राष्ट्रिय गौरवतर्फका सडक आयोजनामा थप प्रगतिको अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – धेरै पैसा कमाउने र ४/५ वर्षमै परिवारको आर्थिक अवस्था सुधार्ने सपना बोकेर धेरै नेपाली युवाहरु खाडी पस्छन् । तर सबैले आफ्ना सपना पूरा गर्न पाउँदैनन् । कारण विभिन्न हुन सक्छन् । तीमध्ये एक हो वैदेशिक रोजगारीमा हुने ठगी ।
नेपालीहरु वैदेशिक रोजगारीमा ठगिने क्रम बढ्दो छ । सामान्यतया सीप नसिकेरै जाँदा तथा आफू जाने देशको बारेमा न्यूनतम जानकारी पनि नहुँदा वैदेशिक रोजगारीमा जानेहरु ठगिने गरेका छन् ।
दलाल र म्यानपावरको झुटो आश्वासनमा परेर ठगिनेहरु पनि त्यति नै हुन्छन् । यसरी जानेहरु म्यानपावरसँग सम्झौता भए अनुसारको तलब नपाएर र भनेअनुसारको काम नपाएर ठगिन्छन् ।
यताबाट एउटा कम्पनीको लागि भनेर लिने र उता पुगेपछि अर्कै कम्पनीमा लगाइदिने, भनेको जति तलब नदिने, तोकेको भन्दा बढी समय काममा खटाउने जस्ता समस्या खाडी देशहरुमा नेपाली कामदारहरुले भोग्नुपरेको छ ।
कतिपय त दुई तीन महिनासम्म पनि काम गरेको तलब नपाउँदा आफ्नै खर्चबाट नेपाल फर्किनुपरेका दुखद घटनाहरु पनि छन् । यस्तै घटनाका साक्षी हुनुहुन्छ बिराटनगरका सन्ताेष गुरुङ । उहाँ पनि यूएईमा काम गर्दै हुनुहुन्थ्यो । तर रोजगारदाता कम्पनीले तीन महिनासम्म तलब नदिदा कम्पनी छाडेर रित्तो हात घर फर्किन बाध्य हुनुभयो । उहाँ कसरी यूएई जानुभयो र के कस्ता समस्या झेल्नुभयो, उहाँकै शब्दमा :
बिहे गरेपछि जिम्मेवारी बढ्दो रहेछ । झन छोरी पनि जन्मेपछि त उसको भविष्यको लागि पनि एकपटक राम्रै कमाउनुपर्छ भन्ने लाग्यो मनमा । उमेरले २२ वर्ष टेक्दै थियो । सन् २०१७ मा म यूएई गएँ । थर्मल ८ कम्पनीमा पेन्टरको रुपमा काम गर्ने भनेर गएको थिएँ ।
यूएई दिर्हाम १४ सय जति मासिक कमाइ हुन्थ्यो । काम राम्रै थियो । नेपालमा पनि पेन्टिङको काम गरिसकेको भएकाले मलाई काम गर्न सजिलो भयो । कुनै समस्या थिएन । तर बीचमा सँगै काम गर्ने कम्पनीका साथीहरुसँग झगडा भयो । मलाई त्यहाँ बस्न मन लागेन । कम्पनीलाई म घर जान्छु भनेर छुट्टी मागे । कम्पनीले मेरो सबै तलब चुक्ता गरेर मलाई भिसा लगाइदियो ।
६ महिना यूएई बसेर म नेपाल फर्केँ । जेहोस ६ महिना मात्र काम गरेर पनि त्यतिबेला मैले दुई लाख जति कमाएको थिएँ । जानेबेला ९५ हजार लागेको थियो । घरको लागि केही सामानहरु ल्याउन र जाँदाको ऋण तिर्नमै ठिक्क भयो त्यो कमाइ ।
नेपाल आएर म फेरि पुरानै काम गर्न थालेँ । म काठमाण्डौमै बसेर घरमा पेन्टिङ गर्ने, घर निर्माण सम्बन्धी अन्य कामहरु पनि गरिरहेको थिएँ । यतिकैमा पहिले मलाई यूएई पठाएको नेगी म्यानपावरले फेरि जाने भए राम्रो काम छ भन्यो । काठमाण्डौमा पनि सधैँ काम नहुने । कहिल्यै काम नभएर घरमै बस्नुपर्ने हुन्थ्यो । त्यस्तोमा घरपरिवार पाल्न गाह्रो हुने भएकाले मलाई फेरि एकपटक विदेश पुग्नुपर्याे भन्ने लाग्यो ।
