महिनावारी पीडा : संस्कार र धर्मका नाममा हामी चुप !

 जेठ १४, २०७६ मंगलबार ८:१६:३४ | रमा खड्का
unn.prixa.net

दैलेखको आठबीस नगरपालिका–५ गोर्खीकी नन्दा बडुवाल ।

“धारा परै, दुध दही परै, परै राख्दा गोठ,
छाउ हुनु पाप हो मान्या, कति लाग्दी चोट ।”

दैलेखको आठबीस नगरपालिका–५ गोर्खीकी नन्दा बडुवालले महिनावारी (छाउ) हुँदा आफूले भोगेको समस्या गीतमार्फत यसरी पोख्नुभयो । उहाँको गीतले भनेका कुरा सहजै बुझिन्छन् । ‘पहिले पहिले महिनावारी मात्रै होइन, सुत्केरी भएको बेला पनि महिलाहरु घर भन्दा धेरै टाढा जंगलको छेउमा सानो झुपडी (खर्क) बनाएर एक्लै बस्थे’ छुट्टै झुपडीमा बस्दा मनमा चोट पर्ने कुरा, नन्दा भन्नुहुन्छ । 

उमेरले ५० कटिसकेकी नन्दासँग महिनावारी र सुत्केरीको बेला भोगेका थुपै अनुभव छन् । सुरुमा उहाँलाई आफूले भोगेका कुरा सुनाउनै गाह्रो भयो । नन्दालाई ती दिन सम्झिन मन लाग्दैन । गीतमार्फत दुई लाइनमा जीवनका भोगाइ पोख्ने प्रयास मात्रै गर्नु भयो ।  हाम्रो अनुरोधमा उहाँले मनभित्र गुम्सिएका भावनाहरु बिस्तारै खुलाउनुभयो ।

नन्दाको विवाह सानैमा भयो । विवाहपछि उहाँका ५ छोरी र २ छोरा जन्मे । महिलालाई महिनावरी मात्रै होइन, सुत्केरी भएको बेला पनि घरभन्दा १० मिटर टाढा खरले छाएको सानोखर्कमा बस्नु पथ्र्यो । नन्दाले आफ्ना ७ वटै सन्तान त्यही खर्कमा हुर्काउनुभयो ।

‘सुत्केरीमा आफूलाई मन परेको खानेकुरा खान पाईंदैनथ्यो, बस्ने खर्कमा सुत्ने कपडा पनि हुँदैनथ्यो, स्याउला बिछ्याएर बच्चा र आफू २१ देखि २५ दिनसम्म दुःखले बिताउनु पर्दथ्यो’ उहाँले मन अमिलो बनाउँदै आफ्नो समस्या सुनाउनुभयो ।

घरबाट टाढा जंगलको छेउमा एक्लै बस्दा जंगली जनावरको निकै त्रास हुन्थ्यो भने मान्छेको डर पनि त्यत्तिकै हुन्थ्यो । त्यहीँमाथि बच्चालाई केही भइहाल्ने हो कि भन्ने चिन्तै चिन्तामा दिन बिताउनुपर्थ्यो ।

सुत्केरी अवस्थामा त्यस्तो सकसपूर्ण बसाइमा धेरै शिशुहरुको सर्पको टोकाइले धेरैको अकालमै ज्यान गएको नन्दाले देख्नुभएको छ । नन्दाले आफ्नो आमा र हजुरआमाले महिनावारी हुँदा भोगेका समस्या पनि सम्झिनुभयो । हजुरआमा र आमाको पालामा महिनावारी र सुत्केरी हुँदा बस्नका लागि खर्कको व्यवस्था नहुँदा उनीहरु डुंगाको ओडार र रुखको छहारीमा रात बिताउन बाध्य हुन्थे । 

हजुरआमा र आमाले सुत्केरी र महिनावारी हुँदा ढुंगाको ओडार र खुला आकाशमुनी रात काटेको भन्दा आफ्नो लागि श्रीमानले घरभन्दा छुट्टै खर्क बनाइदिएकोमा नन्दा आफूलाई सुरक्षित ठान्नुहुन्थ्यो । तर, अहिले आएर नन्दाले त्यो खर्क पनि सुत्केरी र महिनावारी महिलाहरुका लागि सुरक्षित रहेनछ, भन्ने कुरा थाहा पाउनुभएको छ । तर, अझै घरभित्रै बस्न भने पाउनुभएको छैन ।

नन्दा जस्तै गोर्खी गाउँकै नन्दाशोभा जैसी पनि महिनावारी भएको बेला खर्कमै ७ दिन बिताएको सम्झिनु हुन्छ । उमेरले ६० कटेकी नन्दाशोभालाई महिनावारी र सुत्केरीमा गुजारेका दिनहरु सम्झँदा अहिले पनि कहाली लाग्छ ।

