उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
लमजुङ – लमजुङमा भेडीगोठबाट करोडौँ रुपैयाँ आम्दानी हुने गरेको छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङका अनुसार जिल्लाका विभिन्न स्थानमा रहेका घुम्ती भेडीगोठबाट वार्षिक करोडौँ रुपैयाँ आम्दानी हुने गरेको हो ।
भेडीगोठमा रहेका भेडाहरुको उन तथा मासु बिक्रीबाट मात्रै १० करोडभन्दा बढी रुपैयाँ आम्दानी हुने गरेको केन्द्रका पशु विकास अधिकृत खिला शर्मा घिमिरेले बताउनुभयो ।
‘लमजुङमा साविकका २१ वटा गाविसमा ९० वटा भेडीगोठहरु रहेका छन् । यी भेडीगोठमा १७ हजारभन्दा बढी भेडाबाख्राहरु छन्’, उहाँले भन्नुभयो, ‘घुम्ती भेडीगोठमा पालिएका भेडाहरुबाट वार्षिक दुई सय मेट्रिक टन मासु उत्पादन हुने गरेको छ ।’
उहाँका अनुसार प्रतिभेडाको मूल्य ३० हजारभन्दा बढी रुपैयाँ पर्छ । भेडाको उनको मूल्य प्रतिधार्नी चारसय रुपैयाँभन्दा बढी पर्छ ।
भेडीगोठबाट प्रतिगोठ वार्षिक झण्डै पाँच लाखभन्दा बढी रकम आम्दानी हुने गरेको छ ।भेडीगोठहरुबाट वार्षिक पाँचहजार किलो उन उत्पादन हुने गरेको छ ।जिल्लामा पहिले उपकरण नहुँदा उनको प्रशोधन झन्झटिलो थियो । अहिले प्रशोधनका लागि मेशिनको व्यवस्था गरिएको छ ।
भेडाको उनलाई प्रशोधन गरी स्थानीयहरुले राडीपाखीलगायत उनीका कपडा बनाएर बिक्री गर्ने गरेका छन् । यसैगरी, भेडीगोठमा पालिएका बाख्राबाट पनि करोडौँ आम्दानी हुने गरेको छ । घुम्ती भेडीगोठहरुमा १० हजारको हाराहारीमा बाख्रा भएको केन्द्रले जनाएको छ ।
खसीबोकाको मासुबाट मात्रै वार्षिक ६ करोडभन्दा बढी आम्दानी हुने केन्द्रको तथ्यांकमा उल्लेख छ । घिमिरेका अनुसार भेडीगोठ भएका कृषकहरुले मनग्य कमाएका छन् । भेडीगोठबाट भएको आम्दानी केही प्रतिशत साहुलाई बुझाउने र बाँकी भेडा गोठालाहरुले राख्ने गर्दछन् ।
केन्द्रको तथ्यांक अनुसार जिल्लामा आठसय ५८ घरले घुम्ती भेडीगोठमा भेडा पालन गरेका छन् । घुम्ती भेडीगोठमा पालिएका भेडा पोखरा, काठमाण्डौलगायतका क्षेत्रमा निर्यात हुने गरेका छन् ।
भेडापालनको सम्भावना भएर पनि अझै अपेक्षित आम्दानी हुन नसकेको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा. रुपेश श्रेष्ठले बताउनुभयो ।
‘भौगोलिक विकटता, राज्यको न्यून पहुँच र कमजोर व्यवस्थापनका कारण अपेक्षित आम्दानी हुन सकिरहेको छैन’, उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।