उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ आजबाट ६९ वर्ष पूरा भएर ७० वर्ष लागेका छन् ।
तिथिअनुसार हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठको आज जन्मदिन परेको छ । विक्रम सम्वत २००७ सालमा अक्षय तृतियाको दिन काठमाण्डौको जितपुर फेदीमा उनको जन्म भएको हो । उनको वास्तविक जन्मदिन भने वैशाख ७ गते हो । तर उनले तिथिअनुसार पनि जन्मदिन मनाउने भएका हिसाबले उनको जन्मदिन आज परेको छ ।
वरिष्ठ हास्य कलाकार श्रेष्ठ नेपाली हास्य व्यङ्ग्य क्षेत्रका त्यस्ता कलाकार हुन् । जसले नेपालमा हास्य व्यङ्ग्यको विकास गर्न र यसलाई सहज बनाउन ठूलो योगदान पुर्याएको छ । मदनकृष्णलाई नेपाली हास्य व्यङ्ग्यका पिता पनि भनिन्छ । नेपालमा राजनीतिक व्यङ्ग्य गर्न निकै कठिन भएको समयमा मदनकृष्णले हरिवंश आचार्यसँग मिलेर हास्य व्यङ्ग्यको सुरुवात गरेका थिए । उनीहरुले निरन्तर मेहनतका कारण अहिले नेपाली हाँस्यव्यङग्य यति फस्टाएको हो भनिन्छ ।
मदनकृष्ण र हरिवंशले राजाको शासन कालमा सरकारको डरैडरैमा पनि कमेडी गर्न थालेका थिए । सुरुवाति दिनमा उनीहरुले अफिसको हाकिममाथि व्यङ्ग्य गर्न थाले । त्यसपछि कार्यालयको सचिवमाथि व्यङग्य प्रहार गर्न थाले । उनीहरुको व्यङ्ग्य राजदरबारका सचिवसम्म पुग्न थालेको थियो ।
पछि भने उनीहरु राज्य व्यवस्थालाई झटारो हान्न सक्ने भएका थिए । कडा मेहनतले कलाकारितामा सफल भएका मदन कृष्णको व्यक्तिगत जीवन कस्तो छ त ? आज हामीले उनको व्यक्तिगत जीवनलाई केही कोट्याउने प्रयास गरेका छौँ ।
बाल्यकाल
बाल्यकालमा म अलिअल्लारे, चकचके थिएँ । के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने कुराको जानकारी थिएन । मनमा लागेको कुरा फ्याट्ट गरिन्थ्यो । आफ्नो कारणले कोही हाँस्यो भने एकदमै खुशी लाग्थ्यो । कलाकारितामा लाग्छु भनेर धेरैसम्म लागेको थिएन । तर आफ्नो कारणले कोही रमाएको देख्दा खुशी लाग्थ्यो ।
पहिलेदेखि नै कार्यक्रमहरुमा भाग लिने गर्थेँ । स्टेजमा गएर बोल्नेबित्तिकै मानिसहरु हाँस्न थाल्थे । मैलै त क्यारिकेचर गर्नै पर्दैनथ्यो । अहिले सम्मपनि हँसाउन जानेको छु जस्तो त लाग्दैन मलाई तै पनि मानिसहरु हाँस्छन् ।
कलाकारिताको सुरुवात
सानैदेखि कलाकार हुने लक्षण त ममा थियो । तर मलाई कलाकारितामा आउँछु जस्तो भने लागेको थिएन । कलाकारिताको सुरुवातमा मैले संगीत सिकेको थिएँ । तर कलाकार हुने भनेर अन्य कक्षाहरु भने लिइनँ । रहरले संगीत सिक्न थालेँ तर त्यसलाई लामो समय निरन्तरता दिन भने सकिन ।
एउटा राग सिकेर त्यसलाई निरन्तरता दिन सकिन । त्यसबखत हजुरबुवा बित्नु भयो । अनि यत्तिकै भयो । अरु कलाकारिता भने दिन बित्दै जाँदा सिकियो । पहिले पहिले त सित्तैमा दर्शक हँसाउन काम धेरै वर्ष गरियो । तर पछि हरिवंशसँग सहकार्य गरेको केही समय पछि पारिश्रमिकसहित हामीले काम गर्न थाल्यौँ ।