नन्दा बडुवालको भन्दा नन्दशोभा जैसीको महिनावारी पीडा अलि फरक छ । ब्राम्हण र अरु समुदायमा महिनावारी र सुत्केरी बार्ने चलन पनि फरक–फरक छ । ब्राम्हण समुदायका महिला तथा किशोरीहरु महिनावारी र सुत्केरी हुँदा उनीहरुका परिवारका सदस्य कोही पनि उनीहरु बसेको खर्कमा नै जाँदैनन् ।

पहिले एक्लै खर्कमा बस्दा शिशु र साना बच्चालाई बिसन्चो भए आमाहरुलाई निकै समस्या हुन्थ्यो ।आमाहरुले खर्कबाटै घरका परिवारलाई बोलाउनु पर्ने हुन्थ्यो । पछि बिस्तारै खर्कहरु छाउगोठमा परिणत भए । महिलाहरु सुत्केरी र महिनावारी हुँदा त्यही छाउगोठमा बस्न थाले । त्यो बेला सम्झिँदा नन्दाशोभा अहिले धेरै परिवर्तन आएको ठान्नुहुन्छ । तर शहरमा संघसंस्था र सरकारले भनेको जस्तो महिनावारी र सुत्केरीका विषयमा गोर्खी गाउँका बासिन्दाको सोचमा परिवर्तन आएको छैन । महिनावारी दिवसबारे त झन अनविज्ञ छन् । 

महिनावारी विभेदको पीडा 

कर्णाली लगायत सुदूरपश्चिमका धेरै ठाउँमा महिनावारी र सुत्केरीको पीडा कहालीलाग्दो छ । महिनावारी भएकाहरुका लागि ५ देखि ६ दिनसम्म नुहाउने धारा, पँधेरा र खानेकुरा निश्चित तोकिएको छ । महिनावारी अवस्थामा उनीहरुको कामको प्रकृति पनि फेरिन्छ । बिहानै उठेर पानी समेत नखाई करिब २ घण्टाको उकालो हिँडेर स्याउला घाँस ल्याउनुपर्ने बाध्यता हुन्छ । 

बिडम्वना त के भने, उहाँहरुले जंगलबाट ल्याएको घाँस स्याउला गाई भैंसीलाई खान दिइन्छ, तर दुध, दहीलगायतका खानेकुराबाट बञ्चित गरिन्छ । महिनावारी किशोरी तथा महिलाले दुध, दही, घिउ लगायत कुराहरु खाएमा गाईभैसी बिरामी हुने, थुनबाट दुधका सट्टा रगत बग्ने अन्धविश्वास कायम छ । 

महिनावारी भएका बेला मन्दिरको बाटो भएर जाने कुरा त परै जाओस्, मन्दिरतर्फ हेरे पनि आँखा फुट्छन भन्ने अन्धविश्वास छ । किशोरीहरु त्यो बेला विद्यालय नै जाँदैनन् । महिनावारीमा प्याड प्रयोग गर्ने कुरा त धेरैलाई थाहा नै छैन । 

महिनावारी भएका बेला गोप्य अंगको सरसफाइ अझ धेरै गर्नुपर्छ भन्ने कुरा पनि थाहा छैन । पानी नै प्रयाप्त प्रयोग गर्न नपाउने गरी सामाजिक बन्देजहरु छन् । शरीरबाट रगत बगेर जाने भएकाले त्यस्तो बेला पोषिला खानेकुरा खानुपर्ने चेतना पनि त्यहाँका किशोरी तथा महिलाहरुमा छैन ।

महिनावारी विभेदबारे कानूनी व्यवस्था 

सुदूरपश्चिम र कर्णाली प्रदेशमा महिनावारी भएका महिला तथा किशोरीले ज्यान नै गुमाउन थालेपछि सरकारले पहिलो पटक सन् २००८ मा महिनावारी (छाउपडी) सम्बन्धी निर्देशिका नै बनायो । तर त्यो कागजमै सीमित भयो । त्यसपछि सन् २०१७ मा मुलुकी ऐनलाई विस्थापित गर्दै बनेका देवानी र अपराध संहिता ऐनले छाउपडीलाई पहिलो पटक दण्डनीय बनायो । 

मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३)ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउगोठमा राख्ने वा अन्य भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ । यस्तो कसूर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था गरेको छ । तर, अहिलेसम्म यो कानुन कार्यान्वयन हुन सकेको छैन । कर्णाली र सुदूरपश्चिमका गाउँदेखि बजारसम्म महिनावारीका पीडा अथाह छन् । तर न त कसैले आफ्ना समस्या र पीडाहरुबारे कानूनी उपचार माग्छन्, न त समाजले नै यसलाई अपराध ठान्दछ । 

महिनावरी विभेदको तथ्याङ्क 

महिनावारीलाई सुरक्षित र मर्यादित बनाउनका लागि धेरै संघसंस्थाहरुले काम गरिरहेका छन् । उनीहरुले विभिन्न अध्ययन अनुसन्धान गरी तथ्या‌ंकहरु पनि बाहिर ल्याउने गर्छन् र सरोकारवाला निकायको ध्यानाकर्षण गराउँछन् ।

