थियो । तर सबै सरकार आए, गफ गरेर समय काटे, सडकको अवस्था बैरागलाग्दो छ ।
सायद हाम्रा नेताले साइरन नबजाइ हिँडेको भए र सडकको पीडा खेप्न परेको भए सडक बनाउन जोड गर्थे होलान् । तर साइरन बजाउँदै, नागरिकका गाडीलाई ठक्कर दिँदै हिँड्नेले सडकको वास्तविक पीडा के जानुन् र ।
राजा महेन्द्रले पूर्व–पश्चिम राजामार्ग बनाइदिए । महेन्द्रका पालामा बनेको राजमार्गको हालत उस्तै छ । २०२२ सालयता कुनै पनि राज्य सञ्चालकले यो सडक बढाउने, पूल मर्मत गर्ने र यसलाई सून्दर बनाउने कोशिस गरेनन् । अरुले गरेका कामको ब्याज खान तँछाडमँछाड गरिरहे ।
गाउँ होस् या शहर, जहाँका सडक पनि विजोग अवस्थामा छन् । सडक कहिले बन्छ भनेर नागरिकले बाटो हेरिरहेका छन् । तर वर्षमै ८ सय किलोमिटर सडक पिच गर्यौँ भनेर छाती फुलाउने सरकारको पिच कतै देखिँदैन ।
यो वर्षमै बनेको ८ सय किलोमिटर पक्की सडक कहाँ भागेछ ? नागरिकले त देख्न र सुविधा लिन पाएका छैनन् । प्रधानमन्त्रीले नै देखाइदिनुहुन्छ कि ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।
dhama paudyal
April 21, 2019, 9:10 a.m.सैलुङ कन्स्ट्रक्सनको अधिकारी त्यही ब्यक्ती हो जस्ले प्रचन्ड बसेको २० करोड भन्दा बढी पर्ने घर नजराना स्वरुप चडाएको छ । अनि त्यस्को बिरुद्धमा सरकार र खास गरेर प्रम ओलि जानु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु हो । बुझ्नुभो ।
Kurgheli Chapain
April 18, 2019, 6:34 p.m.नहतारिनुस् अर्जुन भाई, यो पनि उस्तै फोस्रो डम्फु हो, सिण्डिकेट हटाए जस्तै ! यातायात सिण्डिकेट हटाएर तपाईको टोलमा कुनै एउटा अर्को यातायातको साधन छिर्यो त!? मेरोमा त छिरेन है!अनि म किन पत्याउं सिण्डिकेट हटेको,सम्मृद्ध नेपाल सुखी नेपाली भै सकेको!?सब फोस्रा गफ !