नेपाल फर्केको १५ महिनापछि फेरि पुरानै म्यानपावर कम्पनीलाई ७५ हजार रुपैयाँ दिएर म यूएईको लागि उडेँ । यो पटक भने एटोन ग्लोबल क्याट्रिङ मेन्टेनेन्स कम्पनीको लागि प्लम्बरको काम थियो । प्लम्बरिङ पनि मैले गरिराखेको काम थियो ।
म्यानपावरले नेपालबाट पठाउँदा कम्पनीले एक हजार दिर्हाम न्युनतम तलब र खाना बापत २ सय दिर्हाम दिने भनेको थियो । तर त्यहाँ पुगेपछि भने कम्पनीले हामीसँग ८ सय तलब र २ सय खाना बापतको सम्झौता गरायो । सम्झौताअनुसारको तलब नै नपाएपछि सुरुमै हामीहरु ठगियौँ । मसँगै अरु साथीहरु पनि थिए । सबैले सम्झौता अुनसारको तलब नपाउने भयौँ ।
हामीले म्यानपावर कम्पनीलाई फोन गरेर भन्यौँ । तर उसले केही महिनापछि बढाउँछ, अहिले त्यतिमै गर्नुस भन्यो । बढाउछ होला नि भन्ने अलिकति आश गरेर हामी काम गरिरहेका थियौँ । तर के को बढाउनु । झन् काम गरेको तलब पनि आएन । दुई महिना बितिसक्दा पनि तलब नआएपछि हामीहरुलाई समस्या पर्न थाल्यो ।
कम्पनीले तलब त दिएन दिएन, हामीलाई बस्न राखेको क्याम्पको भाडा पनि नतिरिदिदा घरबेटीले हामीलाई दु:ख दिन थाले । कहिले पानी नदिने, कहिले बत्ति बन्द गरिदिने गर्न थाल्यो । हामीहरु मानसिक रुपमा पनि दबाब आउन थाल्यो ।
जुन कम्पनीले हामीलाई काममा लगाएको थियो त्यसले हामीले काम गरेको ठाउँबाट आफूले पैसा नपाएकोले हामीलाई तलब दिन नसकेको बतायो । तीन महिना बितिसक्दासम्म पनि तलब नआएपछि हामीले मे १४ तारिखका दिन दूतावास पुगेर आफूहरु समस्यामा परेको र सहयोग गरिदिन माग राख्यौँ ।
कम्पनीले हामीलाई दिनुपर्ने रकम दिलाइदिएर घर पठाउनको लागि हामीले दूतावासमा निवदेन दिएका थियौँ । तर दूतावासबाट केही पनि राहत मिलेन ।
हामीहरु भोकभोकै थियौँ । त्यहाँ हुनुभएका नेपाली साथहीहरुले खानेकुरा दिनुभयो । कोही आफ्नै पैसामा आउनुभयो, कसैले साथीहरुसँग ऋण मागेर नेपाल फर्किनुभयो । मलाई मेरो जेठानले थाइलेण्डबाट टिकट काटिदिनुभयो र म आएँ ।
नेपाल आएको १ महिना भयो । अहिले म काठमाण्डौमै त्यत्तिकै बसेको छुँ । काठमाण्डौमा फ्ल्याट भाडामा लिएर बसिरहेका छौँ । बुवाआमा, श्रीमती र छोरी हुनुहुन्छ ।
म्यानपावरलाई पठाएको पैसा फिर्ता मागेको तर त्यसले दिदैन । विभागमा गएर उजुरी गर्छुँ भन्दा विदेश पठाउँदा दिएको पैसाको प्रमाण माग्छ । मसँग केही पनि प्रमाण छैन । ७५ हजार मागेर दश हजार दिएको भन्ने हस्ताक्षर गराएको थियो । सबैसँग यस्तै गर्ने रहेछन्, त्यतिबेला म एक्लैले बोलेर पनि केही नुहुने ।
७५ हजार रुपैयाँ तिरेर पनि उताबाट ठगिएर आउनुपर्यो । म्यानपावर जिम्मेवार हुनुपर्ने हो तर उसले हामीहरुको समस्या सुन्दैन । उल्टै त्यही पैसामा अर्को देश पठाइदिन्छु भन्छ । अरु साथीहरु त जाने तयारीमा हुनुहुन्छ तर मलाई अब फेरि खाडी जानुछैन ।
म जाँदैन मेरो पैसा फिर्ता गर भन्दा सबै त फिर्ता हुँदैन २५ हजार जति फिर्ता गर्छु भनेको छ तर त्यो पनि फिर्ता गरेको छैन । कहिले कतै व्यस्त कहिले कतै व्यस्त भन्छ । म्यानपावर धाउँदा धाउँदा पनि भएको पैसा सकिसक्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।