२०३८ सालमा मैले अरुलाई हँसाएर पारिश्रमिक पाएको थिएँ । यसमा म एक्लै थिइनँ हरि पनि थियो । त्यस पछिका दिनहरुमा भने हामी दुईको सहकार्य राम्रो हुँदै गयो आर्थिक रुपमा पनि हामी बलियो हुन थाल्यौँ । हाम्रो पहिलो कमाइ ५०० रुपैयाँ थियो । यसलाई हामीले आधा आधा बाँडेर लियौँ । यस हिसाबले कलाकारितामा लागेपछि मेरो पहिलो कमाइ साढे दुई सय रुपैयाँ हो ।
यशोदासँगको भेट
मेरो र यशोदाको पहिलो भेट २०२६ सालमा भएको हो । हामी एउटै अफिसमा काम गर्थ्यौँ अनि हाम्रो सेक्सन पनि एउटै थियो । अफिसमा काम गर्ने क्रममा कुराकानी गर्दागर्दै नजिक भयौँ । हामीले कर्मचारी सञ्चय कोषमा काम गर्थ्यौँ । यो अर्धसरकारी अफिस हो । त्यही भेट्घाट भयो । त्यही एकले अर्काको मुख हेरियो । पछि ऊ एकदिन आएन भने पनि मलाई न्यास्रो लाग्न थाल्यो । देखादेखबाटै हाम्रो प्रेम सुरु भयो । उनी ठिक्क बोल्ने खालको थिइन् । त्यस बखत म १९ वर्षको थिएँ ।
त्यस समयमा १९ वर्ष भएपछि विवाह गर्ने उमेर भएको थियो । कोही राम्रो केटी देखेपछि ओहो ! भन्ने हुन्थ्यो । उनी ठिक्क हाँस्ने, ठिक्क बोल्ने, मेरो कुरामा रमाउने गर्न थालिन् । यही नै हो हाम्रो प्रेम । म तिमीलाई माया गर्छु भन्ने अवस्था नै आएन । त्यो कुरा दुवैको व्यवहारले नै बताइदियो । एक अर्काको व्यवहार मन परेपछि हामीले विवाह गर्यौ । २०३० सालमा हामीले सूर्य विनायक मन्दिरमा भागी विवाह गर्याैँ ।
२६ सालतिर मैलै गीत गाएर पहिलो अवार्ड पाइसकेको थिएँ । मेरो राइजिङ्ग नेपालमा नाम पनि छापिएको थियो । त्यो बेला अखबारमा नाम निस्किनु भनेको निकै ठूलो कुरो थियो । धेरैपछि आएर मात्र कलाकारहरुलाई मान्यता दिने पत्रपत्रिकाहरु निस्किए । पहिलो पटक मेरो नाम छापिएको त्यो पत्रिका सायद मसँग अहिले पनि छ । त्यसबखत यशोदाले मलाई जागिरे र कलाकारितामा प्रयास गरिरहेको व्यक्तिको रुपमा हेर्थिन् ।
अन्तरजातीय विवाह कठिन
मेरो श्रीमती सुवेदी म श्रेष्ठ हो । विवाहको लागिएकदमै कठिनाइ आयो । त्यो बेलामा त झन अन्तरजातीय विवाह भनेको अपराध सरह मानिन्थ्यो । समाजले एकदमै कुरा काट्ने विषय थियो यो । नाक खुम्च्याउने विषय हुन्थ्यो अन्तरजातीय विवाह । तर हामीले भने आँट गरेर विवाह गर्यौँ । मन परिसक्यो छोड्न नसकिने भइयो । तर थरले गोलमाल ।
घरमा कुरै पुगेन । तर मेरो परिवारमा भने मैले नभने पनि बाहिरबाट थाहा पाउनु भएको रहेछ । परिवारले थाहा पाउँदा पाउँदै पनि थाहा नै नपाए जस्तो गररिरहनु भएको थियो । म भने घरमा थाहा पाइसक्नुभयो भनेर बसेको थिएँ । सँगैसँगै लुकेर कति हिड्ने, जे पर्छ पर्छ भनेर विवाह गर्ने निर्णय लियौँ । मागी विवाह गर्ने त सम्भव नै थिएन । केही साथीहरुलाई लिएर सूर्यविनायक मन्दिरमा हामीले विवाह गर्यौँ ।
हामीले विवाहमा सानो पार्टी पनि राखेका थियौँ । विवाहपछि हामी घर गएनौँ । न्यूरोडमा ६० रुपैयाँमा कोठा भाडामा लिएर बस्न थाल्यौँ । तर हामीलाई कोठामा त्यसरी धेरै दिन बस्नु परेन । झण्डै १४ दिन पछि दाइ लिन आउनुभयो । घरमा गएपछि बाको सामना गर्न भने अलि गाह्रो भएको थियो । बाउ छोराको एकछिन त रुवाबासी भयो । आँखाभरि आँसु नै आँसु।
मेरो बाले १५ वर्ष प्रधानपञ्च भएर काम गर्नुभयो । उहाँले गाउँमा झगडा मिलाइदिन काम पनि गर्दै आउनु भएको थियो । यही कारण पनि जति गाह्रो हुनु पर्ने हो त्यति गाह्रो भने भएन । मेरो आमा म ६ महिनाको हुँदा बित्नुभयो । मलाई मेरो बाले र मेरो फुपूहरुले हुर्काउनु भएको हो । मेरो जीवनमा आमाको भूमिकापनिबुबाले नै निर्वाह गर्नु भएका कारण धेरै दिनसम्म टाढिएर बस्न बालाई पनि गाह्रो मलाई पनि गाह्रो ।
बाले आफू आउननसकेर मेरो फूपूको छोरालाई लिन पठाउनु भएको थियो । अनि म पनि गएँ । अनि घरमा विधि विधानपूर्वक नै विवाह गरेर भित्र्याउनु भयो । हामीले नेवारी परम्पराअनुसार फेरि विवाह गर्यौँ । सबैलाई भोज बोलाएर विवाह भयो तर यशोदाको माइतीमा भने सम्पर्कै भएन ।
बिहेको चार वर्षपछि ससुराली
विवाह गरेको चार वर्षपछि पहिलो पटक ससुराली जान पाइयो । त्यस बखत मेरो श्रीमतीको खुशी हेर्दा निकै मज्जा लाग्यो । त्यहाँ निकै चहलपहल थियो । त्यो देखेर मलाई निकै खुशी लाग्यो । ज्वाइँ भनेपछि छुटै थियो । मेरो पनि त्यो बेलासम्म नाम चलिसकेको थियो । त्यसकारण उहाँहरुलाई पनि ठिकै रहेछ भन्ने भयो । पहिलो पल्ट ससुराली जाँदा छोरा जन्मिसकेको थियो हाम्रो ।
घर बनाएर सर्दाको पल
घरमा कहिलेकाहीँ हाँसिन्छ कहिले हाँसिन्नँ । मैले नि हँसाउँथे, उनले पनि हँसाउँथिन् । हाँस्ने रुने, दुःखसुख सबैको जिन्दगीमा हुन्छ । मेरो पनि जिन्दगीमा त्यस्तो धेरै भयो । खराब दिनहरु पनि आए । सुखका दिनहरु पनि आए । फरक के हो भने अरुले दुःखको दिनमा दुःखी भएर कामगर्नु पर्छ । तर, मैले दुःखको दिनमा पनि हँसाउने काम गर्नु पर्छ ।
२०३८ सालमा आफैले धोबीधारामा घर बनाएर सर्दा पनि हामी खुशी थियौँ । अहिले हामी त्यो घरमा छैनौँ । अहिले हामी सुनाकोठीमा छौँ । म मेरो श्रीमतीलाई ब्याङ्गककमा उपचार गर्न गएको थिएँ । त्यहाँबाट फर्किने क्रममा चाहिँ मेरो धोबीधाराको घरमा सडकमा पाइप खुलिरहेको थियो । हामी भने थेरापीको लागि हस्पिटल गइरहनु पर्ने । त्यो बाटोले अप्ठ्यारो भएका यता सर्ने निधो गर्यौँ ।
गएकाे वर्ष मनाएनन् जन्मदिन
२०७४ साल चैत्र २० गते उनकी श्रीमती यशोदा सुवेदीको निधन भएका कारण उनले जन्मदिन मनाएका थिएनन् । त्याेभन्दा अघिल्लाे वर्ष भने उनले आफूले यशोदासँग विवाह गरेकै मन्दिरमा जन्मदिनको केक काटेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।