यूनिसेफले २०१८ मा निकालेको एक तथ्यांकअनुसार नेपालमा झण्डै १३ देखि ४९ वर्षका १ करोड ४० लाख किशोरी तथा महिला महिनावारी हुन्छन् । त्यसमध्ये ५० प्रतिशत छात्रा महिनावारी भएको बेला विद्यालय जाँदैनन् । ६९ प्रतिशत छात्राहरुका लागि विद्यालयमा छुट्टै चर्पीको व्यवस्था छैन । स्वास्थ्य सेवा विभागको तथ्याङ्क अनुासर करिब २२ प्रतिशत किशोरीहरुलाई महिनावारी सम्बन्धी जानकारी नै छैन ।

नेपालको अन्य क्षेत्र भन्दा कर्णाली र सुदूरपश्चिम प्रदेशमा ७१ प्रतिशत महिलाले महिनावारी भएको बेला चर्को विभेद भोगिरहेका छन् । यो तथ्याँक हेर्दा झण्डै आधा भन्दा बढी महिलाहरुले अहिले पनि महिनावारी भएको बेला कुनै न कुनै रुपमा विभेद भोगिरहेका छन् । त्यस्तै मानवअधिकार आयोगले निकालेको तथ्याँकअनुसार २०६५ साल यता छाउगोठमा बस्दा १५ जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

महिनावारी हुँदा प्याडको प्रयोग र उत्पादन

महिनावारी हुनु कुनै अपराध नभई एक प्राकृतिक प्रकृया भए पनि यसलाई समाजमा गलत रुपमा लिईंदै आएको छ । महिनावारी भएका बेला अझै पनि गाउँघरमा महिला तथा किशोरीहरुले प्याडको प्रयोग गर्दैनन् । गरे पनि फोहर कपडाको प्रयोग गरेको पाईन्छ । जुन स्वास्थ्यका दृष्टीकोणले निकै खतरा मानिन्छ ।
नेपालमा अहिले ४ वटा उद्योगले महिनावारी भएको बेला लगाउने प्याड उत्पादन गरी बजारमा बिक्री वितरण गरिरहेका छन् ।

जस्मिन हाइजिङ प्रोडक्टले निकालेको तथ्याँकअनुसार नेपालमा १६ लाख महिलाले महिनावारीमा प्याड प्रयोग गर्छन् । यसमा १३ करोड महिलाले विदेशी प्याड प्रयोग गर्छन् । 

सबैभन्दा धेरै ९० प्रतिशत प्याड भारतबाट मात्रै आयात हुने गरेको जस्मिन हाइजिङ प्रोडक्टका प्रबन्ध निर्देशक पुनित सरदले बताउनुभयो । नेपालमा उत्पादिन प्याडलाई अनिवार्य गर्नुका साथै हरेक महिला र किशोरीलाई प्रयोग गर्नका लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न सकिएको छैन । 

महिला तथा किशोरीले छाउ गोठमा बस्दा यौन हिंसा र सर्पदंश अर्थात सर्पले टोक्ने समस्या भोगिरहेका बर्सेनि सार्वजनिक भैरहेन्छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउपडी प्रथाको प्रभाव अलि बढी देखिन्छ  । जति पनि महिलाहरु महिनावारीको बेला हिंसामा परेका छन्, ती घटनाहरु घरभन्दा टाढा बसेरै भएका छन् । युवाहरुले यो प्रथाको अन्त्यका लागि पहल गरिरहेको भए पनि उनीहरुलाई पुरानो पुस्ताले धर्मको डर देखाएर हत्त्तोसाहित गरिरहेका छन् ।

महिनावारीलाई मर्यादित र त्यसबारेको अन्धविश्वास हटाउन विभिन्न संघसंस्थाहरु लागि परेको भए पनि समस्या जिउँका तिउँ नै छ । महिनावारीका नाममा शहर बजार क्षेत्रमा दिवस मनाइँदैछ । तर देशको राजधानीको चक्रपथ वरपर नै महिनावारी भएका दिदीबहिनी, आमा, काकीहरुलाई घरभित्रै र छरछिमेकमा विभिन्न बन्देजहरु कायमै छन् ।

यस्ता गलत सामाजिक परम्परा र अन्धवश्वास समाज रहिरहेसम्म हामी सभ्य र शिक्षित भयौं भन्न मिल्दैन । कुनै पनि बहानामा यस्ता अमानवीय व्यवहार, संस्कार र चलन स्वीकार्य हुनु हुँदैन ।

महिनावारीलाई मर्यादित बनाउन युवा पुस्ता अघि बढ्नैपर्छ । अन्धविश्वासका पर्खाल ढाल्नैपर्छ । साथै छाउपडीबारे ऐन कानून बनाएर मात्रै सरकार पन्छिन मिल्दैन । छाउपडीमा बस्दा ज्यानै गएका समाचार अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा पनि आइसक्दा, के हामी अझै यसलाई धर्म र संस्कारको विषय भन्दै बिस्तारै हट्छ भनेर कानमा तेल हालेर बसिरहने त ??

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रमा खड्का

रमा खड्का उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया