एक मोहोर दाममा हलो जोतेका भीमबहादुरको अहिलेको दैनिक कमाई दुई हजार

 असार १७, २०७५ आइतबार ८:२३:४३ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – शिरमा ढाका टोपी । गाढा खैरो रंगको गञ्जी । कालो हाल्फ पाईन्ट । हातमा लट्ठी । ढल्कँदो उमेर । तर जोश जाँगरका साथ अर्मलफाँटको हिलोखेतमा गोरु धपाउँदै हुनुहुन्छ, भीमबहादुर सुनार ।
 
असारे धान रोप्ने चटारोसँगै उहाँको व्यस्तता बढेको छ । उसैगरी आम्दानी पनि । 

सिँचाई सुविधा पुगेका, बीउ रोप्नका लागि तयार भएका र बाँझा जमिनमा यहाँका किसानलाई रोप्न भ्याईनभ्याई छ । तर काम गर्ने मान्छे नपाउँदा रोपाइँ गर्न थप समस्या भएको छ । पहुँच पुगेका ठाउँमा सकेसम्म किसानले हाते ट्रयाक्टरको प्रयोग गर्ने गरेका छन् । कतिपय किसानले अझै हलगोरुबाटै खेतबारी खनजोत गर्दै आएका छन् ।

पछिल्लो समय हलगोरु पाल्ने, हलगोरु जोत्ने किसानको संख्या निकै कम छ । त्यसैले पनि गोरु पालेको, हलगोरु सम्हाल्ने भीमबहादुर जस्ता जाँगरिला किसानलाई खेतबारी जोत्नका लागि भ्याईनभ्याई छ । उनीहरुको व्यस्तता बढेसँगै आम्दानी पनि लोभलाग्दो छ । 

एक पाथी अन्न र एक मोहोरमा पनि काम गरिन्थ्यो

केही दशकअघि एक पाथी चामल, एक मोहोर दाममा हलगोरु चलाउँदै आएका किसान भीमबहादुरले अहिले खेतबारी खनजोत गरेवापत दिनकै दुई हजार रुपैयाँ लिनुहुन्छ । 

‘उबेला एक पाथी चामल, एक मोहोरमा खेतबारी जोतिन्थ्यो, अहिले हली र गोरुको गरी दिनकै २ हजार रुपैयाँ हुन्छ,’ उहाँले मुस्कुराउँदै भन्नुभयो, ‘पहिले काम गरी बाँच्नै गाह्राे थियो, अहिले दुःख गरेअनुसार कमाई छ, एक हल गोरु पनि पालेको छु, हलो पनि आफैँ जोत्छु, सिजनमा राम्रो कमाई हुन्छ, जीवन चलाउन सजिलो पनि भएको छ ।’

उहाँले १३ वर्षको उमेरदेखि नै हलो जोत्दैै आउनुभएको छ । भीमबहादुरका अनुसार पहिले खेतबारी बाँझा हुँदैनथे । सबैले खेतबारीमा टनाटन खेती लगाउँथे । वर्षौं मुरीका मुरी अन्न घर भित्र्याउँथे । अहिले त खेती गर्न छाडे । सुन फल्ने उर्वर जमिन समेत बाँझै छन् । धेरै विदेशिएका छन् । गाउँघरमा काम गर्ने मान्छे छैनन् । हलगोरु पाल्ने र हल सम्हाल्ने मानिनको संख्या निकै कम छ ।

काम गर्ने मान्छे नै पाईंदैन 

‘हलगोरु पाल्ने, खेती किसानी गर्ने मान्छेको कमी छ, बरु बजारबाट चामलको बोरा घिसारेर खाने बढे,’ हिलो खेतको आलीमा उभिएर खुईय गर्दै उहाँले निराशा पोख्नुभयो ।

उहाँ हलगोरु लिएर खेत जोत्नका लागि डुँडकुला, भोटेओडारका फाँटहरु धाउनुहुन्छ । मकै, धान, गहुँ, आलु लगाउने सिजनमा निकै व्यस्त हुनुहन्छ । काम चलेको सिजनमा उहाँको कमाई राम्रो हुन्छ ।

जिल्ला कृषि विकास कार्यालय लमजुङका प्रमुख एवम् वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीका अनुसार गाउँघरमा काम गर्ने मान्छे पनि नपाईने, हलीगोरु पनि नपाईने र पाईए पनि कामदारको ज्याला महँगो भएका कारण धेरै किसानले हाते ट्रयाक्टरकै माध्यमबाट खेतबारी खनजोत गर्दै आएका छन् ।

तर हलगोरुले खेतबारी खनजोत गर्दा खेतबारीका छेउकुना राम्रोसँग जोतिने भएका कारण कतिपय किसान अझै हलगोरु नै रोज्झन् ।

‘हलगोरुले जोत्दा छेउकुना राम्रोसँग जोतिन्छ, रोप्नका लागि माटो पनि राम्रोसँग तयार हुन्छ, त्यसैले हामी त वर्षौंदेखि हल गोरुबाटै खेती लगाउँदै आएको छौँ, घरमा एक हल गोरु पनि पालेका छौं’ सुन्दरबजार ऐसेलुचौरकी किसान सन्तुमाया बुढापृथीले भन्नुभयो ।   
 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया