रवि लामिछानेकाे आजकाे बयान सकियाे
मंसिर १४, २०८१ शुक्रबार
धनुषा – विवाहको नाटक गरेर भारतको कोठीमा पुर्याइएकी धनुषाकी एक युवती भागेर नेपाल पर्किन सफल भएकी छिन् । उनी एक महिलाको सहयोगमा भारतबाट नेपाल फर्किन सफल भएकी हुन् ।
बन्धक बनाएर नसालु पदार्थ प्रयोग गरी तथा कुटपीट गरी यौन व्यवसाय गराउँदा ती युवती बिरामीसमेत परेकी थिइन् । उनी जनकपुर अञ्चल अस्पतालमा उपचारपछि घर फर्किएकी छिन् ।
चार महिना अघि बटेश्वर गाउँपालिकाकी ती युवतीलाई महोत्तरीको लोहरपट्टी नगरपालिकाका एक युवकले प्रेम जालमा फसाएर भगाएका थिए । युवतीका परिवारले खोजी गर्दा महोत्तरीका ती युवाले भगाएको पत्ता लागेको थियो । ती युवाले उनीहरु दुवै प्रेम सम्बन्धमा रहेको र युवतीसँग विवाह गरी युवतीको सम्पूर्ण जिम्मा लिने बताएका थिए ।
भगाएको डेढ महिनापछि ती युवकले आफ्नो घरपरिवारको उपस्थितिमा युवतीसँग विवाह पनि गरेका थिए । विवाहपछि युवकले युवतीलाई आफ्नो घर नलागी दुईचार दिन यताउता राखी भारतको मुजफरपुरको एक कोठीमा देहव्यापार गर्न पुर्याएका थिए ।
कोठीमा पुर्याइएकी ती युवतीलाई यौन व्यवसायमा संलग्न गराउँदा नमानेपछि नसालु सुई प्रयोग गरी हातखुट्ट बाँधेर चरम यातना समेत दिँदै आएका थिए । ‘पहिला प्रेम गर्छु भनेर भगाए । विवाहको नाटक गरी मलाई छलेर भारतमा लगेर मलाई बेचिदिए’ युवतीले आफ्नो पीडा सुनाउँदै भनिन् ‘मलाई त्यहाँ यौन व्यवसायमा जबरजस्ती पठाइन्थ्यो । मैले अस्वीकार गर्दा हातखुट्टा बाँधेर नसाको सुई लगाइदिन्थे, चिच्याउँदा कुटपीट गर्थे र मुखमा कपडा कोचिदिन्थे ।’
कोठी नजिकैका एकजना महिलाले आफूमाथि भएको पीडा हेर्न नसकी माया लागेर नुहाइदिने वाहानामा मलाई बाहिर निकालेर घरसम्म आउन सहयोग गरेको पीडित युवतीको बताइन् ।
चरम यातना र यौन शोषणमा परेर बिरामी भएकी ती युवती जेठ ४ गते साँझ जनकपुरको रामानन्दचोकमा आएर अलपत्र परेकी थिइन् । जानकी प्रहरी चौकीले त्यहाँबाट उद्धार गरी उनका घर परिवारलाई बोलाएका थिए ।
पीडित परिवारले आफ्नो छोरीमाथि भएको यातना र यौनशोषणको विषयमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएका छन् ।
युवतीले आफूलाई माया गर्छु भनेर विवाहको नाटक गरी बेच्नेलाई र उनलाई सहयोग गर्नेहरुलाई कारबाहीको लागि पहल गरिदिन गुहार पनि गरेकी छन् ।
धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले ती युवतीलाई विवाह गरेर भारत लगेर यौन व्यवसाय गराएको घटनाको छानविन गरिरहेको बताउनुभयो । उहाँले यस्ता गम्भीर प्रकृतिको अपराध गर्ने जो सुकैलाई पक्राउ गरी कडा कारबाही गर्ने र अपराधिको खोजी भैरहेको जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।